Monday, February 26, 2018

घरेलु हिंसाले बनायो रुबी खान

रुपनी जि.एम
बाँके १० कार्तिक । 
“म सानै छंदा बुवाले आमालाई तलाख (डिर्भोस) दिई सक्नु भएको थियो । तैपनि बुवाले सुर्खेतबाट आएर आमालाई पिट्न र गाली गर्न कहिल्यै छाड्नु भएन । जब कि मेरो बुवाले सुर्खेतमा अर्की आमा बिहे गरेर बसि सक्नु भएको थियो । आमाले बुवाबाट सहनु परेको त्यो हिंसाले नै मलाई यस क्षेत्रमा काम गर्न प्रेरित ग¥यो ।” नेपाल मुस्लिम समाज नेपालगञ्जका निर्देशक रुबी खान ।

रुबी कक्षा ८ मा पढ्दा पढ्दै नेपाल मुस्लिम समाजमा भोलेन्टिएरको रुपमा आबद्ध भईन् । त्यति सानै उमेरमा उनलाई कुनै रहर थिएर त्यसरी काम गर्न । तर बाध्यता बनिदियो । आमाले बुवाबाट सहनु परेको असह्ैय हिंसा नै उनको बाल मनस्थितिमा डर लाग्दो छाप बन्यो ।

१२÷१३ वर्षकोे हुँदादेखि नै घरमा भएको अशान्त वातावरणबाट उनी मुक्त हुन चाहान्थिन् । तर सक्दिनथिन् । किनकी उनी निकै नै सानी थिईन् । न उनले बुवाले आमालाई मरनासन्न हुनेगरि कुटिरहंदा छुट्टयाउन सक्थिन् नत डाको छोडेर रुन नै । सक्थिन् त केवल बुवाको आक्रामक व्यवहारबाट हुने डरबाट मुक्त हुन ।
 
उनको त्यो डरलाई छिमेकी अन्टि जैतुन हल्वाईले महसुस गर्दै उनै जैतुनले नै रुबीलाई भोलेन्टिएरली हाल कार्यरत संस्थामा आवद्ध गराईन् । वि.सं. २०६३ सालमा संस्थामा आवद्ध भएकी रुबीको जीवन संर्घष त्यसैदिनदेखि नै शुरु भयो ।  
आज भन्दा १० वर्ष पहिले रुबी घरेलु हिंसा विरुद्धको अभियानमा सक्रिता देखाउँदै नेपाल मुस्लिम संस्थामा आवद्ध भएपछि शुरुमा त उनलाई उनकै बुवाबाट तिरस्कृत हुनु प¥यो । त्यसपछि समाज त छंदै थियो । छोरीलाई घरबाट बाहीर काम गर्न दिएको भन्दै आमालाई डिर्भोस दिईसकेको उनका बाबु रमजान पठानले उनकी आमा रुकैया खातुनलाई सुर्खेतबाट आएर पिट्दथे रे ।

बुवाले त्यसरी पिटिरहंदापनि आमाले कहिल्यै मलाई त्यो पिटाईको बारेमा नभनेको र उल्टै अभिस जान ढिला हुँदा मलाई समयको ख्याल गराएको रुबीले आखाँभरि आँशु लिंदै सुनाईन् । “यदि मलाई कसैले बुझ्यो त त्यो व्यक्ति मेरी आमा हुन् । सायद म मेरी आमा जस्तो समझदार आमा बन्न नसकुँला तर मेरी आमा अनपढ भएर पनि संसारकै शिक्षित आमा हुन् ।” उनी भावुक भईन् ।

आमा रुकैयालाई थाहा थियो कि यदि उनले छोरीलाई घरबाट बाहिर निस्किएर काम गर्न दिईनन् भने छोरीले पनि जीवनभरि नै आफुले जस्तै हिंसा सहनु पर्नेछ भन्ने । त्यसैले रुबीकी आमाले रुबीलाई कहिल्यै काममा अरुको कुरा सुनेर नजान भनिन् रे, रुबी भन्छिन् “मलाई थाहा हुन्थ्यो मैले घरबाट बाहीर निस्किएर काम गर्न शुरु गरेपछि बुवाले आमालाई पहिलाको तुलनामा मेरै कारण बेसी टर्चर गर्नु हुन्थ्यो । तर आमाले कहिल्यै पनि मलाई त्यो कुरा थाहा हुन दिनु भएन ।” 

नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ७ की रुबीको कामप्रतिको लगनशिलता र मेहेनतले संस्थाको महाधिवेशनमा उनी एकैचोटी महासचिव भईन् । सानो सानो कुराहरुको अनुभवबाट जीवनलाई माझ्दै अघि बढेकी रुबीले बाँकेका विभिन्न खालका हिंसा पिडित महिलाहरुकालागि खुलेरै आवाज उठाउँदै काम गरिरहेकी छन् ।

शुरु शुरुमा रुबीको, घरबाट बाहिर निस्किएर काम गर्नुलाई, उनले लगाउने लुगालाई, कार्यक्रमको शिलशिलामा उनको होटलमा जानु पर्ने कुरालाई, कामको शिलशिलामा घर ढिला जाने कुरालाई, उनी अन्य सहकर्मी र समकक्षि पुरुषहरुसंग बोल्ने कुरा आदि ईत्यादिलाई रुबीको समाजले यति हदसम्म यातनाको विषय बनायो कि आत्माविश्वास बलियो हुँदा हुँदै पनि कैयौं पटक टुट्न पुगिन् उनी ।

समाजको नियम र मानिसहरुको अनावश्यकको कुरा काटाईले रुबीलाई धेरै पटक निराशा बनाएपनि उनले आफुभित्रको आशालाई कहिल्यै मर्न दिईनन् । उनले त्यही समाजको नियमलाई परिवर्तन गर्दै अघि बढिरहीन् । त्यसैको प्रतिफल हो हिजो आज उनी उनको समाज मात्र हैन पुरै बाँके जिल्लाको एउटा मुस्लिम समुदायको मिसाल बन्न सफल भएकी छन् ।

शुरु शुरुमा उनलाई नराम्रो भन्नेहरु नै हिजो आज उनलाई उदाहरण बनाउँदै आफ्ना घरका नानीहरुलाई स्वतन्त्र भएर काम गर्नकोलागि सघाईरहेका हुन्छन् रे । आफुलाई उदाहरण मानेर सबैले हिजो आज आफ्ना घरका छोरी बहीनीलाई घरबाट बाहीर निस्किएर काम गर्न दिएको कुरालाई रुबी यसरी सुनाउँछिन् । “बाहीर गएर काम गर्न तिमीलाई हामीले रोक्ने छैनौं तर रुबी जस्तो बनेर काम गर । ”

एउटै संस्थामा आवद्ध भएर काम गरेको झण्डै १ दशकको यात्रा रुबीले पार गरिसिकन् ।   निकै लामो र संर्घषशिल समय पार गरेपछि रुबी अहिले संस्थाको निर्देशक भएकी छन् । रुबी भन्छिन्,“यदि मम्मिले बुवाको पिटाई र धम्किबाट अनि समाजका कुराहरुबाट डराएर मलाई काम गर्न रोकेको भए मेरो पाईला ती दिनहरुमै रोकिने थिए । उहाँ मेरो आमा मात्रै हैन मेरो साथी पनि हो । आज म जे छुु पहिलो कुरा त म मेरो मम्मिको योगदानले छु । उहाँकै कारण म यो ठाउँसम्म आईपुगेकि छु ।” 

रुबी घरकी माईली छोरी हुन् । र उनी यस्ति छोरी हुन् जस्ले बुवापछिको सबै जिम्मेवारी निभाउनमा दाजु र भाईहरुको भन्दा कुनै कुरामा आफुलाई कम राखेकि छैनन् । बुवाको मृत्युपछि रुबीले सौतेनी आमा र उनी पट्टीका दुईभाईहरुसंग यस्तो सम्बन्ध कायम गरेकी छन् कि देख्नेहरु कसैले पनि यो दुई परिवार हो भन्दैन रे रुबी भन्छिन् ।

प्राय व्यक्तिहरु बाहीरको कामलाई जति मिलाउन सक्छन् त्यति उनीहरु आफ्नो घर भित्रकै समस्यालाई सुल्झ्याउन सकिरहेका हुँदैनन् । तर रुबी ती सबै भन्दा अलग छिन् । किनकी उनले सानैदेखि जानेकि छन् कि परिवारमा कलह हुँदा पुरै जिनदगीलाई नै कस्तो असर पर्छ भन्ने कुरा । त्यसैले उनको परिवार अन्य मुस्लिम समुदायको भन्दा धेरै फरक छ ।

उनले संघर्ष शुरु गरेको दिनको तुलनामा अहिलेको मुस्लिम समुदायको अवस्थाका विषयमा रुबी भन्छिन्,“धेरै त अझैंपनि होईन तर अहिलेको समाजलाई केही परिवर्तन भएको मान्नै पर्छ । नेपालमा विशेषगरि मुस्लिम छोरीहरुलाई खुला शिक्षाकोेलागि नेपाल सरकारले मुस्लिम बाहुल्य भएको ठाउँहरुमा सरकारी मदरसाको व्यावस्था गर्नु पर्ने अवस्था छ । र त्यो गरिनु पर्छ । तब मात्र चेतनाको स्तरमा मुस्लिम समुदायको विकास हुन सक्छ । जुन अझैं हुन सकिरहेको छैन ।”

आफ्नो पहिचानकोलागि र स्वाभिमानकोलागि संघर्षको लडाई अझैंपनि जारि नै छ भन्न रुचाउने रुबी खानले ५ वर्षसम्म राष्ट्रिय महिला अधिकार मञ्चको महासचिवको जिम्मेवरी सम्हालि सकेकी छन् । राष्ट्रिय महिला मानव अधिकार रक्षक सञ्जालको सदस्य भएर उनले ३ वर्षसम्म काम गरिसकेकी छन् ।

सानै उमेरदेखि थुप्रै अनुभवहरु बटुल्दै र संघर्षको यात्रा एक्लै तय गर्दै याहाँसम्म आईपुगेकी रुबी मुस्लिम समूदायबाट प्रतिनिधीत्व गर्ने एउटा असल र उदाहरणीय युवा महिलाको नामले चिनिन्छिन् ।


No comments:

Post a Comment