Thursday, November 19, 2015

तिम्रो लोग्ने मेरो जीवन साथी


                                                          


रुपनी जि.एम
२०७२÷०६÷१७
नेपालगञ्ज बाँके
  
साल २०६८, महिना बैशाषको थियो । बिहानको यस्तै ७ सवा ७ बजेको हुँदो हो । छोरा छोरी सुत्दै थिए । म भने उठेर घरको पिंढीमा टोलाई रहेकी थिएँ । एक्कासी नचिनेको नम्बरबाट फोन आयो र मलाई सोधियो–“बेबी हिजो किन फोन नगरेकी ? मैले गर्दा नी उठाईनौं त, ज्यानलाई सञ्चै त छ ?” एकछिन त म अक्कन बक्क परें । उस्को प्रश्नमा म मौन रहंदा सानु भन्दै मेरो मौनतालाई फेरी चि¥यो उस्ले । म झस्किएँ र भने सायद तपाइँले खोजेको मान्छे हैन म । यो रङ नम्बर हो । यति भने पछि उस्ले पनि माफी माग्यो र फोन काटि दियो ।

म आफ्नै जागिरे जीवनसंगै छोराछोरी अनि घरको काममा व्यस्त थिएँ भने श्रीमान पनि नेपाली सेनाको जागिरमा व्यस्त । सबै आ–आफ्नै सुरमा बाँची रहेका थियौं । समयसंगै दिन आफ्नै गतिले अघि बढ्दै थियो । अचानक फेरी उस्तै शैलीमा र प्रयोग गरिने भाषामा त्यही फोन ठ्याक्कै २ दिन पछि दोहोरीयो । यस पटक भने कुरा अघिल्लो पटकको जस्तो भएन । लामो भयो तर रमाईलो पारामा भयो । किन भने उसंग कुरा गर्ने शैली मिठो रहेछ । यस पटक रङ नम्बर भएपनि परिचय गरेर केही उस्का कुरा सुनियो  र केही आफ्ना कुरा सुनाईयो । जीवनलाई भोगिने तरिका निकै नै आश्चर्यको हुँदो रहेछ । न बुझ्न सकिने नत कसैलाई बुझाउन नै सकिने । जुन कुराको सोचाई गर्नु त निकै परको कुरा कल्पनासम्म गर्न सकिएको हुदैन । त्यही कुरा जीवनको अति नै महत्वपुर्ण बनेर घट्दो रहेछ मान्छेको जीवनमा ।

मेरो जीन्दगीमा पनि यस्तै केही भयो उसंगको सम्बन्ध । जस्को अहिले सम्म मेरो जीवनमा महत्व रही रहेको छ । सोंच्दै नसोंचेका घटनाहरुलाई जीवनको पानामा यसरी कोरिरहंदा अचम्मको त लागेको छ नै साथ साथै भय पनि उत्तिकै लाग्दो रहेछ । ऊ सामान्य मान्छे हैन नत कम विबेक भएको मान्छे नै हो । जब ऊसंग परिचय भयो र कुराहरु बिस्तारै बिस्तारै बढ्दै जान थाले त्यसपछि थाहा भयो मलाई उस्को बारेमा । पेशाले कुनै आईएनजीओको जिल्ला को–अर्डिनेटर । घर पाल्पाको तान्सेन बजार । श्रीमती नेपाल प्रहरीमा ईन्सपेक्टरमा जागिरे । परिवारको अन्य सदस्यसंगै पुरै खानदान नै उत्तिकै सम्पन्नशाली । पछि पछिका कुराकानीमा यी यस्तै धेरै कुराहरु साँटा साँट हुँदै गए । प्रतिदिनको फोनसंगै कुराहरु पनि उत्तिकै मात्रामा बढ्दै गईरहे । दुरीको हिसाबले हाम्रो बसाई टाढा थियो तर कुराकानी बढ्दै जाँदा मनको दुरी भने नजिकिंदै गयो ।

  भनिन्छ नी, जाहाँ केही कुरा अधुरो हुन्छ त्यहींनीर अर्काे रुपमा त्यस्को परिपुर्तिका लागि केही कुरा पुर्ण भई बसिरहेको हुन्छ । बस् फरक यत्ति हो कि त्यो कुरालाई चिन्न सक्नु पर्छ । यस्तै भयो मेरो आवश्यकतामा उनको आगमन पनि । बिवाह गरेदेखि वर्षमा एकपटक बढीमा दुई पटक मोहीत (श्रीमान) संग भेट हुने । बाँकी अरु फोनमै गर्नु पर्ने । घरयासी कुराहरु त छदै थिए मनको चाहाना पनि फोनमै गरेर चित्त बुझाउनु शिवाय अरु उपाय केही हुन्थेन । हामी श्रीमान श्रीमती त भयौं तर केवल अरुका लागि मात्र । श्रीमानसंग संगै बस्न पाउनु, घुम्नु, मनका कुरा साँटा साँट गर्नु यी त मेरा लागि केवल रहर मात्रै भईरहे । यी यास्ता कुराहरुको चाहाना मन भित्रै कति जन्मिए र मन भित्रै कति मरे मरे । कुनै गरणा छैन, नत मोल नै ।

बाहीरी रुपबाट देख्नेहरुका लागि सुबास्ना (म) निकै सुु सम्पन्न छे, आफ्नो खुट्टामा उभिएकी छे, भने जस्तो घर परिवार छ, लोग्ने साथमा छ । यस्तै केही हुदो हो । तर खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भने झैं मेरो एक्लो पनले दिएको चोट केवल मलाई मात्र थाहा थियो । चाडपर्व देखि अन्य सामान्य दिनहरुमा साथी संगीहरुलाई श्रीमानसंगै हातमा हात मिलाएर हिंडेको देख्दा कस्तो हुन्थ्यो होला ? एक चोटी कसैले सोधी हेरोस मलाई । वर्ष दिनमा एक चोटी मात्र घरमा आउने लोग्ने जब परिवारसंग मात्रै रमाउन चाहान्थ्यो र मैले कतै घुम्न जाउन भन्दा मेरो प्रस्ताव सिधै अस्विकार्य हुन्थ्यो त्यस्तो अवस्थामा मेरो भावनामा कति ठेस लाग्थ्यो होला कसैले सोधि हेरोस् मलाई । तीज त छदै छ दशैंमा पनि बिहे गरेको साल बाहेक माईत संगै गएको कुनै रेकर्ड भएन । फोन गर्दा शुभकामनासंगै आउन नपाएकोमा दुखी भएको खबर बाहेक अरु केही सुन्न पाउथीन मैले । यी यस्ता थुप्रै कुराहरु छन् जस्लाई मनमा दबाएरै राख्नु पर्ने मेरो बाध्यता बनेको थियो । कतिपय यस्ता कुराहरु छन् जस्ले मेरा ईच्छा शक्तिलाई सधैं मृत बनाई रहे । जुन शब्दमा बयान गर्न नमिल्ने................. ।

  लागेको थिएन कि, सुबास्नामा फेरी त्यही बास्ना मुर्छिनेछ । जीउँदो भएर पनि मरे सरह भएकी सुबास्ना फेरी बाँच्नेछे । मुस्कुराउनै बिर्सिसकेकी सुबास्नाले फेरी खुलेर हाँस्नेछे । यी सबै गुमेका कुराहरु मैले तब पाएँ जब सागर मेरो जीवनमा नचिनेको नम्बरको माध्यमबाट आयो । उसबाट मैले ती सबै कुरा पाएँ जस्को चाहाना ममा वर्षाै देखि थियो । रित्तिए जस्तो भई बसेकी म भरिपुर्ण तब हुन थाले जब सागरसंग मेरो सम्बन्ध नजिकींदै गयो । मैले ती सबै कुरा पाएँ जुन वर्षाै देखि मैले गुमाई रहेकी थिएँ । अझ भनु जुन मेरो चाहा थियो । फरक यति मात्र हो कि, जुन कुरा आफ्नो श्रीमानबाट पाउनु पथ्र्यो त्यो एउटा राम्रो जीवन साथीबाट पाई रहें । र आजसम्म पनि पाई रहेकी छु । कुनै दुःख छैन मलाई “म पति व्रता पत्नि” भईन भन्नेमा नत कुनै गुनासो नै छ पाँच वर्षदेखि चल्दै आएको यो जीवन शैलीमा । बरु खुशी छु म कि जीवन साथीबाटै सही म एउटा पुर्ण महिला बनि रहेकी छु ।
मैले सागरलाई जीवन साथी यस अर्थमा भनेकी हुँ कि, उस्ले मलाई, मेरा ईच्छाहरुलाई, मेरा आवश्यकताहरुलाई र पुर्ण रुपले मेरो जीवनलाई निकै नै राम्रोसंग बुझेको छ । आजसम्म उस्को व्यबहारले म प्रयोग भई रहेकी छु भन्ने आभाष भएको छैन मलाई । मैले चाहेको हरेक पलमा साथ दिन भ्याएको छ उस्ले । मलाई सधैं खुशी भएको हेर्न चाहान्छ ऊ । यस्मा कुनै बनावटी कुरै छैन ।  किनकी मेरो मनले भन्छ उस्ले झुठो बोलेको छैन । र मनले कसैलाई पनि धोका दिंदैन । त्यसैले त ऊ सधंै मलाई खुशी बनाउने प्रयासमा लागि रहन्छ । जीवन साथी त्यसलाई भनिन्छ जस्ले जीवनमा यसरी नै साथ दिई रहोस् नकी सिंदुर र पोतेको बन्धनमा बाँधेर केवल एउटा नाममा मात्र सिमित रहन बाध्य बनाई रहोस् ।

 सागर र मेरो सम्बन्ध साँच्चै सागर जस्तै छ । न कुनै स्वार्थ नत फरेब नै । दुवैको घर संसार अलग अलग छ । र पनि हामी एक छौं । कति शक्ति हुँदो रहेछ मायामा कि भविषयमा आई पर्ने कुनै पनि कुराको सामना गर्न हामी तयार छौं । यसको अर्थ यो होईन कि हामि हाम्रा पुराना बन्धनहरुलाई ताडेर नयाँ सम्बन्ध श्रृजना गरौं । जुन कुरा कसैलाई असर नै नपर्ने गरि हामिले पाई रहेका छौं भने त्यो कदम हामी किन पो चाल्छौं र जस्ले सबैलाई असर पारोस् । सागरसंगको सम्बन्धले नै मलाई यही सिकायो कि यो संसारमा जति नै धनाढ्य मानिस किन नहोस्, जति नै सु–सम्पन्न देखिने मानिस् किन नहोस् र जति नै चर्चामा आएको मानिस किन नहोस् यदि उस्ले माया पाएको छैन भने उस्ले जुन देशमा माया पाईन्छ त्यही देशमा आफ्नो डेरा सार्न रुचाउँदो रहेछ । मैले जस्तै ।

  मेरो अनुभवमा, माया पाउनु अधिकार हो भने माया दिनु एउटा अर्काे अधिकार हो । चाहे त्यो आफ्नो मान्छेबाट होस् यात...................। ध्यान दिनु पर्ने एउटै कुरा त्यो मायाले कसैलाई असर नपारोस् । सायद संसारमा एउटै मात्र त्यस्तो कुरा छ जो हो “माया” । जस्ले माया दिएर माया पाउँछ त्यो संसारकै भाग्यमानी मान्छे हुन्छ । र त्यो भाग्यमानी हामीले एक अर्कालाई मानेका छौं । मलाई थाहा छ ऊ कसैको लोग्ने हो, केवल समाजका लागि, देख्नेहरुका लागि । तर उस्ले मलाई मेरा हरेक दुःख सुखमा साथ दिएको छ । भौतिक रुपमा टाढा छ र पनि ऊ मेरो नजिक छ त्यसैले ऊ “मेरो असल जीवन साथी हो ।” जस्को मैले यसै गरि साथ पाईरहने छु र उस्ले पनि मेरो............।