Monday, February 26, 2018

त्यो रात र मेरो निदरी

रुपनी जि.एम
काठमाण्डौ १४ फाल्गुन ।
एक दिन म असनको बाटो हिंडदै थिएँ, मेरो साथी रामेश्वर बाटैमा भेटियो । भेट हुन नपाउँदै उस्ले मलाई हप्काएरै भन्यो–“तँलाई अलिकति पनि लाज छैन है ? अरु केही काम पाईनस् तैंले ? आफ्नो बारेमा नभएनी कमसेकम अरुको बारेमा त सोंच, जोसंग तेरो ईज्जत गाँसिएको छ । तँ जस्तो मान्छे यसरी बिग्रीएलास भन्ने लागेको थिएन मलाई बुझिस् ? लाज लाग्न थालेको छ तँलाई साथी भन्न पनि ।”

म छक्क परें । मैले उस्लाई केही सोध्न नपाउँदै मलाई धकेल्दै ऊ आफ्नो बाटो लाग्यो । उस्को भनाईको तात्पर्यलाई मैले बुझि सकेको थिएँ । तर जवाफ फर्काउन उचित देखिन र आफ्नै बाटो लागें । लाजिम्पाटमा मेरो त हैन मेरो बुवाले बनाउनु भएको घर छ ।

त्यो घर नजिकै पुग्दै थिएँ फेरी त्याँ नि त्यो रामेश्वरले झंै गरि एकजना छिमेकी अन्टिले पनि गालि गरि हालिन् । मन मनैै आज मैले गालि खाने दिन रहेछ कि क्या हो भन्ने लाग्यो त्यो भन्दा बढि केही पनि सोचिन र त्यो आन्टिसंग केही प्रतिबाद नगरिकनै घर भित्र पसें । बाहीरी वातावरण भन्दा घर भित्रको वातावरण शान्त थियो ।

भोलि पल्टको बिहान सधैं झैं म ठाँटिएर निस्कनै लाग्दा पल्लो कोठाबाट बुवाको चर्काे आवाज सुनियो–“सुभद्रा, घरको भुस्याहा कुकुर गल्लिको गन्धकि सुंग्घनलाई निस्कन लागेको छ सोध भरे कतिखेर घर आईपुग्छस् भनेर । पक्वान त चाहिएला नि कुकुरलाई ?” बुवाले त्यसो भनि रहँदा भान्सामा उभि रहेकी आमालाई पुलुक्क हेरें । उहाँ एक शब्द नबोलि म तिर हेर्दै आखाँबाट आँशु झार्दै हुनु हुन्थ्यो । म भने उहाँहरुलाई केही नभनि आफ्नो दैनिकी काम तिर लागे ।

त्यति बिहानै मेरो काम न कुनै अफिसको हुन्थ्यो नत आफ्नै केही बिज्नेसको नै । हुन्थ्यो त केवल उनको मनलाई बुझ्ने । हुन्थ्यो त केवल उनीसंगै घण्टौं समय बिताउने । अनि हुन्थ्यो त केवल उनको निस्छल र निस्कलङ्क विचारहरु सुन्ने । उनी साधारण तर निकै नै विशिष्ट विचारधाराकी थिईन् । उनलाई सबैले हिलो भन्दथे तर उनी हिलो हैन हिलो बीचमा फुल्ने कमल थिईन् । उनलाई नबुझ्नु यो समाजको दोष हो भन्छु म ।

हुन त यो व्यस्तताको समयमा कसैलाई बुझि हिंड्नै पर्छ भन्ने के नै छ र ? सायद कारण त्यो पनि हुन सक्छ । बुझ्ने चटारो भन्दा नबुझेरै प्वाक्क बोलिदिन सजिलो हुने मान्छेलाई । उनलाई पनि तिनै बोलिका झटाराहरु धेरै लागे । र पनि उनी मुस्कुराउन कहिल्यै छाडिनन् ।  

अनेकौं पिडा र बेदनाले भित्रैबाट जेलिएर पनि उनको मन्द मुस्कानसंगै फक्रिने हाँसो देख्दा लाग्दथ्यो उनी निकै नै स्वतन्त्र हुनु पर्छ । सुन्दरताको बयान गर्दा शब्दहरुको नै कमि हुने उनको रुप, माधुर्यताको लहरले भिजेको उनको स्वर मानौं कि कुनै बिरामीसंग बोलिन भने ऊ नीको हुनेछ ।

हिंडदै गर्दा बाटोमा भेटिने हरेक दुखीहरुलाई देखेर प्रार्थना गर्ने उनको हृदय जो स्वयम एउटा दुखि रहेको छ । जस्लाई आफ्नो भन्दा अरुको नै चिन्ताले रोगी बनाई रहेको छ । उनी हुन सामरागी राज्यलक्ष्मि शाहा । जस्लाई म स्मारीका भन्न रुचाउँछु ।

कालिकोटकी स्मारीकाले सोही ठाउँकै दिपेन्द्र बसेल संग वि.सं. २०६८ सालमा भागि विबाह गरिन् । दलितसंग आफु खुशी विबाह गरेको भन्दै उनीसंग परिवारले सबै सम्बन्ध तोडे दिए । परिवार मात्र हैन पुरै गाउँले नै उनीहरुलाई बस्ने वातावारण असहज बनाएपछि उनी श्रीमान दिपेन्द्रसंग जीवनको नयाँ शुरुवात गर्नको लागी काठमाण्डौ आएकी रहीछन् ।

कस्लाई थाहा नहोला र याहाँको जीवनशैली कति सहज र कति असहज भन्ने कुरा ? उनीहरुलाई पनि थाहा हुँदै गयो । अभावै अभावको जीवनमा छोराको आगमनले खुशीयाली भरिए झैं भयो । तर दुई मुख तीन बनेपछि यो शहरमा बाँच्नलाई उनीहरुलाई हम्य नै हुन थाल्यो । जे आईपरेता केही खाएर बाँच्न त परि नै हाल्छ । त्यही खाने कुराको जोहो गर्न भनि दिपेन्द्र कुनै एजेन्टको माध्यमबाट साउदी पुगे ।

दुर्भाग्य स्मारीकाको श्रीमान साउदी गएको ४ महिना नपुग्दै खबर आयो एक्सिडेन्टमा परि दिपेन्द्रको ज्यान गयो रे । काखमा दुधे बालक, श्रीमानको लास  बाकसमा आउने तयारी परिवारको अत्तोपत्तो छैन । कठै त्यो दिन सुन्दा त मलाई सही नसक्नु भयो भने स्मारीकालाई कस्तो भएको हुँदो हो ? मान्छे राम्रो भाग्य नराम्रो भनेको सायद यही होला !

आज उनको बेदनाले भरिएको यो कथा सुन्नका लागी भेटिने म त्यो समयमा मैले किन उनलाई भेटिन होला ? धिक्कार छ यो समयलाई । जतिबेला जस्लाई जे खाँचो परेको हुन्छ त्यतिबेला कतै हराएको हुन्छ यो । आखिर जे भए नी चोट दिने यो समयले मलहम पनि लगाई रहेको हुन्छ । समय बित्दै जाँदा स्मारिकाको मनमा र जीवनमा लागेको चोटमा समयले नै मलहम लगाउँदै गयो ।

एस.एल.सी दिएर विबाह गरेकी स्मारिकाको पढाई पनि त्यति बेला देखि नै रोकियो । यो शहरमा जागिर खाएर आमा छोराको पेट पाल्न उनलाई न क्षमताले साथ दियो नत दक्षताले नै । २÷४ महिना निकै नै साह्रो प¥यो रे उनले सुनाईन् । पछि भने घर घरमा लुगा धुने र भाँडा माझ्ने काम पाईछन् । त्यही कामबाट भएनी जेनतेन आमा छोराको दैनीकी चलिरहेको थियो रे ।

त्यसैमा पनि उनलाई गरि खान दिईएनछ । उनले सुनाईन–“जुन घरमा म लुगा धुन जान्थें त्यो घरको केही पुरुषहरुले मलाई दुव्र्यवहार गर्न थाले । उनीहरुले जे गरे नी मैले छोराको लागि सही बसें तर त्यो कुरा उनीहरुको श्रीमतिलाई थाहा भएपछि मलाई तिमी अब देखि आउनु पर्दैन भन्दै काम दिन छाडे ।” उनको यो कुरा सुनेपछि ठुला महल र चिल्ला गाडीमा हिंड्नेहरुलाई घृणा गर्न थालें । मैले त्यसो गर्दा हुने नै के थियो र त्यैपनि मैले गरें ।

सधैं झैं उनको कथा सुन्न म उनी बसेको ठाँउमा जान्थें । र उनले पनि सधंै झैं आफ्नो कथा सुनाउने क्रममा त्यो दिन पनि मलाई सुनाई नै रहीन् । उनलाई भेटे पछि थाहा भयो मलाई असल मन हुनेहरुको बाध्यता र विवस्ता कस्तो हुँदो रहेछ भन्ने ? अनि त्यस्तो अवस्थाको फाईदा विवेक र दया नभएकाहरुले कसरी लिन खोज्दा रहेछन् भन्ने ।

पहिला म यस्तो थिएन । म मान्छे त थिएँ । तर म भित्र एउटा डरलाग्दो राक्षसी रुप थियो । त्यतिबेला मेरो मानसिकतामा स्वास्नी मानीसहरु केवल पुरुषको यौन ईच्छा पुरा गर्ने माध्यम् हुन् भन्ने सोचाई थियो । त्यही सोचाईले मलाई उनी सम्म पनि पु¥यायो । मैले बिर्सिएको छैन अझैं त्यो रात । जुन रात म उनको योवन लुट्न एक जना साथीको लहैलहैमा उनको कोठामा गएको थिएँ ।

रातिको १० बज्नै लागेको थियो । त्याहाँ पुग्दा उनी रुदैं गरेको छोरालाई अनेक गीत गुनगुनाउँदै सुताउने कोसिसमा थिईन् । जब मेरो पहिलो नजर उनीमा प¥यो तब म, मेरो मानसिकता अनि स्वभाव एकाएक बदलियो । सायद उनको रुप, यौवन अनि बसाईको तरिकाले हुन सक्छ ।

अध्याँरो कोठालाई एउटा क्याण्डीलले उज्यालो दिई रहेको थियो । त्यही उज्यालोको साहारामा छोरा सुताउने कोसिसमा उनी लाग्दै थिईन् । खाट थिएन उनको कोठामा पलङ्ग त धेरै टाढाको कुरा हो । भुँईमा पि फम माथि केवल एउटा डस्ना, पुरानो र मैलो देखिने तन्ना, त्यसमाथि दुईओटा सिरानी सायद दिपेन्द्र हुँदा किनेको हुनु पर्छ ।

उनको त्यो चम्किलो रुप र यौवन अनुुसारको बसाई नपाएपछि मन भित्रै देखि खिन्न भयो । उनले एक चोटी पनि हेरिनन् हामी तिर । तर मैले भने उनलाई र उनी बस्ने कोठालाई निकै घोरिएर हेरिरहें । सामान एउटा भन्दा दुईओटा थिएन । त्यो खाना पकाउने भाँडा होस् या खाने थाल नै किन नहोस् । सबै कुरा यत्रतत्र छरिएको । यस्तो लाग्दथ्यो मानौं कि धागोबाट चुँडिएको मोती जस्तो ।

म यीनै कुराको भवसागरमा डुब्दै थिएँ । एक्कासी मेरो कानमा एउटा आवाज आएर ठोकियो । “कस्तो भनेको नमानेको ? सधैं तिमी यसै गर्छेऊ । कति पैसा चाहिएको छ भन न त ? के नबोलि बसिराको ? मलाई घर फर्कन अबेर भई सक्यो भन्या ।” अनि यसो उनी तिर फर्किएर हेरेको त मेरो साथीले उनको पाखुरामा समात्दै आफ्नो कामुकतालाई स्खलन गराउनका लागि समय माग्दै थियो ।

उनी भने हात झत्कार्दै ऊबाट फुत्कन चाही रहेकी थिईन् । मैले उनको चाहानालाई त्यो समयमा यसरी बुझें मानौं म बर्षाैंदेखि उनलाई बुझ्ने उनको एउटा राम्रो साथी हो । त्यस पछि म केही नबोली मेरो साथीको हात उनीबाट छुटाउँदै उस्लाई लिएर घर फर्किएँ ।

रात भरि उनको सबै कुरा आखाँमा नाचि रह्यो । नढाँटी भनुँ भने म त्यो रात सुत्नै सकिन । मैले सोंचेकै  थिएन कि म फेरी उनलाई भेट्न जाने छु । भन्छन् नसोचेकै कुरा हुन्छ रे । सायद त्यही भयो मेरो जीवनमा पनि र गएँ भोली पल्ट उनलाई भेट्न ।

त्यही भेटले नै मेरो जीवनलाई परिवर्तन गरिदियो सधैं सधैंका लागी । जब उनलाई भेटें तब जानें उनको वास्तविकतालाई, उनको बाध्यतालाई, अनि उनको मौनतालई पनि । शुरुमा मसंग नबोली बसेकी उनी, जब मैले तिम्रो दृष्टान्तमा पर्ने त्यो चरित्रको पुरुष हैन भनी प्रष्ट्याएँ त्यसपछि बिस्तारै बोल्न लागिन् ।

पछिपछि मैले उनको मन जित्न थालें । उनले पनि मलाई विश्वास गर्न लागिन् । समय यस्तो भई दियो कि मलाई उनको लत लाग्न थाल्यो । दिन भरिको आफ्नो काम पछि म सोझै उनको कोठामा जाने गर्दथें । उनका आवश्यकताहरु सकेसम्म पुरा गरिदिन्थें । हामी सम्भोग बाहेकका सबै कुरा एकअर्कासंग शेयर गर्दथ्यौं ।

उनी प्रति मेरो कामुक्ता कहिले पनि जन्मिएन । उनकोमा आउँदा जाँदा सबैले आखाँ तानी हेर्थे मलाई । र पनि मलाई केही फरक पर्दैनथ्यो । त्यसै क्रममा एकदिन उनको कोठामा जाँदा कोठामा बाहीरबाट कुञ्जा लगाईएको थियो । कुञ्जा खोलेर भित्र पसेको त कोठा पुरै खालि ।

म आत्तिएँ र उनको घरबेटीलाई सोध्दा “खै सामान ट्याक्सिमा हालेर निस्किएकी हो । काहाँ गई के था नी ?” भन्ने जवाफ पाएँ । केही सोच्नै सकिन । एकाएक शरिर गलेको झैं भयो अनि उनको कोठा भित्र गएर थचक्कै बसी म टोलाउँदै थिए । पर एउटा कुनामा पट्टयाएर फालिएको कागजको पाना देखें । जस्मा लेदिखएको थियो................।

प्रिय सन्तोष,

तपाँईलाई धेरै नै सम्झि रहने छु । जीवनमा तपाँईसंग भेट भएकोमा म आफुलाई सधंै भाग्यमानी ठानी रहने छु । पछिल्लो समयमा तपाँईको साथ र सहयोगले मलाई यो शहरमा बाँच्न त्यति कठिन भएन जति ती दिनहरुमा तपाँई नभेटिंदा भएको थियो ।

म सधैं क्रृणी रहने छु तपाँईको सहयोगको । तपाँँईको सहयोगले मेरो अशान्त मनलाई शान्त बनाउँदै लग्यो तर मेरो कारणले तपाँईलाई सधैं अशान्त बनीरहनु प¥यो । मेरो कारणले तपाँईलाई नभएको आरोप र लान्छनाहरु खेपी रहनु परि रह¥यो । तपाँईले नभने नी मलाई सबै थाहा थियो कि तपाँई मेरो कोठामा आउँदा र मलाई सहयोग गर्दा कतिसम्मको अपमानीत बनि रहनु प¥यो भन्ने ।

यी सबै कुरा जान्दा जान्दै म कसरी तपाँईबाट सहयोग लिई रहन सक्थें र ? सबै कुराहरु बुझेर पनि नबुझे जस्तो गरि किन पो तपाँईलाई अप्ठ्यारोमा पारि रहन सक्थें होला र ? सकिन त्यसो गर्न । यदि मैले तपाँईलाई यो कुरा भनेकी हुँदि हुँ त सायद तपाँईले मलाई यसो गर्न दिनु हुंदैनथ्यो । त्यसैले तपाँईलाई नभनेर नै आज यो शहर सधैंका लागि छोड्दै छौं हामी आमा छोरा ।

म जाँन्दिन मेरो जीवनको यात्रामा म काहाँसम्म पुग्ने छु । यस्को अन्त्य कुन ठाउँमा गएर हुनेछ । तर यति थाहा छ कि अब म तपाँईलाई मेरो कारणले दुःख दिन सक्दिन । ससक्नु हुन्छ भने तपाँईलाई नभेटि हिंडेकोमा मलाई क्षमा गर्नुहोस् । अन्त्यमा मेरो मनलाई यो भिडमा पनि यति धेरै बुझिदिनु भएकोमा धन्यबाद !
                                     
                                     उही तपाँईको सधैं भलो चिताउने
                                                 स्मारीका 

घरेलु हिंसाले बनायो रुबी खान

रुपनी जि.एम
बाँके १० कार्तिक । 
“म सानै छंदा बुवाले आमालाई तलाख (डिर्भोस) दिई सक्नु भएको थियो । तैपनि बुवाले सुर्खेतबाट आएर आमालाई पिट्न र गाली गर्न कहिल्यै छाड्नु भएन । जब कि मेरो बुवाले सुर्खेतमा अर्की आमा बिहे गरेर बसि सक्नु भएको थियो । आमाले बुवाबाट सहनु परेको त्यो हिंसाले नै मलाई यस क्षेत्रमा काम गर्न प्रेरित ग¥यो ।” नेपाल मुस्लिम समाज नेपालगञ्जका निर्देशक रुबी खान ।

रुबी कक्षा ८ मा पढ्दा पढ्दै नेपाल मुस्लिम समाजमा भोलेन्टिएरको रुपमा आबद्ध भईन् । त्यति सानै उमेरमा उनलाई कुनै रहर थिएर त्यसरी काम गर्न । तर बाध्यता बनिदियो । आमाले बुवाबाट सहनु परेको असह्ैय हिंसा नै उनको बाल मनस्थितिमा डर लाग्दो छाप बन्यो ।

१२÷१३ वर्षकोे हुँदादेखि नै घरमा भएको अशान्त वातावरणबाट उनी मुक्त हुन चाहान्थिन् । तर सक्दिनथिन् । किनकी उनी निकै नै सानी थिईन् । न उनले बुवाले आमालाई मरनासन्न हुनेगरि कुटिरहंदा छुट्टयाउन सक्थिन् नत डाको छोडेर रुन नै । सक्थिन् त केवल बुवाको आक्रामक व्यवहारबाट हुने डरबाट मुक्त हुन ।
 
उनको त्यो डरलाई छिमेकी अन्टि जैतुन हल्वाईले महसुस गर्दै उनै जैतुनले नै रुबीलाई भोलेन्टिएरली हाल कार्यरत संस्थामा आवद्ध गराईन् । वि.सं. २०६३ सालमा संस्थामा आवद्ध भएकी रुबीको जीवन संर्घष त्यसैदिनदेखि नै शुरु भयो ।  
आज भन्दा १० वर्ष पहिले रुबी घरेलु हिंसा विरुद्धको अभियानमा सक्रिता देखाउँदै नेपाल मुस्लिम संस्थामा आवद्ध भएपछि शुरुमा त उनलाई उनकै बुवाबाट तिरस्कृत हुनु प¥यो । त्यसपछि समाज त छंदै थियो । छोरीलाई घरबाट बाहीर काम गर्न दिएको भन्दै आमालाई डिर्भोस दिईसकेको उनका बाबु रमजान पठानले उनकी आमा रुकैया खातुनलाई सुर्खेतबाट आएर पिट्दथे रे ।

बुवाले त्यसरी पिटिरहंदापनि आमाले कहिल्यै मलाई त्यो पिटाईको बारेमा नभनेको र उल्टै अभिस जान ढिला हुँदा मलाई समयको ख्याल गराएको रुबीले आखाँभरि आँशु लिंदै सुनाईन् । “यदि मलाई कसैले बुझ्यो त त्यो व्यक्ति मेरी आमा हुन् । सायद म मेरी आमा जस्तो समझदार आमा बन्न नसकुँला तर मेरी आमा अनपढ भएर पनि संसारकै शिक्षित आमा हुन् ।” उनी भावुक भईन् ।

आमा रुकैयालाई थाहा थियो कि यदि उनले छोरीलाई घरबाट बाहिर निस्किएर काम गर्न दिईनन् भने छोरीले पनि जीवनभरि नै आफुले जस्तै हिंसा सहनु पर्नेछ भन्ने । त्यसैले रुबीकी आमाले रुबीलाई कहिल्यै काममा अरुको कुरा सुनेर नजान भनिन् रे, रुबी भन्छिन् “मलाई थाहा हुन्थ्यो मैले घरबाट बाहीर निस्किएर काम गर्न शुरु गरेपछि बुवाले आमालाई पहिलाको तुलनामा मेरै कारण बेसी टर्चर गर्नु हुन्थ्यो । तर आमाले कहिल्यै पनि मलाई त्यो कुरा थाहा हुन दिनु भएन ।” 

नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ७ की रुबीको कामप्रतिको लगनशिलता र मेहेनतले संस्थाको महाधिवेशनमा उनी एकैचोटी महासचिव भईन् । सानो सानो कुराहरुको अनुभवबाट जीवनलाई माझ्दै अघि बढेकी रुबीले बाँकेका विभिन्न खालका हिंसा पिडित महिलाहरुकालागि खुलेरै आवाज उठाउँदै काम गरिरहेकी छन् ।

शुरु शुरुमा रुबीको, घरबाट बाहिर निस्किएर काम गर्नुलाई, उनले लगाउने लुगालाई, कार्यक्रमको शिलशिलामा उनको होटलमा जानु पर्ने कुरालाई, कामको शिलशिलामा घर ढिला जाने कुरालाई, उनी अन्य सहकर्मी र समकक्षि पुरुषहरुसंग बोल्ने कुरा आदि ईत्यादिलाई रुबीको समाजले यति हदसम्म यातनाको विषय बनायो कि आत्माविश्वास बलियो हुँदा हुँदै पनि कैयौं पटक टुट्न पुगिन् उनी ।

समाजको नियम र मानिसहरुको अनावश्यकको कुरा काटाईले रुबीलाई धेरै पटक निराशा बनाएपनि उनले आफुभित्रको आशालाई कहिल्यै मर्न दिईनन् । उनले त्यही समाजको नियमलाई परिवर्तन गर्दै अघि बढिरहीन् । त्यसैको प्रतिफल हो हिजो आज उनी उनको समाज मात्र हैन पुरै बाँके जिल्लाको एउटा मुस्लिम समुदायको मिसाल बन्न सफल भएकी छन् ।

शुरु शुरुमा उनलाई नराम्रो भन्नेहरु नै हिजो आज उनलाई उदाहरण बनाउँदै आफ्ना घरका नानीहरुलाई स्वतन्त्र भएर काम गर्नकोलागि सघाईरहेका हुन्छन् रे । आफुलाई उदाहरण मानेर सबैले हिजो आज आफ्ना घरका छोरी बहीनीलाई घरबाट बाहीर निस्किएर काम गर्न दिएको कुरालाई रुबी यसरी सुनाउँछिन् । “बाहीर गएर काम गर्न तिमीलाई हामीले रोक्ने छैनौं तर रुबी जस्तो बनेर काम गर । ”

एउटै संस्थामा आवद्ध भएर काम गरेको झण्डै १ दशकको यात्रा रुबीले पार गरिसिकन् ।   निकै लामो र संर्घषशिल समय पार गरेपछि रुबी अहिले संस्थाको निर्देशक भएकी छन् । रुबी भन्छिन्,“यदि मम्मिले बुवाको पिटाई र धम्किबाट अनि समाजका कुराहरुबाट डराएर मलाई काम गर्न रोकेको भए मेरो पाईला ती दिनहरुमै रोकिने थिए । उहाँ मेरो आमा मात्रै हैन मेरो साथी पनि हो । आज म जे छुु पहिलो कुरा त म मेरो मम्मिको योगदानले छु । उहाँकै कारण म यो ठाउँसम्म आईपुगेकि छु ।” 

रुबी घरकी माईली छोरी हुन् । र उनी यस्ति छोरी हुन् जस्ले बुवापछिको सबै जिम्मेवारी निभाउनमा दाजु र भाईहरुको भन्दा कुनै कुरामा आफुलाई कम राखेकि छैनन् । बुवाको मृत्युपछि रुबीले सौतेनी आमा र उनी पट्टीका दुईभाईहरुसंग यस्तो सम्बन्ध कायम गरेकी छन् कि देख्नेहरु कसैले पनि यो दुई परिवार हो भन्दैन रे रुबी भन्छिन् ।

प्राय व्यक्तिहरु बाहीरको कामलाई जति मिलाउन सक्छन् त्यति उनीहरु आफ्नो घर भित्रकै समस्यालाई सुल्झ्याउन सकिरहेका हुँदैनन् । तर रुबी ती सबै भन्दा अलग छिन् । किनकी उनले सानैदेखि जानेकि छन् कि परिवारमा कलह हुँदा पुरै जिनदगीलाई नै कस्तो असर पर्छ भन्ने कुरा । त्यसैले उनको परिवार अन्य मुस्लिम समुदायको भन्दा धेरै फरक छ ।

उनले संघर्ष शुरु गरेको दिनको तुलनामा अहिलेको मुस्लिम समुदायको अवस्थाका विषयमा रुबी भन्छिन्,“धेरै त अझैंपनि होईन तर अहिलेको समाजलाई केही परिवर्तन भएको मान्नै पर्छ । नेपालमा विशेषगरि मुस्लिम छोरीहरुलाई खुला शिक्षाकोेलागि नेपाल सरकारले मुस्लिम बाहुल्य भएको ठाउँहरुमा सरकारी मदरसाको व्यावस्था गर्नु पर्ने अवस्था छ । र त्यो गरिनु पर्छ । तब मात्र चेतनाको स्तरमा मुस्लिम समुदायको विकास हुन सक्छ । जुन अझैं हुन सकिरहेको छैन ।”

आफ्नो पहिचानकोलागि र स्वाभिमानकोलागि संघर्षको लडाई अझैंपनि जारि नै छ भन्न रुचाउने रुबी खानले ५ वर्षसम्म राष्ट्रिय महिला अधिकार मञ्चको महासचिवको जिम्मेवरी सम्हालि सकेकी छन् । राष्ट्रिय महिला मानव अधिकार रक्षक सञ्जालको सदस्य भएर उनले ३ वर्षसम्म काम गरिसकेकी छन् ।

सानै उमेरदेखि थुप्रै अनुभवहरु बटुल्दै र संघर्षको यात्रा एक्लै तय गर्दै याहाँसम्म आईपुगेकी रुबी मुस्लिम समूदायबाट प्रतिनिधीत्व गर्ने एउटा असल र उदाहरणीय युवा महिलाको नामले चिनिन्छिन् ।


म, सडक, अनि मेरो जिन्दगी

 रुपनी जि.एम
बर्दिया ३१ असोज ।
“बिहान् अरु घरमा बसेर चिया पिउँछन्, म भने बिहानै ८ बजे सडक छेउमा घाँस काट्न जानु पर्ने हुन्छ । एउटा हातमा हँसिया अर्को हातमा लठ्ठी बोकेर म हरेक बिहान सडक छेउँ पुगेकै हुन्छु ।” यो भनाई हो, बाँके बैजनाथ गाउँपालिका वडा नं. ६ का ज्ञान बहादुर खत्रीको ।

५७ वर्षीय ज्ञान बहादुर खत्री सोमबार बिहानै महेन्द्र राजमार्गको सडक छेउमा भेटिए । असोजको महिना मौसम अनुसार जाडो शुरु हुनु पर्ने हो । तर यो समय यतिबेला तराईमा जेठ बैशाषको जस्तो टन्टलापुर घाम र गर्मी उत्तिकै छ । त्यति पारिलो बिहानको निकै नै चर्किएको घामसंगै पसिना चुहाउँदै सडको एक छेउँतिर घाँस काट्दै गरको अवस्थामा मैले ज्ञान बहादुरलाई भेटें । 

बिहानको यस्तै साढे ८ बजेको हुँदो हो । मैले उनलाई आफ्नै सुरमा घाँस काट्दै गरेको अवस्थामा बाँसगढी नजिकै सडक छेउमा भेटें । देब्रे हातले लठ्ठीको साहारा लिदैं दाहीने हातले हँसिया समातेर सडक छेउमा पलाएका घाँस काट्दै थिए ज्ञान बहादुर । 

उमेरले झण्डै ६ दशक लाग्नै लागेका ज्ञान बहादुरमा उही जोश उही काम गर्ने जाँगर । मानौं उनीमा ५७ वर्षको नभई एउटा युवामा हुनु पर्ने जोंश र जाँगर छ । झट्ट हेर्दा फुर्तिला र स्वथ्य देखिने ज्ञान बहादुर नजिकै गएर कुरा गरेपछि थाहा भयो कि उनी हेर्दा जस्तो फुर्तिला र स्वथ्य रहेनछन् । 

नजिकै गएर कुरा गर्दा थाहा भयो कि उनको घाँटिदेखिको माथिको भाग निरन्तर हल्लि रहँदो रहेछ । जस्लाई मेडिकलको भाषामा न्युरोजेनिक अर्थात बे्रन सम्बन्धि समस्याका कारण उत्पन्न हुने रोग “टिक्स” भनिन्छ । उक्त रोगकोलागि सामान्य एक्सरे वा एमआरआई गर्दा पनि लगभग २० हजार जति खर्च हुने मनमोहन मेमोरियका डक्टर धर्मदत्त सुबेदी बताउँछन् ।

झण्डै २२ वर्षदेखि न्युरोजेनिक समस्याले ग्रसित ज्ञान बहादुर सामान्य एमआरआई गराउन त सकिरहेका छैनन् भने अप्रेसनको विषय त उनकोलागि आकाशको फल आखाँतरि मर भने झैं भाको छ । आर्थिक स्थिति कम्जोर भएकै कारण दैनिकी मात्रामा खानु पर्ने औषधि पनि उनले खान सकिरहेका छैनन् ।

घामपानी नभनि सडक छेउमै घाँस काटेर ज्ञान बहादुरले महिनाको १६ हजार कमाउने रहेछन् । त्यही कमाईबाट उनले आफुसंगै ६ जनाको परिवार पाल्नु परि रहेको छ । यस्तो अवस्थामा उनले कसरी आफ्नो स्वास्थ्य उपचार गर्न सक्थे र ? उनी भन्छन्,“परिवारमा कसैको मुख सानो छैन । सबैको खाने मुख ठुलो छ । १६ हजारले के नै हुन्छ र ? खान त जासो तसो पुगेकै छ । खाएर मात्रै नहुने । खाना भन्दा अरु कुरामा बेसी खर्च हुने   अवस्थामा मैले आफ्नो उपचारकालागि कसरी त्यतिका रकम जुटाउ सक्छु र ?” उनले पिडालाई पनि हाँसेरै अभिव्यक्त गरे ।

सडक डिभिजन कार्यालय नेपालगञ्जले राजमार्ग, साहायक राजमार्ग र पुलगरि ३ स्थानकालागि ९० जनाको संख्यामा मेक ओर्कर खटाएको छ । तीनै मध्यका एक हुन् ज्ञान बहादुर पनि । कार्यालय प्रमुख अरुण बमका अनुसार डिभिजन कार्यालय नेपालगञ्जले बाँके र बर्दिया गरि २ जिल्लामा मेक ओर्कर खटाएको छ । मेक वर्करले सुपरभाईजरको अन्डरमा रही काम गर्नु पर्ने हुन्छ ।

डिभिजन कार्यालय नेपालगञ्जको मतहतमा रही मेक ओर्करहरुले काररमा काम गरिरहेको प्रमुख बम बताउँछन् । मेक वर्करलाई थाई गर्ने विषयमा कार्यालय प्रमुख बम भन्छन्,“नियमावली अनुसार उनीहरुले करारमा काम गर्ने हो । र त्यही नियमावली अनुसार नै उनीहरु शारीरिक रुपमा अशक्त भएको खण्डमा उनीहरुले आफ्नो ठाउँमा परिवारका कुनै पनि सदस्दलाई राख्न पाउने व्यवस्था छ । तर थाईको व्यवस्था छैन ।”

सडक छेउको काम र पुलको काम भएको हुनाले शारीरिक रुपमा नै बलियो र फुर्तिलो  हुनु पर्ने हो तर ज्ञान बहादुर दुवै कुराले अशक्त छन् र पनि उनले काम गरिरहेका छन् । भन्छन्,“उमेर भएका छोराहरु यस्तो कम गर्न मान्दैनन् । सरकारले छोराहरुले चाहे जस्तो कामको व्यवस्था गर्न सक्दैन । छोराहरुले पनि नगर्ने र मैले पनि नगर्ने हो भने के खाएर बाँच्ने ? त्यसैले यो काम गर्नु मेरो बाध्यता नै हो ।”

काम सानो र ठुलो हुँदैन । काम काम नै हो । तर कामको ज्याला काम अनुसारको हुनु पर्छ । काम अनुसारको ज्याला भएन भने काम सानो र ठुलो भन्ने प्रकृतिमा बाँडिन जान्छ । जस्ले ज्ञान बहादुरले भने झैं युवाहरुकोलागि त्यही काम शान भन्दा अपमान भएको हुन जान्छ । नेपाल सरकारले यस्ता विषयमा ध्यान दिनु पर्छ ।