Wednesday, December 2, 2015

तिम्रो कुमारत्वलाई कस्ले परिक्षण गर्ने ?

           
                                                 तिम्रो कुमारत्वलाई कस्ले परिक्षण गर्ने ?
रुपनी जि.एम
नेपालगञ्ज बाँके


कुरा यही कार्तिक महिनाको तिहार ताकाको हो रे । रातीको १० बजे पछि नम्रतालाई उनको साथी सुशीलाको फोन आयो, र कुनै सम्बोधन नै नगरि शुरुमै सोधियो रे–“ओए ! मायामा विश्वास दिलाउन के शरिर नै सुुम्पनु पर्ने हो र ?” नम्रता अक्कनबक्क पर्छे र आश्चर्य मान्दै सोध्छे–“के भन्छे यो ? बौलाउन त लाईनेस् ? कस्ले के भन्यो र तलाई ?” अरु कस्ले हुन्छ र ? तलाई भनेकी थिएँ त ? उही के, मैले माया गर्ने गजे ।

गजे, पुरा नाम गजेन्द्र कार्की । घर झापाको सुरुङ्गा । गजेन्द्रसंग सुशीलाको भेट यही श्रावण महिना लैङ्गिक हिंसाका विषयमा पोखरामा सम्पन्न ३ दिने गोष्ठिमा भएको थियो । पेशाले दुवै जना कुनै एन.जि.ओमा काम गर्ने गर्दछन् । बुटवलकी सुशीलालाई झापाका गजेन्द्र कार्की त्यही गोष्ठि पश्चातको कुराकानीकै क्रममा विस्तारै मन पर्दै गई रहेको थियो । दुवैलाई दुवैको फोन दिनमा ५÷१० मिनेटकै किन नहोस् ३÷४ पटक नियमित हुन्थ्यो भने रातमा त घण्टौं हुने कुरा कुनै नौलो नै भएन । नम्रताले भनेकी । उमेर पुगेका केटाकेटी एक अर्कालाई मन पराउनु र एकआपसमा घण्टौंसम्म कुरा गर्नु कसैका लागी पनि कुनै विषयको कुरा होईन । त्यसैले सुशीला र गजेन्द्रको प्रेमलाई पनि चिनेजाने जति सबैले समर्थन गर्दै कुनै चर्चाको विषय नै बनाएनन् । तर आफ्नै प्रेम सुशीलाका लागी सोच्दै नसोचेको एउटा विषय बन्न पुग्यो । जस्ले आज सुशीलाको प्रेम कथालाई अधुरो बनाएर दुविधापुर्ण गोरेटोमा उभाई रहेको छ ।

“सान,ु तिमी मेरी हौ । यस्मा कुनै शंका नगर्नु तर पनि खै किन किन तिमी मेरा लागी कति योग्य छौं जाँच्न मन लागेको छ । तिमी अप्ठेरो मान्दिनौं भने मलाई तिमीसंग एक पटक शारिरीक सम्पर्क गर्न मन लागेको छ ।” गजेको प्रेम जब यसरी यो उद्वरण चिन्ह भित्र कैद भएको वाक्यहरुबाट छरपस्ट भयो त्यसपछि सुशीलालाई उनको आफ्नै प्रेमले दुविधाको गोरेटोमा उभ्याई दियो रे । नम्रताले भनेकी । जब आफुले माया गर्ने मान्छेले नै माया गरेकै आधारमा आधिपत्य जमाउदै पुर्णत शारिरीक र मानसिक रुपमा बलियो भएको पुरुष, जो न एउटी महिलाका लागी नत ऊ स्वयमका लागी नै योग्य हुदैन । त्यस्ताको प्रेमले भावि दिनहरुमा जीवनलाई के सुखी राख्ला ? भनेर सुशीलाले लत्याई दिईन् रे गजे अनि गजेको प्रेमलाई । नम्रताले भनेकी ।

गजे जस्ता कैयौं अनगन्ति पुरुषहरु छन्, जस्ले प्रेम गरेकै आधारमा त्यस्लाई बाहाना र अनेक थरी प्रलोभनमा पारि स्त्रीलाई केवल शरिरीको बली चढाउन बाध्य बनाई रहेका हुन्छन् । गजे र सुशीलाको त आखिर के नै भयो र ? कुरामा कुरा नमिल्दा प्रेम असफल भएको न हो । याहाँ त मनले मनसंग सम्बन्ध गाँसेकै आधारमा मनलाई विश्वास दिलाउनका निम्ति शरिरको बलि चढाउदा पनि प्रेम असफल बनेको छ प्रायको । यस्तै असफल हुनेमा एउटा अर्काे कथा दैलेखकी लिला र बर्दियाको धनन्जयको पनि हो । दुवैको भेट सुर्खेतको भूमिमा आज भन्दा झण्डै ५ वर्ष पहिला भएको थियो । स्नातकोत्तर तहको पढाई पुरा गर्न धनन्जय बस्नेत वि.सं. २०६८ सालमा सुर्खेत जाँदा त्याहाँ उनले लिला विष्टलाई भेटेका थिए । लिला पनि स्नातक तहको पढाईलाई पुरा गर्न दैलेखबाट सुर्खेत झरेकी थिईन सोही वर्ष । पढने तह फरक भए पनि भेट हुने समय भने प्राय एकै हुन्थ्यो उनीहरुको । प्रत्येक दिनको भेटले दुरी नजिक बनायो उनीहरुको । झण्डै ३ महिना बितेको हुँदो हो । उनीहरुको सम्बन्धले गति लिन लागेको । त्यति बेला धनन्जयले आफ्नो बिवाहको कुरा परिवारले चलाएको भन्दै झुठो बाहाना गरेछ ।

आफुले माया गरेको मान्छे अरु कसैको बन्छ कि भन्ने डर कस्लाई पो हुँदैन होला र ? लिलाको त्यही डरलाई धनन्जयले बुझ्यो र लिलालाई शारिरीक सम्पर्क भए मात्र विश्वासका साथ परिवारसंग आफुहरुको प्रेम सम्बन्धका बारेमा भन्न सकिने भन्दै यौन पिपासु बनेर लिलाको अस्मितालाई बलि चढाउन सफल भयो । लिलालाई त्यो शारिरीक सम्पर्कमा रत्ति भरि पनि कुनै पश्चाताप थिएन । किनभने उस्ले त धनन्जयलाई आफ्नो अस्मिता सुम्पिएर अनौपचारिक रुपमा श्रीमान मानी सकेकी थिई । त्यो पनि उसलाई विश्वास दिलाउनका लागि मात्र । जस्को नतिजामा बाँकी थियो त केवल प्रेमलाई औपचारिकताको शुत्रमा बाँध्दै विवाह गर्न ।

जुन कुराको बाचा दुवैले जागिर खाएर आफ्नो खुट्टामा उभिए पछि मात्र गर्ने भनेर गरेका थिए । उनीहरुको प्रेमसंगैको शारिरीक सम्पर्कले झण्डै ५ वर्षको यात्रा पुर गर्दै थियो । एकाएक असोजको २२ गते  धनन्जयको फेसबुकमा उ अरु नै केटीसंग बैबाहीक जीवनमा गाँसिएको फोटो लिलाले देख्न पुगी । एउटी स्त्रीका लागि त्यो जस्तो असैह्य पिडा अरु के नै हुन सक्छ ? हामी सजिलै अनुमान गर्न सक्छौं । जस्को दुखाई अहिलेसम्म लिलाले सहनु परि रहेको छ । सुशीला र लिला त प्रतिनीधि पात्र मात्र हुन् । यस्तो पिडाबाट बिच्छिप्त भएका स्त्रीहरु गन्न नसकिने संख्यामा छन् । तपाँई हाम्रो समाजमा ।

कस्तो अचम्म ? स्वतन्त्र भएर माया पनि गर्न नपाईने भयो यो शहरमा अब त । केटीले केटालाई विहे गर्छु भन्नु त टाढाको कुरा, माया गर्छु सम्म भन्ने हो भने पनि त्यस्का लागि परिक्षामा पास हुनु पर्ने । त्यो पनि अस्मिताको बलि चढाएर । सरल भाषामा भन्ने हो भने माया गरेको केटालाई आफ्नो कुमारीत्व परिक्षण गर्न दिनु पर्ने रे । त्यस्मा पास भयो भने विहे नभए यो गति छाडा । प्रश्न उठन सक्छ कि, किन कुमारीत्व परिक्षण गर्न दिने त ? भन्ने । एक पटकका लागि सुशीला र लिलाले झैं पवित्र आत्माले कसैलाई माया गरि हेर्नहोस् । अनि थाहा हुनेछ तपाँईलाई माया गर्ने मान्छेलाई गुमाउदाको डर भन्दा ठूलो कुरा कुमारीत्व हुदैन भन्ने ।

यो लेख पढ्ने तपाँई जो कोही पाठकलाई मेरो प्रश्न । के प्रेममा विश्वास दिलाउनका लागी शरिर सुम्पनै पर्ने हो त ? यदि हो भने, के त्यो एउटी स्त्रीलाई उनको आत्मा सम्मानमा ठेस पु¥याउँदै अस्मिताको बलि चढाउन बाध्य बनाईएको होईन र ? यदि यो कुरामा सहमति जनाउन कुनै आनाकानी हुदैन भने कस्ले दिएको छ त, त्यो पुरुषलाई यी सबै कुराहरु गर्न छुट ? जस्ले पवित्र मनले साँचो माया गरिरहेकी एउटी स्त्रीको हृदयलाई छियाछिया पार्दै दुखाई रहेको होस् जीवन भरि । अनि प्रेम गरेकै बाहानामा विश्वासको परिपाटि बनाउन केवल अस्मिताको बलि चढाउन परि रहोस् जीवन भरि ।

एकपटक आफैले आफैलाई यो प्रश्न गरि हेरौं । पुरुष भएर जन्मिएकै कारण के तपाँईले यी सबै कुराहरु गर्नै पर्ने हो र ? के तपाँईलाई  पुरुष भएकै नाताले यी सबै कुरा गर्न अधिकार दिईएको छ ? या फेरी लाग्दछ तपाँईलाई कि, एउटी स्त्रीको अस्मितासंग खेल्न तपाँई स्वतन्त्र हुनुहुन्छ ? यदि यस्तो लाग्दछ भने यो लेखिकाको तपाँईलाई मात्र एउटै प्रश्न कि तपाँई को हो ? विवेकी पुरुष ? या विवेक गुमाएको पुरुष ? यो विषयमा गम्भिर हुने प्रयास गर्नुहोस् । उत्तर तपाँई स्वयमले नै भेट्नु हुनेछ । र जब भेट्नु हुनेछ तब तपाँई एउटी स्त्रीको नजरमा सधैं प्रिय बनि रहनु हुनेछ । अनि मात्र तपाँई यो समाजका लागि  एउटा सभ्य र सालिन पुरुषको परिचयबाट चिनिनु हुनेछ । त्यसैले यो विषयमा अहिले नसोंचे कहिले साेंच्ने ? मानसिकतामा परिवर्तन अझैं नगरे कुन दिन गर्ने ? अनि महिलालाई सम्मान बोलीले मात्र हैन व्यबहारले यो समयमा नगरे कुन समयमा गर्ने ? अझैं पनि परिवर्तन हुने पालो तपाँई र तपाँईकै सोचाईको हो ।



Thursday, November 19, 2015

तिम्रो लोग्ने मेरो जीवन साथी


                                                          


रुपनी जि.एम
२०७२÷०६÷१७
नेपालगञ्ज बाँके
  
साल २०६८, महिना बैशाषको थियो । बिहानको यस्तै ७ सवा ७ बजेको हुँदो हो । छोरा छोरी सुत्दै थिए । म भने उठेर घरको पिंढीमा टोलाई रहेकी थिएँ । एक्कासी नचिनेको नम्बरबाट फोन आयो र मलाई सोधियो–“बेबी हिजो किन फोन नगरेकी ? मैले गर्दा नी उठाईनौं त, ज्यानलाई सञ्चै त छ ?” एकछिन त म अक्कन बक्क परें । उस्को प्रश्नमा म मौन रहंदा सानु भन्दै मेरो मौनतालाई फेरी चि¥यो उस्ले । म झस्किएँ र भने सायद तपाइँले खोजेको मान्छे हैन म । यो रङ नम्बर हो । यति भने पछि उस्ले पनि माफी माग्यो र फोन काटि दियो ।

म आफ्नै जागिरे जीवनसंगै छोराछोरी अनि घरको काममा व्यस्त थिएँ भने श्रीमान पनि नेपाली सेनाको जागिरमा व्यस्त । सबै आ–आफ्नै सुरमा बाँची रहेका थियौं । समयसंगै दिन आफ्नै गतिले अघि बढ्दै थियो । अचानक फेरी उस्तै शैलीमा र प्रयोग गरिने भाषामा त्यही फोन ठ्याक्कै २ दिन पछि दोहोरीयो । यस पटक भने कुरा अघिल्लो पटकको जस्तो भएन । लामो भयो तर रमाईलो पारामा भयो । किन भने उसंग कुरा गर्ने शैली मिठो रहेछ । यस पटक रङ नम्बर भएपनि परिचय गरेर केही उस्का कुरा सुनियो  र केही आफ्ना कुरा सुनाईयो । जीवनलाई भोगिने तरिका निकै नै आश्चर्यको हुँदो रहेछ । न बुझ्न सकिने नत कसैलाई बुझाउन नै सकिने । जुन कुराको सोचाई गर्नु त निकै परको कुरा कल्पनासम्म गर्न सकिएको हुदैन । त्यही कुरा जीवनको अति नै महत्वपुर्ण बनेर घट्दो रहेछ मान्छेको जीवनमा ।

मेरो जीन्दगीमा पनि यस्तै केही भयो उसंगको सम्बन्ध । जस्को अहिले सम्म मेरो जीवनमा महत्व रही रहेको छ । सोंच्दै नसोंचेका घटनाहरुलाई जीवनको पानामा यसरी कोरिरहंदा अचम्मको त लागेको छ नै साथ साथै भय पनि उत्तिकै लाग्दो रहेछ । ऊ सामान्य मान्छे हैन नत कम विबेक भएको मान्छे नै हो । जब ऊसंग परिचय भयो र कुराहरु बिस्तारै बिस्तारै बढ्दै जान थाले त्यसपछि थाहा भयो मलाई उस्को बारेमा । पेशाले कुनै आईएनजीओको जिल्ला को–अर्डिनेटर । घर पाल्पाको तान्सेन बजार । श्रीमती नेपाल प्रहरीमा ईन्सपेक्टरमा जागिरे । परिवारको अन्य सदस्यसंगै पुरै खानदान नै उत्तिकै सम्पन्नशाली । पछि पछिका कुराकानीमा यी यस्तै धेरै कुराहरु साँटा साँट हुँदै गए । प्रतिदिनको फोनसंगै कुराहरु पनि उत्तिकै मात्रामा बढ्दै गईरहे । दुरीको हिसाबले हाम्रो बसाई टाढा थियो तर कुराकानी बढ्दै जाँदा मनको दुरी भने नजिकिंदै गयो ।

  भनिन्छ नी, जाहाँ केही कुरा अधुरो हुन्छ त्यहींनीर अर्काे रुपमा त्यस्को परिपुर्तिका लागि केही कुरा पुर्ण भई बसिरहेको हुन्छ । बस् फरक यत्ति हो कि त्यो कुरालाई चिन्न सक्नु पर्छ । यस्तै भयो मेरो आवश्यकतामा उनको आगमन पनि । बिवाह गरेदेखि वर्षमा एकपटक बढीमा दुई पटक मोहीत (श्रीमान) संग भेट हुने । बाँकी अरु फोनमै गर्नु पर्ने । घरयासी कुराहरु त छदै थिए मनको चाहाना पनि फोनमै गरेर चित्त बुझाउनु शिवाय अरु उपाय केही हुन्थेन । हामी श्रीमान श्रीमती त भयौं तर केवल अरुका लागि मात्र । श्रीमानसंग संगै बस्न पाउनु, घुम्नु, मनका कुरा साँटा साँट गर्नु यी त मेरा लागि केवल रहर मात्रै भईरहे । यी यास्ता कुराहरुको चाहाना मन भित्रै कति जन्मिए र मन भित्रै कति मरे मरे । कुनै गरणा छैन, नत मोल नै ।

बाहीरी रुपबाट देख्नेहरुका लागि सुबास्ना (म) निकै सुु सम्पन्न छे, आफ्नो खुट्टामा उभिएकी छे, भने जस्तो घर परिवार छ, लोग्ने साथमा छ । यस्तै केही हुदो हो । तर खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भने झैं मेरो एक्लो पनले दिएको चोट केवल मलाई मात्र थाहा थियो । चाडपर्व देखि अन्य सामान्य दिनहरुमा साथी संगीहरुलाई श्रीमानसंगै हातमा हात मिलाएर हिंडेको देख्दा कस्तो हुन्थ्यो होला ? एक चोटी कसैले सोधी हेरोस मलाई । वर्ष दिनमा एक चोटी मात्र घरमा आउने लोग्ने जब परिवारसंग मात्रै रमाउन चाहान्थ्यो र मैले कतै घुम्न जाउन भन्दा मेरो प्रस्ताव सिधै अस्विकार्य हुन्थ्यो त्यस्तो अवस्थामा मेरो भावनामा कति ठेस लाग्थ्यो होला कसैले सोधि हेरोस् मलाई । तीज त छदै छ दशैंमा पनि बिहे गरेको साल बाहेक माईत संगै गएको कुनै रेकर्ड भएन । फोन गर्दा शुभकामनासंगै आउन नपाएकोमा दुखी भएको खबर बाहेक अरु केही सुन्न पाउथीन मैले । यी यस्ता थुप्रै कुराहरु छन् जस्लाई मनमा दबाएरै राख्नु पर्ने मेरो बाध्यता बनेको थियो । कतिपय यस्ता कुराहरु छन् जस्ले मेरा ईच्छा शक्तिलाई सधैं मृत बनाई रहे । जुन शब्दमा बयान गर्न नमिल्ने................. ।

  लागेको थिएन कि, सुबास्नामा फेरी त्यही बास्ना मुर्छिनेछ । जीउँदो भएर पनि मरे सरह भएकी सुबास्ना फेरी बाँच्नेछे । मुस्कुराउनै बिर्सिसकेकी सुबास्नाले फेरी खुलेर हाँस्नेछे । यी सबै गुमेका कुराहरु मैले तब पाएँ जब सागर मेरो जीवनमा नचिनेको नम्बरको माध्यमबाट आयो । उसबाट मैले ती सबै कुरा पाएँ जस्को चाहाना ममा वर्षाै देखि थियो । रित्तिए जस्तो भई बसेकी म भरिपुर्ण तब हुन थाले जब सागरसंग मेरो सम्बन्ध नजिकींदै गयो । मैले ती सबै कुरा पाएँ जुन वर्षाै देखि मैले गुमाई रहेकी थिएँ । अझ भनु जुन मेरो चाहा थियो । फरक यति मात्र हो कि, जुन कुरा आफ्नो श्रीमानबाट पाउनु पथ्र्यो त्यो एउटा राम्रो जीवन साथीबाट पाई रहें । र आजसम्म पनि पाई रहेकी छु । कुनै दुःख छैन मलाई “म पति व्रता पत्नि” भईन भन्नेमा नत कुनै गुनासो नै छ पाँच वर्षदेखि चल्दै आएको यो जीवन शैलीमा । बरु खुशी छु म कि जीवन साथीबाटै सही म एउटा पुर्ण महिला बनि रहेकी छु ।
मैले सागरलाई जीवन साथी यस अर्थमा भनेकी हुँ कि, उस्ले मलाई, मेरा ईच्छाहरुलाई, मेरा आवश्यकताहरुलाई र पुर्ण रुपले मेरो जीवनलाई निकै नै राम्रोसंग बुझेको छ । आजसम्म उस्को व्यबहारले म प्रयोग भई रहेकी छु भन्ने आभाष भएको छैन मलाई । मैले चाहेको हरेक पलमा साथ दिन भ्याएको छ उस्ले । मलाई सधैं खुशी भएको हेर्न चाहान्छ ऊ । यस्मा कुनै बनावटी कुरै छैन ।  किनकी मेरो मनले भन्छ उस्ले झुठो बोलेको छैन । र मनले कसैलाई पनि धोका दिंदैन । त्यसैले त ऊ सधंै मलाई खुशी बनाउने प्रयासमा लागि रहन्छ । जीवन साथी त्यसलाई भनिन्छ जस्ले जीवनमा यसरी नै साथ दिई रहोस् नकी सिंदुर र पोतेको बन्धनमा बाँधेर केवल एउटा नाममा मात्र सिमित रहन बाध्य बनाई रहोस् ।

 सागर र मेरो सम्बन्ध साँच्चै सागर जस्तै छ । न कुनै स्वार्थ नत फरेब नै । दुवैको घर संसार अलग अलग छ । र पनि हामी एक छौं । कति शक्ति हुँदो रहेछ मायामा कि भविषयमा आई पर्ने कुनै पनि कुराको सामना गर्न हामी तयार छौं । यसको अर्थ यो होईन कि हामि हाम्रा पुराना बन्धनहरुलाई ताडेर नयाँ सम्बन्ध श्रृजना गरौं । जुन कुरा कसैलाई असर नै नपर्ने गरि हामिले पाई रहेका छौं भने त्यो कदम हामी किन पो चाल्छौं र जस्ले सबैलाई असर पारोस् । सागरसंगको सम्बन्धले नै मलाई यही सिकायो कि यो संसारमा जति नै धनाढ्य मानिस किन नहोस्, जति नै सु–सम्पन्न देखिने मानिस् किन नहोस् र जति नै चर्चामा आएको मानिस किन नहोस् यदि उस्ले माया पाएको छैन भने उस्ले जुन देशमा माया पाईन्छ त्यही देशमा आफ्नो डेरा सार्न रुचाउँदो रहेछ । मैले जस्तै ।

  मेरो अनुभवमा, माया पाउनु अधिकार हो भने माया दिनु एउटा अर्काे अधिकार हो । चाहे त्यो आफ्नो मान्छेबाट होस् यात...................। ध्यान दिनु पर्ने एउटै कुरा त्यो मायाले कसैलाई असर नपारोस् । सायद संसारमा एउटै मात्र त्यस्तो कुरा छ जो हो “माया” । जस्ले माया दिएर माया पाउँछ त्यो संसारकै भाग्यमानी मान्छे हुन्छ । र त्यो भाग्यमानी हामीले एक अर्कालाई मानेका छौं । मलाई थाहा छ ऊ कसैको लोग्ने हो, केवल समाजका लागि, देख्नेहरुका लागि । तर उस्ले मलाई मेरा हरेक दुःख सुखमा साथ दिएको छ । भौतिक रुपमा टाढा छ र पनि ऊ मेरो नजिक छ त्यसैले ऊ “मेरो असल जीवन साथी हो ।” जस्को मैले यसै गरि साथ पाईरहने छु र उस्ले पनि मेरो............।










Sunday, October 18, 2015

नम्बर ३०८ संग सम्बन्ध सुरक्षाको


                                                      

रुपनी जि.एम        
०७२÷०६÷३०
नेपालगञ्ज बाँके

शनिबारको दिन थियो समय बिहानको सवा आठ बजेको हुँदो हो । म त्यतिबेला नेपालगञ्जको वि.पी चोक स्थित मयङक पेट्रोल पम्पमा थिएँ । बेलुका समाचारका लागि जनआवाज संकलन गर्न म त्याहाँ गएकी थिएँ । त्याहाँबाट उत्तरतिर फर्किएर हेर्दा झण्डै तीन साढे तीन सय मिटरको लाईनमा पेट्रोल भर्नेहरुको लस्कर देखियो । त्यो लस्करमा मैले मोटरसाईकल, स्कुटी र कारको संख्या ठ्यक्कै यति भन्ने हिसाब निकाल्न सकिन । पालो आएकाहरुले भरेर जाँदै गर्दा भएको खाली ठाउँमा कछुवाको चालमा बिस्तारै सबैले आ–आफ्नो सवारी साधनलाई घिर्सादै अघि बढाउने धाउन्नमा थिए । त्यो दृश्य देखि रहंदा मैले भने कोबाट जनआवाज लिन शुरु गरुँ भन्ने सोचाईमा एक प्रकारको योजना बनाई रहेकी थिएँ । त्यत्तिकैमा एक्कासी एउटा भिडबाट चर्काे स्वरमा आवाज सुनियो–“तपाइँहरु कुन मुखले आफ्नो अधिकार र सुरक्षाको कुरा गर्नु हुन्छ ? तपाइँ जस्तै महिला हिजो मात्रै देशको सभामुख हुनु भएको छ । यो कुरा थाहा छ छैन ? अब त यो देशको राष्ट्रपति र उपराष्ट्रपति पनि महिला नै हुने होला । देश हाँक्ने महिलाहरु एका तिर छन् भने याहाँ तपाइँहरु जाबो लाईन लागेर तेल भर्न सक्नु हुन्न ?” ती ब्यक्ति को थिए म जाँन्दिनथें र मलाई तिनको परिचय पनि त्यति आवश्यक परेन । तर तिनले प्रयोग गरेका शब्द भने निकै पेंचिला थिए ।

त्याहाँ उनी मात्र थिएनन् यस्ता पेंचिला शब्दहरु प्रयोग गर्दै आबेशमा आफुहरुलाई प्रस्तुत गर्नेहरु । उनी जस्तै थुपै्र त्यस्ता ब्यक्तिहरु थिए जस्ले पालो कुरेर बसेका सबैलाई एकिकृत गर्दै एउटा झगडालुको जमात नै बनाईसकेका थिए । कसैले सरकारको लापरबाही पनाप्रति आक्रोश पोखि रहेका थिए भने कसैले प्रशासनको नियम प्रति आपत्ति जनाई रहेका थिए । कोही त्यही मौकामा औंला ठड्याउदै भाषण  दिई रहेका थिए भने कोही केवल मुख दर्शक पनि बनि मात्र रहेका थिए । मुख दर्शक बनि रहेकाहरु जस्तै मैले पनि आफुलाई अछुतो राख्न सकिन र त्यो वातावरणलाई पच्छ्याउदै म त्याहाँ पुगें । जब म त्यस ठाउँमा पुगें र त्यो दृश्यलाई नजिकैबाट हेर्ने मौका पाएँ त्यसपछि मलाई ती पेंचिला शब्दहरु कता कता आफ्नै छातिमा प्राहर गरे झैं भयो । ती शब्दहरु नजानिदो ढङ्गबाटै किन नहोस् मलाई नै चिच्चाई चिच्चाई सुनाउन खोजे झैं लाग्यो । जब मैले त्यो भिडमा २ जना महिलाहरुलाई आफ्नो मोटरसाईकलमा उभिएर त्यसरी प्रश्न गर्ने ती पुरुषहरुलाई आफ्नो अधिकार र सुरक्षाको ग्यारेण्टी कस्ले लिने भन्दै कराएको देखें त्यसपछि मैले राम्रै अनुमान लगाएँ कि पितृसत्तात्मक सोचाई पहिला पनि बाँचेको थियो र अहिले पनि जिउँदै रहेछ भन्ने । साँच्चै यस्को आयु देखेर डाहा मात्रै हैन डर लाग्यो मलाई । जन्मने प्रत्येक नयाँ युगले यो आयु पाउने हो भने के हुन्छ हामीसंगै नयाँ जन्मने नानीहरुको अवस्था ? यसरी नै बाल मस्तिष्कमा पितृसत्ता हुर्की रहने हो भने के हुन्छ नयाँ जन्म लिने ती बालिकाहरुको अवस्था ?

बुझ्नु पर्ने कुरा हो यो समाजले र सबै नागरिकले कि, क्षमतावान एकाध महिलाहरुले अधिकार पाए भन्दैमा सबै सामान्य महिलाहरु अधिकार सम्पन्न भए भन्ने होईन । सत्तामा एकाध महिला पुगे भन्दैमा सबै महिलाको बर्चस्व सत्तामा रह्यो भन्ने होईन । ती त केवल प्रतिनीधि पात्र मात्र हुन् । उदाहारणका रुपमा लिने व्यक्ति मात्र बनेका हुन् । ती सत्तामा पुगेका केही महिलाहरुलाई देखाउदै सबै महिलाहरु सक्षम र शक्तिशाली हुन्छन् भन्ने सोचाईलाई सिंगो समाज र विषेश गरि पुरुषहरुले जति सक्यो चाँडो आफुबाट हटाएर महिलाहरुलाई सम्मान र उनीहरुसंग सहकार्य गर्नुमा नै असल नागरिकको परिचयबाट चिनिन्छ । हैन भने शनीबारको बिहान बुर्कुसी मार्दै कराउने ती पुरुषहरुको जस्तै सोचाई र मान्यतालाई प्राथमिकता दिने हो भने र त्यस्ता सोचाई जन्माउने पुरुषहरुको जमातलाई केवल मुखदर्शक बनेर हेर्ने मात्र हो भने सकिंदैन यो समाजमा सुरक्षित भएर बाँच्न ।

हामीले सजिलै अनुमान लगाउन सक्छौं कि, शक्तिको नाप तौल गर्ने हो भने प्रकृतिक रुपले महिला पुरुषको तुलनामा कम्जोर हुन्छन् । तर यस्को मतलब यो होईन कि, उनीहरु आत्मबल देखि नै कम्जोर हुन्छन् । पुरुषसंगसंगै रात भरी लाईनमा लागेर पेट्रोल भर्नु महिलका लागि कुनै अप्ठ्यारोको कुरा होईन नत असजिलो नै हो । अप्ठ्यारा र असजिलो तब मात्र समस्या र चुनौतीका कुरा बन्छन् जब उनीहरु रात भरि लाईनमा बसेर पेट्रोल भर्नका लागि घरबाट त्यो लाईन सम्म पुग्न खोज्छन,् त्यतिबेला बाटोमा तीनै पुरुषको आक्रमणबाट आफुलाई सुरक्षित राख्नु पर्ने हुन्छ । सामान्य रुपले जीवन यापन गर्नका लागि जब लडाई अस्मिताको हुन्छ नी तब आउँछ अधिकार र सुरक्षाका कुरा । तब आउँछ आत्मा सम्मान र स्वाभिमानको कुरा । घर भित्रदेखि बाहिर सम्मको जिम्मेवारीको कुरा ।

यो लेखिकालाई थाहा छैन कि, यो लेख ती महोदयले पढ्ने मौका पाउनेछन् या छैनन् । जस्ले सजिलै सामान्य रुपले त्यो शनीबारको बिहान “हामिलाई अर्काे लाईन लाग्न दिनुुस्, बिहान दुई बजेबाट लाईनमा लाग्दा घरमा दुध खाने बच्चाको बिचल्ली भएको छ ।” भन्दै एक जना महिलाले यसरी अनुरोध मात्र गर्दा ती महिलालाई औंला उठाएर आरोप लगाएका थिए । यो लेखिकालाई  साँच्चै  थाहा छैन कि, ती महोदय को थिए र तिनलाई समर्थन गर्ने त्यो जमातले कस्तो समाजको प्रतिनीधित्व गरि रहेको छ भन्ने । तर त्यो भिडले जुन प्रकारले औंला ठड्याउदै प्रश्न गरेर ती महिलालाई होच्याउने प्रयास गर्दै थिए । त्यहाँ निरै ती महिला खुले आम दिनदाहाडै असुरक्षित भैरहेकि थिईन् । उनले चाहेर पनि सकिनन् उनीहरुलाई जवाफ दिन । उनले सकिन त केवल मौन भएर बस्न र सकिन त केवल ३०९ नम्बरको लाईनमा चुपचाप उभिरहन ।
उनको त्यो प्रयास असफल भएपछि उनी जस्तै लाईनमा लाग्ने आठ जना महिलाहरु पनि मुख खुम्चियाउदै निन्याउँरो अनुहार बनाएर बाध्य भए त्यसरी नै लाईनमा लाग्न । कस्ले बुझ्ने घर देखि बाहिर सम्म महिलाले निभाउने जिम्मेवारीको भुमिकालाई ? अनि सुरक्षा, सहयोग र समर्थन कस्ले गर्ने ? आजका नारी पक्कै पनि पहिलाका जस्ता अबला छैनन्  तर उनीहरुलाई अबला बनाउन आज पनि यो समाजमा त्यो पितृसत्तात्मक सोचाई जिउँदै छ । जस्ले एकाध महिलाहरुलाई छुन सकेन तर प्राय महिलाहरुलाई आपमान गर्न पनि बाँकी राखेको छैन त्यसैले यो लेख जस्ले पढ्नु हुनेछ तपाईहरुले पक्कै पनि यी कुराहरुलाई आगामी दिनहरुमा मनन गर्नु हुनेछ । सबै ठाउँमा नारीको सम्मान र नारीलाई समर्थन गर्नु हुनेछ । यो विश्वास हो एउटा लेखिकाको । किनकी म पनि एउटा नारी हुँ ।

Monday, May 18, 2015

छोरा जन्माउनका लागि विबाह, छोरी जन्मिएपछि घरबाट निकाला

“माईतमा सौतेनी आमाको टोकेसो, बाबुले कहिले नी वास्ता गरेनन्, आफन्ति कसैको पनि माया पाईन, बिहे गरेपछि यी सबै कुराबाट मुक्त हुने सोचाईले बिहे गरें । विहे भएको एक वर्षमा नै छोरी जन्मिन् र छोरी पाइस् भनेर मलाई घरबाटै निकालियो ।” उनी हुन बाँके कम्दी ९ छेग्रह्वाका ३३ वर्षीए शोभा श्रेष्ठ । शोभा शारिरीक रुपमा अशक्त महिला पनि हुन् । उनी २ वर्षको हुँदा उनको पुरै अनुहार आगोले जलेको रहेको छ । त्यतिबेला अनुहारको सुन्दरतासंगै उनले एउटा आखाँको ज्योति पनि गुमाउन पुगीन् । सानैबाट घिर्णा र दुव्र्यवाहरलाई सहदै आएकी शोभाले विबाह पछि पनि त्यही कुरालाई सहनु परिरहेको छ । विबाह गरेर सबै दःुखबाट मुक्त हुने सोचाई राखेकी शोभाले आफुलाई झुक्याएर दोश्रो श्रीमती बनाएकोे तब थाहा पाईन् जब विबाह गरेर घरमा गएपछि सौता र २ स–साना छोरीहरुले उनलाई स्वागत गरे । 
उनी माथि आकाश त तब खस्यो जब श्रीमान र सौताले छोरा जन्माउनका लागी उनलाई विबाह गरेको कुरा सुनाईयो । उनी भन्छिन् –“ माईतमा दुःख पाएको थाहा पाएर सुखसंग पाल्छु भनी विबाह गरेका थिए उनले । मेरो अनुहारसंग नभई बानीसंग प्रेम गर्ने बचनबद्ध थिए उनी । यी सबै कुरा झुटा रहेछन् । घरमा ल्याएको एक हप्ता नबित्दा काम गर्न नसककोे देखेर, बसेर खान तँलाई विबाह गरेको हैन । छोरा पाउनलाई गरेको हो । भन्दै मलाई निकै नमज्जा लाग्ने बचनहरु सुनाईन्थ्यो । यस्तो बचन सुन्दा माईतमा सौतेनी आमाको बचन भन्दा यो परिवारले गरेको व्यवहार नै मेरालागी असहैय पिडा बन्यो र यीनीसंग विबाह गरेकोमा धेरै मन दुख्यो ।” शोभाले सानैमा एउटा आँखाको ज्योती गुमाएकीले अर्काे आँखा राम्रोसंग देख्न सक्दिनन् यस अर्थमा उनी शारिरीक रुपमा पनि असक्त छिन् ।

सामान्य रुपमा काम गर्न उनलाई त्यत्ति सहज हुदैन जति एउटा सामान्य मान्छेलाई हुन्छ । उनले काम गर्न सक्दैनिन् भन्ने जान्दा जान्दै पनि उनलाई अप्ठ्यारा कामहरु गर्न लगाईन्थ्यो रे । अनि काम गर्न नसकेपछि अनेक थरी गाली र पिटाईले यातना दिईन्थ्यो रे । शोभा भन्छिन् । “कहिले खेतमा, त कहिले भान्सामा, अनि कहिले कसैको परिम तिर्न, यस्ता काम गर्न अह्रयाईन्थ्यो । मैले गर्न सक्दिन भन्दा मलाई लोग्नेले त पिटथ्यो नै साथमा परिवारका सबैको गाली पनि सुन्नु पथ्र्योे ।” जे जस्तो भए पनि शोभाले विबाहको पवित्र सम्बन्धलाई जोगाउन सबैखाले यातानाहरु सहदै बसेकि थिईन् । विबाह भएको एक वर्ष पछि उनले सुन्दर छोरी जन्माईन । छोरा जन्माउनकालागी विबाह गरिएकी शोभाले छोरी जन्माएपछि उनीमाथि यातनाको क्रम झनै बढ्न थाल्यो ।

उनले छोरी त जन्माईन तर गर्भे मोतीबिन्दु भएको । एक त छोरी जन्मिएकी त्यसैमाथि पनि अपाङ्ग । त्सपछि त के चाहियो र त्यो परिवारलाई अनि लोग्ने लाई पनि । घरमा मिल्न सक्दैने भन्ने बाहाना पारेर उनलाई बाँकेकै पुरैनामा कोठा खोजेर राखियो । जब उनलाई कोठामा राखियो त्यसपछि उनका दुःखका दिनहरु बढ्न शुरु गरे । आफु त आफु साथमा भएको काखे छोरीलाई के खुवाएर पाल्ने भन्ने चिन्ताले साँझ बिहान सताउन थाल्यो उनलाई । खानाको भन्दा पनि ठूलो चिन्ता छोरीको उपचारको भयो उनलाई । भागी विबाह गरेको त्यसमा पनि पहिले देखि नै माईतीसंग राम्रो सम्बन्ध नभएकाले माईतीको सहयोग पनि लिन नसकेको बताउँछिन् शोभा । “मेरो दुःख माईतीलाई भन्ने कुनै आधार नै छैन । जुन भन्ने लोग्नेले नै साथ नदिएर अलपत्र पारेको छ भने अरु त कस्लाई भनुँ र ?” आफुले पाएको सन्तान आफ्नो प्राण भन्दा नी प्यारो हुन्छ । शोभालाई पनि त्यस्तै भएको छ । चाहाना धेरै छ ठूलो र राम्रो अस्पतालमा छोरीको उपचार गराउने । मन भएर के हुन्छ र उनीसंग धन छैन । त्यसैले उनले सबैसंग छोरीको उपचारका  लागि सहयोगको अपिल गरेकी छन् ।

शोभालाई मात्र हैन हाम्रो समाजमा यस्ता महिलालाई बच्चा जन्माउने मेसिनको रुपमा लिने नन्दवीर चलाउने जस्ता पुरुषहरु थुप्रै छन् । जस्लाई चेतनासंगै छोरीको महत्वको बारेमा ज्ञान दिन निकै नै आवश्यक छ । छोरा नै जन्मनु पर्छ भन्ने सोचाईको दोष केवल एउटा पुरुषको दोष होईन यो त सिंगो पितृसत्ताको दोष हो  । जुन पितृसत्तालाई जति सक्दो चाँडो हामिसबैले आ–आफ्नो सोचाई, गराई र समाजबाट नै जरैसंग उखेलेर फाल्न जरुरी छ ।

Tuesday, May 12, 2015

जात, विभेद अनि म

‘छोरी,के थरी ?’ म घर्ती मगर । ‘ए.....मगर पो ?’किन र मामु ?‘मैले त अरु नै जात सोचेकीथिएँ । मगर भएनि राम्री रहिछ्यौ ।’

साँझको खानाखाने समय भयो । असजिलो हुंदै मामुले भन्नु भयो–‘छोरी अँगेनार भित्रबाहीर गर्दा भ¥याङबाट ओर्लिएर जाने बाटो एकै प¥यो त्यसो हुनाले अप्ठेरो नमानी अल्लीयता बस ल !’ भन्दै मलाई भ¥याङ छेउको चकट्टी देखाउनुभयो । केहिनबोली बसें । बसेको ठाउं पछाडीबाट छिप्पेकाबोकाहरु गन्ध छोडीरहेका थिए । 

हामी पाहुनाहरुलाई भनि निकै मेहनतका साथ मरमसलाहाली पकाईएको मासुको बास्ना भन्दा पनि बोकाको गन्ध बढी । खाने समयमा बोकाहरु बड्किम्ला (बोकाको दिशा) झार्थे बररर । थालमा पर्ला कि भन्ने डर । ठाउँ साटेर बसौं कि झैं लाग्यो । आफु संगै आएकि साथीलाई चुल्होको छेउमा बसालियो । 

सोचें अँगेना छेउ ठाउँ हुँदाहँुदै किन मलाई यी बोकाहरुसंग राखेको होला? मनमनै सम्झें ‘यिनका घरका यिनै राजा, मलाई केको कस्कस्? मत आज्ञाको पालनागर्ने पाहुना न परें ।’ संगैंको साथी र मलाई गरीएको व्यवहारले सोच मग्न भएँ । सुर्खेत देखि भक्तपुर सम्मको यात्राको थकानले छोड्यो बरु तर त्यो विभेदले चिन्ताले छाडेन । मस्तिष्क भरि, किन यस्तो विभेद गरिएको भन्ने सोचें । के म मगर र साथी कंडेल (बाहुनं) भएकोले नै यस्तो भेदभाव गरीएको होला?
  
यो अनुभवझण्डै ६ वर्ष पहिलको हो । साथीले काठमाडौं जाँदा मेरो घरमा बसे हुन्छ भनेको थियो । २०६५ सालभदौ महिनामा रेडियोको तालिम परेर ५ दिनकालागि एक जना साथी र म काठमाण्डौ गएको समयमा उसको घर गयौं । त्यतिबेला उ अमेरीका थियो । चार दिनको बसाईमा संयोगले कृष्णजन्माष्टमी पनि त्यहि मनाउनु प¥यो । पूजागर्न चाँगुनारायण मन्दीर गयौं ।

पूजाको थाली र सामाग्री मैले समात्दा छोईन्छ भनेर मामुले साथी र भाउजुलाई सामाग्री समात्न लगाई मलाई आफुसंगै हिंडाउनु भएको थियो । बुझ्दै जाँदा साथीको मामुले मात्र होईन रहेछ, भक्तपरको पिखेल गा.वि.सका प्रायले जातिय छुवाछुतलाई परम्परा नै मान्दा रहेछन् । परम्पराको विपरित गए घरलाई, घरलाई नभए आफन्तलाई अनि ईष्टमित्रलाई र तिनलाई पनिनभए छिमेकीलाई “छेद” लाग्छ भन्ने मान्यता रहेछ । दुर्भाग्यबस् म पनि त्यही मान्यताले गाडेको जरा मुनि गडिन पुगेछु ।

   २०७० साल श्रावण महिनामा एक जना साथीको घर ईलाम गएकि थिएँ । छिट्टै घुलमलि हुने, व्यवहारिक र बोल्ने स्वाभावको कारण बिरानो ठाउँमा पनि चिनेजाने झैंगरि सबैसंग घनिष्टता कायम गर्न सक्ने बानीभ एकाले त्यति अफ्ठेरो भोग्नु पर्दैन मलाई । त्यहाँपनि सबैको मन जीतें । त्यस घरको रुद्री पूजामा आउने जाने सबैको माया पाएँ । हामि पश्चिमेलीहरुमा पुर्वेलिहरु प्रति अनेक सोंच र भ्रमहरु हुन्छन् । सायद हामीप्रति पुर्वेलिहरुका पनि हुँदाहुन । तर मैले सोंचे भन्दा सहज र सरल पाएँ त्यो परिवार र समाज । खुसी भएँ मनमनै ।

नेपालगञ्जफर्कदै गर्दा साथीले उसको परिवारको म प्रतिको धारणलाई यसरी सुनायो–‘तिम्लाई थाहा छ रुपी? तिम्रो सबैसंग मिजासिलो भएर बोल्ने बानी र सहयोगी व्यबहार देखेर आमाले मलाई माथि कोठामा बोलाई केटी चाही हामीलाई मन प¥यो यत्तिको गुण र खुबि भएकी केटीले परिवारलाई खुशी राख्न सक्छे । बरु के थरी हो ? भनी सोध्नु भाको थियो, मैले मगर भने पछि लु भयो नी त कुरै सकियो नी भनीउहाँहरु त उठेर हिंडिदिनु भो ।’ उसको कुराले ०६५ को भक्तपुरको घटनालाई सम्झें । मलाई ती आमाले बुहारी बनाए हुन्थ्यो भन्ने चाहाना एक रत्तिपनि थिएन । न त म त्यो समाजको बुहारी बन्ने वाली थिएँ । 

मेरो चाहाना भनु या अपेक्षा केवल यत्तिमात्र थियो कि, म पुर्व जस्तो विकसित ठाउँमा जाँदा आफ्नो पहिचानलाई गर्वका साथ मगर भनेर चिनाउदा कुनै पनि किसिमको छुवाछुत व्यहोर्नु पर्दैन या नपरोस् । बुवावरिष्ठ अधिवक्ता, आमा सरकारी शिक्षिका । त्यस्तो परिवारमा त म जस्तो व्यक्तिलाई जातिय विभेदको कारण यत्रो अपमान हुन्छ भने अरुलाई झनकुन रुपमा हुन्छ होला? आखिर कहिले सम्म मान्छेले मान्छेलाई जात, धर्म, रितीरिवाज, संस्कृति, वंश, समुदाय र पेशाकानाममासार्वजनिक र नीजी स्थानहरुमा यस्ता जातीय छुवाछुतको आडमा बिभेद गरि रहने ? कहिले सम्म मान्छे मान्छेको बसाईलाई घर र गोठको जस्तो बनाएर बीचमा जातीय छुवाछुतको पर्खाल लगाई रहने हो ?

  पत्रकारीताको दौरानमा क्षमता विकास, रिपोर्टीङ या व्यक्तिगत घुमघामको शिलशिलामा नेपालको धेरै ठाउं पुग्ने अवसर मिल्यो । जातीय छुवाछुतका कारण विभेदीकरणको शिकार बन्न बाध्य भएर शारिरीक तथा मानसिक रुपमा पीडित भएका घटनाहरु देखें र सुने पनि । तर आफु नै छुवाछुतको शिकार बन्नु प¥यो भने मात्र वास्तविक अनुभुति हँुदो रहेछ । अनि मात्र थाहा हुन्छ, पीडाको गहिराई । नेपाली समाजमा झट्ट हेर्दा दलित र गैरदलितको विचमा मात्र जातिय भेदभाव देखिन्छ । समाजलाई केलाएर हेर्ने हो भने हरेक जातिभित्र भेदभाव छ । बाहुनमा पनि विभिन्न तहहरु छन् । क्षेत्रीमा पनि को असली क्षेत्रि (काजि) हो भन्ने विवादहरु भईरहेका हुन्छन् । जनजातिहरुमा पनि सानो र ठुलो जात छ । 

सबै भन्दा बढी त दलित समुदायभित्रै जातहरुको तह छ । यसले के देखाउंछ भने हाम्रो समाजमा जातिय रुपमा विभिन्न पर्खालहरु छन् । जसलाई संस्कार, दम्भ, घमण्ड र संकोचले जोगाई राखेको छ । परम्पराले जोगाई राखेको जातिय दुरी क्रमश घटीरहेको छ । सरकारी र गैरसरकारी पहलहरु भइरहेका पनि छन् । तर सम्पन्न, ठुला जात र शिक्षित भनाउंदाहरुको सोचमा परिवर्तन नभएसम्म हामि जस्ताले पीडा भोगीरहनु पर्छ । झन पानी नचल्ने भनिएका समुदायका व्यक्तिहरुको के हालत होला?
  
जहाँ निरक्षरहरु छन्, जहाँ गरिवि छ, जहाँ सभ्यताको चेतना छैन, तिनिहरुलाई जातिय विभेदको सवाल फिक्का हुनसक्छ । हाम्रो छुवाछुत विरुद्धको अभियान गाउँ घरका बस्तिहरुमा, अनी हिमाल पहाडका पाखापखेरा र कुनाकन्दराहरुमा छुवाछुत भनेको विभेद होे भनिरहेको छ । र उनीहरुलाई नै सम्झाउदै हिंडिरहेका छौं, जो परम्पराको नाममा जातियविभेद कायम राख्नु पर्छ भन्ने तहको चेतनामा छन् । शहरका ठूलाठूला महलहरुमा बस्ने, सम्पन्नशाली र विलासी जीवन बिताउने, शिक्षित र नीतिनिर्माणको तहमा रहेकाहरुको घैंटोमा घाम लाउने खालको अभियान त सुरु गरिएकै छैन । सरकारले जातिय भेदभावतथा छुवाछुत (कसुर तथा सजाय ऐन २०६८)पनिल्याएको छ ।तर यसको कार्यान्वयनपक्षनिकै फितलो छ । 

  पीडितहरुलाई लाग्छ, सबैभन्दा पीडित म छु । तर आफुले अरु जातिहरुलाई पीडा दिने काममा सहयोग गरिरहेको छु कि छैन भन्ने तर्फ पनि सोच्न जरुरी छ । जसलाई पीडाको अनुभुति छ वास्तवमा ति व्यक्ति र समुदाय जाग्ने बेला हो यो । छुवाछुतलाई अन्त्य गर्ने अभियान सबै ठाउँमा आवश्यक होला तर त्यहाँ अझ जरुरी छ जहाँ निरक्षर हैन साक्षरहरुको बाहुल्यता छ, जाहाँ गरिबका झुपडी हैन सम्पन्न र विलासी जीवन बिताउनेहरुको संख्या धेरै छ, छुवाछुतको विषयमा भाषण सुन्नेहरुको जमात होईन गर्नेहरुको होडबाजी छ । जसले चिन्तन र व्यवहारमा परिवर्तन ल्याओस ।