Sunday, October 18, 2015

नम्बर ३०८ संग सम्बन्ध सुरक्षाको


                                                      

रुपनी जि.एम        
०७२÷०६÷३०
नेपालगञ्ज बाँके

शनिबारको दिन थियो समय बिहानको सवा आठ बजेको हुँदो हो । म त्यतिबेला नेपालगञ्जको वि.पी चोक स्थित मयङक पेट्रोल पम्पमा थिएँ । बेलुका समाचारका लागि जनआवाज संकलन गर्न म त्याहाँ गएकी थिएँ । त्याहाँबाट उत्तरतिर फर्किएर हेर्दा झण्डै तीन साढे तीन सय मिटरको लाईनमा पेट्रोल भर्नेहरुको लस्कर देखियो । त्यो लस्करमा मैले मोटरसाईकल, स्कुटी र कारको संख्या ठ्यक्कै यति भन्ने हिसाब निकाल्न सकिन । पालो आएकाहरुले भरेर जाँदै गर्दा भएको खाली ठाउँमा कछुवाको चालमा बिस्तारै सबैले आ–आफ्नो सवारी साधनलाई घिर्सादै अघि बढाउने धाउन्नमा थिए । त्यो दृश्य देखि रहंदा मैले भने कोबाट जनआवाज लिन शुरु गरुँ भन्ने सोचाईमा एक प्रकारको योजना बनाई रहेकी थिएँ । त्यत्तिकैमा एक्कासी एउटा भिडबाट चर्काे स्वरमा आवाज सुनियो–“तपाइँहरु कुन मुखले आफ्नो अधिकार र सुरक्षाको कुरा गर्नु हुन्छ ? तपाइँ जस्तै महिला हिजो मात्रै देशको सभामुख हुनु भएको छ । यो कुरा थाहा छ छैन ? अब त यो देशको राष्ट्रपति र उपराष्ट्रपति पनि महिला नै हुने होला । देश हाँक्ने महिलाहरु एका तिर छन् भने याहाँ तपाइँहरु जाबो लाईन लागेर तेल भर्न सक्नु हुन्न ?” ती ब्यक्ति को थिए म जाँन्दिनथें र मलाई तिनको परिचय पनि त्यति आवश्यक परेन । तर तिनले प्रयोग गरेका शब्द भने निकै पेंचिला थिए ।

त्याहाँ उनी मात्र थिएनन् यस्ता पेंचिला शब्दहरु प्रयोग गर्दै आबेशमा आफुहरुलाई प्रस्तुत गर्नेहरु । उनी जस्तै थुपै्र त्यस्ता ब्यक्तिहरु थिए जस्ले पालो कुरेर बसेका सबैलाई एकिकृत गर्दै एउटा झगडालुको जमात नै बनाईसकेका थिए । कसैले सरकारको लापरबाही पनाप्रति आक्रोश पोखि रहेका थिए भने कसैले प्रशासनको नियम प्रति आपत्ति जनाई रहेका थिए । कोही त्यही मौकामा औंला ठड्याउदै भाषण  दिई रहेका थिए भने कोही केवल मुख दर्शक पनि बनि मात्र रहेका थिए । मुख दर्शक बनि रहेकाहरु जस्तै मैले पनि आफुलाई अछुतो राख्न सकिन र त्यो वातावरणलाई पच्छ्याउदै म त्याहाँ पुगें । जब म त्यस ठाउँमा पुगें र त्यो दृश्यलाई नजिकैबाट हेर्ने मौका पाएँ त्यसपछि मलाई ती पेंचिला शब्दहरु कता कता आफ्नै छातिमा प्राहर गरे झैं भयो । ती शब्दहरु नजानिदो ढङ्गबाटै किन नहोस् मलाई नै चिच्चाई चिच्चाई सुनाउन खोजे झैं लाग्यो । जब मैले त्यो भिडमा २ जना महिलाहरुलाई आफ्नो मोटरसाईकलमा उभिएर त्यसरी प्रश्न गर्ने ती पुरुषहरुलाई आफ्नो अधिकार र सुरक्षाको ग्यारेण्टी कस्ले लिने भन्दै कराएको देखें त्यसपछि मैले राम्रै अनुमान लगाएँ कि पितृसत्तात्मक सोचाई पहिला पनि बाँचेको थियो र अहिले पनि जिउँदै रहेछ भन्ने । साँच्चै यस्को आयु देखेर डाहा मात्रै हैन डर लाग्यो मलाई । जन्मने प्रत्येक नयाँ युगले यो आयु पाउने हो भने के हुन्छ हामीसंगै नयाँ जन्मने नानीहरुको अवस्था ? यसरी नै बाल मस्तिष्कमा पितृसत्ता हुर्की रहने हो भने के हुन्छ नयाँ जन्म लिने ती बालिकाहरुको अवस्था ?

बुझ्नु पर्ने कुरा हो यो समाजले र सबै नागरिकले कि, क्षमतावान एकाध महिलाहरुले अधिकार पाए भन्दैमा सबै सामान्य महिलाहरु अधिकार सम्पन्न भए भन्ने होईन । सत्तामा एकाध महिला पुगे भन्दैमा सबै महिलाको बर्चस्व सत्तामा रह्यो भन्ने होईन । ती त केवल प्रतिनीधि पात्र मात्र हुन् । उदाहारणका रुपमा लिने व्यक्ति मात्र बनेका हुन् । ती सत्तामा पुगेका केही महिलाहरुलाई देखाउदै सबै महिलाहरु सक्षम र शक्तिशाली हुन्छन् भन्ने सोचाईलाई सिंगो समाज र विषेश गरि पुरुषहरुले जति सक्यो चाँडो आफुबाट हटाएर महिलाहरुलाई सम्मान र उनीहरुसंग सहकार्य गर्नुमा नै असल नागरिकको परिचयबाट चिनिन्छ । हैन भने शनीबारको बिहान बुर्कुसी मार्दै कराउने ती पुरुषहरुको जस्तै सोचाई र मान्यतालाई प्राथमिकता दिने हो भने र त्यस्ता सोचाई जन्माउने पुरुषहरुको जमातलाई केवल मुखदर्शक बनेर हेर्ने मात्र हो भने सकिंदैन यो समाजमा सुरक्षित भएर बाँच्न ।

हामीले सजिलै अनुमान लगाउन सक्छौं कि, शक्तिको नाप तौल गर्ने हो भने प्रकृतिक रुपले महिला पुरुषको तुलनामा कम्जोर हुन्छन् । तर यस्को मतलब यो होईन कि, उनीहरु आत्मबल देखि नै कम्जोर हुन्छन् । पुरुषसंगसंगै रात भरी लाईनमा लागेर पेट्रोल भर्नु महिलका लागि कुनै अप्ठ्यारोको कुरा होईन नत असजिलो नै हो । अप्ठ्यारा र असजिलो तब मात्र समस्या र चुनौतीका कुरा बन्छन् जब उनीहरु रात भरि लाईनमा बसेर पेट्रोल भर्नका लागि घरबाट त्यो लाईन सम्म पुग्न खोज्छन,् त्यतिबेला बाटोमा तीनै पुरुषको आक्रमणबाट आफुलाई सुरक्षित राख्नु पर्ने हुन्छ । सामान्य रुपले जीवन यापन गर्नका लागि जब लडाई अस्मिताको हुन्छ नी तब आउँछ अधिकार र सुरक्षाका कुरा । तब आउँछ आत्मा सम्मान र स्वाभिमानको कुरा । घर भित्रदेखि बाहिर सम्मको जिम्मेवारीको कुरा ।

यो लेखिकालाई थाहा छैन कि, यो लेख ती महोदयले पढ्ने मौका पाउनेछन् या छैनन् । जस्ले सजिलै सामान्य रुपले त्यो शनीबारको बिहान “हामिलाई अर्काे लाईन लाग्न दिनुुस्, बिहान दुई बजेबाट लाईनमा लाग्दा घरमा दुध खाने बच्चाको बिचल्ली भएको छ ।” भन्दै एक जना महिलाले यसरी अनुरोध मात्र गर्दा ती महिलालाई औंला उठाएर आरोप लगाएका थिए । यो लेखिकालाई  साँच्चै  थाहा छैन कि, ती महोदय को थिए र तिनलाई समर्थन गर्ने त्यो जमातले कस्तो समाजको प्रतिनीधित्व गरि रहेको छ भन्ने । तर त्यो भिडले जुन प्रकारले औंला ठड्याउदै प्रश्न गरेर ती महिलालाई होच्याउने प्रयास गर्दै थिए । त्यहाँ निरै ती महिला खुले आम दिनदाहाडै असुरक्षित भैरहेकि थिईन् । उनले चाहेर पनि सकिनन् उनीहरुलाई जवाफ दिन । उनले सकिन त केवल मौन भएर बस्न र सकिन त केवल ३०९ नम्बरको लाईनमा चुपचाप उभिरहन ।
उनको त्यो प्रयास असफल भएपछि उनी जस्तै लाईनमा लाग्ने आठ जना महिलाहरु पनि मुख खुम्चियाउदै निन्याउँरो अनुहार बनाएर बाध्य भए त्यसरी नै लाईनमा लाग्न । कस्ले बुझ्ने घर देखि बाहिर सम्म महिलाले निभाउने जिम्मेवारीको भुमिकालाई ? अनि सुरक्षा, सहयोग र समर्थन कस्ले गर्ने ? आजका नारी पक्कै पनि पहिलाका जस्ता अबला छैनन्  तर उनीहरुलाई अबला बनाउन आज पनि यो समाजमा त्यो पितृसत्तात्मक सोचाई जिउँदै छ । जस्ले एकाध महिलाहरुलाई छुन सकेन तर प्राय महिलाहरुलाई आपमान गर्न पनि बाँकी राखेको छैन त्यसैले यो लेख जस्ले पढ्नु हुनेछ तपाईहरुले पक्कै पनि यी कुराहरुलाई आगामी दिनहरुमा मनन गर्नु हुनेछ । सबै ठाउँमा नारीको सम्मान र नारीलाई समर्थन गर्नु हुनेछ । यो विश्वास हो एउटा लेखिकाको । किनकी म पनि एउटा नारी हुँ ।