Friday, March 2, 2018

गुलाबको फूल, बामदेवको छाती र तुलसीको शिर

 ललितपुर १८ फाल्गुन । ललितपुरको भैसीपाटी । दिन बिहीबारको । समय बिहानको ११ बजे । वातावरण आफ्ना प्रिय नेतासँग होली मनाउन उपस्थित सयौं नेता तथा कार्यकर्ताको कोलाहलमा रमाईलो थियो ।

उत्तिकै संख्यामा उपस्थित पत्रकार र सुरक्षाकर्मीहरु पनि । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतम र उनकी जीवनसंगीनी तुलसीको आगमन भयो । हातमा गुलावको फूल । रंग दल्ने दिनमा गुलाबको फूल बोकेर आउँदा अच्चम लाग्नु स्वभाविकै थियो ।

आफ्ना शुभचिन्तकका सामुन्ने रहेकी तुलसीलाई हेर्दै गौतमले भूइँमा घुँडा टेक्दै दुई हातले गुलाबको फूल श्रीमतीतिर तेस्र्याएर,“ह्याप्पी बर्थ डे माई डियर तुल्सी ।” भन्दै बामदेवले श्रीमतीलाई जन्मदिनको शुभकामना दिईरहंदा माहोल एकाएक शान्त भयो । जन्मदिनमा सयौं शुभचिन्तकका सामुन्ने श्रीमानबाट यो पनि गुलाबको फूल पाएकी तुलसी लाजले धपक्कै फुलिन् ।

मन भित्रको खुशी उनले लुकाउन सकिनन् । गौतमको छातीमा लाजले डल्लो पर्दै उनी टाँसिन पुगिन् । त्यो दृष्य हेर्दा हुनै फिल्मको ‘क्लाइमेक्स’ भन्दा कम थिएन् । आगन्तुकहरु गौतम जोडीको प्रेमको बयान गरिरहेका थिए । “माया र प्रेमलाई उमेर र समयले छेक्दैन, भन्थे हो रहेछ ।” उपस्थितहरु यसै भन्दै ताली पिटेर बामदेवको प्रेममा सहमति जनाईरहे ।  

श्रीमती प्रतिको बामदेवको त्यस प्रकारको प्रेमलाई सजिलै अनुमान गर्न सकिन्थ्यो कि उनले श्रीमतीलाई कति माया गर्दा रहेछन् भन्ने । जीवनको उतार चढावहरु पार गर्दै यो उमेरमा आईसक्दा पनि उनको श्रीमतीलाई खुशी बनाउने तरिका हेर्दा लाग्दथ्यो यो जोडिको बिबाह पश्चातको पहिलो जन्मदिन थियो ।

होलीकै दिन जन्मदिन परेकी श्रीमतीलाई गुलाबको फूलका गुच्छा दिंदै जन्मदिनको शुभकामना दिंदा श्रीमती तुल्सि गौतमको छातिमा शिर झुकाउँदै लजाएको देख्दा हामी देख्नेहरु नै भुतुक्कै भयौं । श्रीमती लजाएको महसुस गरि गौतमले पनि तुलसीलाई अंगालोमा बेरेर मायाको पछेउराले छोपिहाले । त्यो नजाकत कुनै सिनेमामा हिरोको सामु हिरोईन लजाएको भन्दा कमको थिएन । प्रेम होस् त यस्तो । जस्को बयानमा शब्दहरु पनि लजाऊन् ।

सबैले आफ्नो श्रीमतीलाई माया गर्छु नै भन्छन् । तर माया गर्छु भन्नु र गरेर देखाउनुमा धेरै अन्तर छ । जीवन भरि नै साथ दिने बाचा र अनेकौं खाले प्रतिबद्धताहरुको बन्धनले जोडेर राख्दछ बिबाह बन्धनमा बाँधिने सबै जोडीलाई । बिबाह बन्धनमा बाँधिदाको समयमा गरिने सबै बाचा र प्रतिबद्धताहरु गर्न जति सजिलो छ उति नै जीवनभरि निभाएर असल जोडी सातिब हुन साह«ै गाह«्रो छ ।

बिबाहमा गरिने बाचा निभाउँदै आफ्नी जीवन साथीलाई जीवनभरि नै खुशी बनाउन सक्ने जो कोही श्रीमानको बसको कुरा होईन । त्यसमा पनि नेताहरुकालागि त झनै असहज हो यो विषय । तर एमाले वरिष्ठ उपाध्यक्ष बामदेव गौतमले आज सम्म आफ्नी जीवन साथीलाई उत्तिकै प्रेम, साथ, समर्थन र सम्मान दिन सफल रहेछन् भन्ने कुरा होलीको दिनमा जन्मदिनको शुभकामना दिंदै गर्दा सजिलै बुझिएको थियो ।


प्रेम होस् त यस्तो जस्ले देश, जनता र सिंगो राष्ट्रकालागि प्रत्येक पल समर्पण गरेतापनि घर, बालबच्चा र परिवार हेरिदिएर एउटा कुशल नेता बन्नमा सघाएको महसुस गर्दै श्रीमती तुलसीलाई दिएको सम्मान र उनको खुशीको ख्याल राखेको त्यो नजारा नै बडो लोभ लाग्दो थियो ।

जीवनका आरोह अवरोहमा कुनै पनि पल श्रीमती तुलसीलाई समय दिन रत्तिभर पनि पछि नपरेका गौतम वास्तवमै कुशल नेताका साथै कुशल श्रीमान पनि रहेछन् भन्ने कुरालाई हामी देख्नेहरुले सजिलै अनुमान गर्न सकिएको थियो ।
प्रेमको अन्त्य कहिल्यै पनि हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण हो गौतम र उनकी श्रीमती तुलसीको प्रेम । यो जोडीको प्रेम प्रस्फुटन हुँदाको प्रत्यक्ष दृश्य देखेपछि यो पंतिकारलाई लेख्नै मन लाग्यो वास्तव मै प्रेम गर्नेले ईच्छा र चाहानालाई बुझ्दै समय, परिस्थिति र वातावरण अनुसार आफ्नो प्रेम देखाउनै पर्ने रहेछ । जुन कुरालाई एमाले उपाध्यक्ष गौतमले राम्रै जानेका रहेछन् ।

जब गौतमले सबै सामु घुँडा टेक्दै श्रीमती तुलसीलाई गुलाबको फूल दिएर जन्मदिनको शुभकामना दिए तब हामी दर्शक बनेकाहरुकालागि नसोंचेकै सुन्दर पल बन्यो त्यो । जब गौतमले श्रीमती तुलसीलाई फूल दिएर जन्मदिनको शुभकामना दिए त्यो केवल शुभकामना थिएन । त्यसमा श्रीमतीप्रतिको उनको प्रेमको गहिराई थियो ।

बाहीरी रुपमा बामदेवलाई मिडिया र उनकै समकक्षी अनी कार्यकर्ताले जे जस्तो उपनामले चिन्ने गरेतापनि वास्तवमै बामदेवको त्यो छवी रहेनछ भन्ने कुराको पुष्टि उनले आफ्नो आँगनमा गएका शुभचिन्तलाई गरेको सौहार्दपुर्ण व्यवहार र श्रीमतीलाई देखाएको प्रेमले नै प्रष्ट पारेको छ ।

गौतमको श्रीमतीप्रतिको प्रेम देखेपछि यो पंतिकारलाई भन्ने मन लाग्यो श्रीमतीलाई गौतमले गर्ने प्रेम नै हो जस्को कारण आजसम्म उनी बाहीरी सम्बन्धबाट जोगिएको ।

राजनीतिमा विशेषगरि हामीले सुनेको र कतिको त देख्नपनि पाइएको छ चरित्र बिग्रिएको नेताको कथा ।  तर बामदेवको भने यस्ता कुरामा कसैसंग कुनै प्रकारको तालुक छैन । त्यसैले उनी एउटा कुशल नेता हुनुकासाथै उनी कुशल र प्रिय श्रीमान पनि हुन् ।