Monday, February 26, 2018

म, सडक, अनि मेरो जिन्दगी

 रुपनी जि.एम
बर्दिया ३१ असोज ।
“बिहान् अरु घरमा बसेर चिया पिउँछन्, म भने बिहानै ८ बजे सडक छेउमा घाँस काट्न जानु पर्ने हुन्छ । एउटा हातमा हँसिया अर्को हातमा लठ्ठी बोकेर म हरेक बिहान सडक छेउँ पुगेकै हुन्छु ।” यो भनाई हो, बाँके बैजनाथ गाउँपालिका वडा नं. ६ का ज्ञान बहादुर खत्रीको ।

५७ वर्षीय ज्ञान बहादुर खत्री सोमबार बिहानै महेन्द्र राजमार्गको सडक छेउमा भेटिए । असोजको महिना मौसम अनुसार जाडो शुरु हुनु पर्ने हो । तर यो समय यतिबेला तराईमा जेठ बैशाषको जस्तो टन्टलापुर घाम र गर्मी उत्तिकै छ । त्यति पारिलो बिहानको निकै नै चर्किएको घामसंगै पसिना चुहाउँदै सडको एक छेउँतिर घाँस काट्दै गरको अवस्थामा मैले ज्ञान बहादुरलाई भेटें । 

बिहानको यस्तै साढे ८ बजेको हुँदो हो । मैले उनलाई आफ्नै सुरमा घाँस काट्दै गरेको अवस्थामा बाँसगढी नजिकै सडक छेउमा भेटें । देब्रे हातले लठ्ठीको साहारा लिदैं दाहीने हातले हँसिया समातेर सडक छेउमा पलाएका घाँस काट्दै थिए ज्ञान बहादुर । 

उमेरले झण्डै ६ दशक लाग्नै लागेका ज्ञान बहादुरमा उही जोश उही काम गर्ने जाँगर । मानौं उनीमा ५७ वर्षको नभई एउटा युवामा हुनु पर्ने जोंश र जाँगर छ । झट्ट हेर्दा फुर्तिला र स्वथ्य देखिने ज्ञान बहादुर नजिकै गएर कुरा गरेपछि थाहा भयो कि उनी हेर्दा जस्तो फुर्तिला र स्वथ्य रहेनछन् । 

नजिकै गएर कुरा गर्दा थाहा भयो कि उनको घाँटिदेखिको माथिको भाग निरन्तर हल्लि रहँदो रहेछ । जस्लाई मेडिकलको भाषामा न्युरोजेनिक अर्थात बे्रन सम्बन्धि समस्याका कारण उत्पन्न हुने रोग “टिक्स” भनिन्छ । उक्त रोगकोलागि सामान्य एक्सरे वा एमआरआई गर्दा पनि लगभग २० हजार जति खर्च हुने मनमोहन मेमोरियका डक्टर धर्मदत्त सुबेदी बताउँछन् ।

झण्डै २२ वर्षदेखि न्युरोजेनिक समस्याले ग्रसित ज्ञान बहादुर सामान्य एमआरआई गराउन त सकिरहेका छैनन् भने अप्रेसनको विषय त उनकोलागि आकाशको फल आखाँतरि मर भने झैं भाको छ । आर्थिक स्थिति कम्जोर भएकै कारण दैनिकी मात्रामा खानु पर्ने औषधि पनि उनले खान सकिरहेका छैनन् ।

घामपानी नभनि सडक छेउमै घाँस काटेर ज्ञान बहादुरले महिनाको १६ हजार कमाउने रहेछन् । त्यही कमाईबाट उनले आफुसंगै ६ जनाको परिवार पाल्नु परि रहेको छ । यस्तो अवस्थामा उनले कसरी आफ्नो स्वास्थ्य उपचार गर्न सक्थे र ? उनी भन्छन्,“परिवारमा कसैको मुख सानो छैन । सबैको खाने मुख ठुलो छ । १६ हजारले के नै हुन्छ र ? खान त जासो तसो पुगेकै छ । खाएर मात्रै नहुने । खाना भन्दा अरु कुरामा बेसी खर्च हुने   अवस्थामा मैले आफ्नो उपचारकालागि कसरी त्यतिका रकम जुटाउ सक्छु र ?” उनले पिडालाई पनि हाँसेरै अभिव्यक्त गरे ।

सडक डिभिजन कार्यालय नेपालगञ्जले राजमार्ग, साहायक राजमार्ग र पुलगरि ३ स्थानकालागि ९० जनाको संख्यामा मेक ओर्कर खटाएको छ । तीनै मध्यका एक हुन् ज्ञान बहादुर पनि । कार्यालय प्रमुख अरुण बमका अनुसार डिभिजन कार्यालय नेपालगञ्जले बाँके र बर्दिया गरि २ जिल्लामा मेक ओर्कर खटाएको छ । मेक वर्करले सुपरभाईजरको अन्डरमा रही काम गर्नु पर्ने हुन्छ ।

डिभिजन कार्यालय नेपालगञ्जको मतहतमा रही मेक ओर्करहरुले काररमा काम गरिरहेको प्रमुख बम बताउँछन् । मेक वर्करलाई थाई गर्ने विषयमा कार्यालय प्रमुख बम भन्छन्,“नियमावली अनुसार उनीहरुले करारमा काम गर्ने हो । र त्यही नियमावली अनुसार नै उनीहरु शारीरिक रुपमा अशक्त भएको खण्डमा उनीहरुले आफ्नो ठाउँमा परिवारका कुनै पनि सदस्दलाई राख्न पाउने व्यवस्था छ । तर थाईको व्यवस्था छैन ।”

सडक छेउको काम र पुलको काम भएको हुनाले शारीरिक रुपमा नै बलियो र फुर्तिलो  हुनु पर्ने हो तर ज्ञान बहादुर दुवै कुराले अशक्त छन् र पनि उनले काम गरिरहेका छन् । भन्छन्,“उमेर भएका छोराहरु यस्तो कम गर्न मान्दैनन् । सरकारले छोराहरुले चाहे जस्तो कामको व्यवस्था गर्न सक्दैन । छोराहरुले पनि नगर्ने र मैले पनि नगर्ने हो भने के खाएर बाँच्ने ? त्यसैले यो काम गर्नु मेरो बाध्यता नै हो ।”

काम सानो र ठुलो हुँदैन । काम काम नै हो । तर कामको ज्याला काम अनुसारको हुनु पर्छ । काम अनुसारको ज्याला भएन भने काम सानो र ठुलो भन्ने प्रकृतिमा बाँडिन जान्छ । जस्ले ज्ञान बहादुरले भने झैं युवाहरुकोलागि त्यही काम शान भन्दा अपमान भएको हुन जान्छ । नेपाल सरकारले यस्ता विषयमा ध्यान दिनु पर्छ ।


1 comment: