Monday, February 26, 2018

त्यो रात र मेरो निदरी

रुपनी जि.एम
काठमाण्डौ १४ फाल्गुन ।
एक दिन म असनको बाटो हिंडदै थिएँ, मेरो साथी रामेश्वर बाटैमा भेटियो । भेट हुन नपाउँदै उस्ले मलाई हप्काएरै भन्यो–“तँलाई अलिकति पनि लाज छैन है ? अरु केही काम पाईनस् तैंले ? आफ्नो बारेमा नभएनी कमसेकम अरुको बारेमा त सोंच, जोसंग तेरो ईज्जत गाँसिएको छ । तँ जस्तो मान्छे यसरी बिग्रीएलास भन्ने लागेको थिएन मलाई बुझिस् ? लाज लाग्न थालेको छ तँलाई साथी भन्न पनि ।”

म छक्क परें । मैले उस्लाई केही सोध्न नपाउँदै मलाई धकेल्दै ऊ आफ्नो बाटो लाग्यो । उस्को भनाईको तात्पर्यलाई मैले बुझि सकेको थिएँ । तर जवाफ फर्काउन उचित देखिन र आफ्नै बाटो लागें । लाजिम्पाटमा मेरो त हैन मेरो बुवाले बनाउनु भएको घर छ ।

त्यो घर नजिकै पुग्दै थिएँ फेरी त्याँ नि त्यो रामेश्वरले झंै गरि एकजना छिमेकी अन्टिले पनि गालि गरि हालिन् । मन मनैै आज मैले गालि खाने दिन रहेछ कि क्या हो भन्ने लाग्यो त्यो भन्दा बढि केही पनि सोचिन र त्यो आन्टिसंग केही प्रतिबाद नगरिकनै घर भित्र पसें । बाहीरी वातावरण भन्दा घर भित्रको वातावरण शान्त थियो ।

भोलि पल्टको बिहान सधैं झैं म ठाँटिएर निस्कनै लाग्दा पल्लो कोठाबाट बुवाको चर्काे आवाज सुनियो–“सुभद्रा, घरको भुस्याहा कुकुर गल्लिको गन्धकि सुंग्घनलाई निस्कन लागेको छ सोध भरे कतिखेर घर आईपुग्छस् भनेर । पक्वान त चाहिएला नि कुकुरलाई ?” बुवाले त्यसो भनि रहँदा भान्सामा उभि रहेकी आमालाई पुलुक्क हेरें । उहाँ एक शब्द नबोलि म तिर हेर्दै आखाँबाट आँशु झार्दै हुनु हुन्थ्यो । म भने उहाँहरुलाई केही नभनि आफ्नो दैनिकी काम तिर लागे ।

त्यति बिहानै मेरो काम न कुनै अफिसको हुन्थ्यो नत आफ्नै केही बिज्नेसको नै । हुन्थ्यो त केवल उनको मनलाई बुझ्ने । हुन्थ्यो त केवल उनीसंगै घण्टौं समय बिताउने । अनि हुन्थ्यो त केवल उनको निस्छल र निस्कलङ्क विचारहरु सुन्ने । उनी साधारण तर निकै नै विशिष्ट विचारधाराकी थिईन् । उनलाई सबैले हिलो भन्दथे तर उनी हिलो हैन हिलो बीचमा फुल्ने कमल थिईन् । उनलाई नबुझ्नु यो समाजको दोष हो भन्छु म ।

हुन त यो व्यस्तताको समयमा कसैलाई बुझि हिंड्नै पर्छ भन्ने के नै छ र ? सायद कारण त्यो पनि हुन सक्छ । बुझ्ने चटारो भन्दा नबुझेरै प्वाक्क बोलिदिन सजिलो हुने मान्छेलाई । उनलाई पनि तिनै बोलिका झटाराहरु धेरै लागे । र पनि उनी मुस्कुराउन कहिल्यै छाडिनन् ।  

अनेकौं पिडा र बेदनाले भित्रैबाट जेलिएर पनि उनको मन्द मुस्कानसंगै फक्रिने हाँसो देख्दा लाग्दथ्यो उनी निकै नै स्वतन्त्र हुनु पर्छ । सुन्दरताको बयान गर्दा शब्दहरुको नै कमि हुने उनको रुप, माधुर्यताको लहरले भिजेको उनको स्वर मानौं कि कुनै बिरामीसंग बोलिन भने ऊ नीको हुनेछ ।

हिंडदै गर्दा बाटोमा भेटिने हरेक दुखीहरुलाई देखेर प्रार्थना गर्ने उनको हृदय जो स्वयम एउटा दुखि रहेको छ । जस्लाई आफ्नो भन्दा अरुको नै चिन्ताले रोगी बनाई रहेको छ । उनी हुन सामरागी राज्यलक्ष्मि शाहा । जस्लाई म स्मारीका भन्न रुचाउँछु ।

कालिकोटकी स्मारीकाले सोही ठाउँकै दिपेन्द्र बसेल संग वि.सं. २०६८ सालमा भागि विबाह गरिन् । दलितसंग आफु खुशी विबाह गरेको भन्दै उनीसंग परिवारले सबै सम्बन्ध तोडे दिए । परिवार मात्र हैन पुरै गाउँले नै उनीहरुलाई बस्ने वातावारण असहज बनाएपछि उनी श्रीमान दिपेन्द्रसंग जीवनको नयाँ शुरुवात गर्नको लागी काठमाण्डौ आएकी रहीछन् ।

कस्लाई थाहा नहोला र याहाँको जीवनशैली कति सहज र कति असहज भन्ने कुरा ? उनीहरुलाई पनि थाहा हुँदै गयो । अभावै अभावको जीवनमा छोराको आगमनले खुशीयाली भरिए झैं भयो । तर दुई मुख तीन बनेपछि यो शहरमा बाँच्नलाई उनीहरुलाई हम्य नै हुन थाल्यो । जे आईपरेता केही खाएर बाँच्न त परि नै हाल्छ । त्यही खाने कुराको जोहो गर्न भनि दिपेन्द्र कुनै एजेन्टको माध्यमबाट साउदी पुगे ।

दुर्भाग्य स्मारीकाको श्रीमान साउदी गएको ४ महिना नपुग्दै खबर आयो एक्सिडेन्टमा परि दिपेन्द्रको ज्यान गयो रे । काखमा दुधे बालक, श्रीमानको लास  बाकसमा आउने तयारी परिवारको अत्तोपत्तो छैन । कठै त्यो दिन सुन्दा त मलाई सही नसक्नु भयो भने स्मारीकालाई कस्तो भएको हुँदो हो ? मान्छे राम्रो भाग्य नराम्रो भनेको सायद यही होला !

आज उनको बेदनाले भरिएको यो कथा सुन्नका लागी भेटिने म त्यो समयमा मैले किन उनलाई भेटिन होला ? धिक्कार छ यो समयलाई । जतिबेला जस्लाई जे खाँचो परेको हुन्छ त्यतिबेला कतै हराएको हुन्छ यो । आखिर जे भए नी चोट दिने यो समयले मलहम पनि लगाई रहेको हुन्छ । समय बित्दै जाँदा स्मारिकाको मनमा र जीवनमा लागेको चोटमा समयले नै मलहम लगाउँदै गयो ।

एस.एल.सी दिएर विबाह गरेकी स्मारिकाको पढाई पनि त्यति बेला देखि नै रोकियो । यो शहरमा जागिर खाएर आमा छोराको पेट पाल्न उनलाई न क्षमताले साथ दियो नत दक्षताले नै । २÷४ महिना निकै नै साह्रो प¥यो रे उनले सुनाईन् । पछि भने घर घरमा लुगा धुने र भाँडा माझ्ने काम पाईछन् । त्यही कामबाट भएनी जेनतेन आमा छोराको दैनीकी चलिरहेको थियो रे ।

त्यसैमा पनि उनलाई गरि खान दिईएनछ । उनले सुनाईन–“जुन घरमा म लुगा धुन जान्थें त्यो घरको केही पुरुषहरुले मलाई दुव्र्यवहार गर्न थाले । उनीहरुले जे गरे नी मैले छोराको लागि सही बसें तर त्यो कुरा उनीहरुको श्रीमतिलाई थाहा भएपछि मलाई तिमी अब देखि आउनु पर्दैन भन्दै काम दिन छाडे ।” उनको यो कुरा सुनेपछि ठुला महल र चिल्ला गाडीमा हिंड्नेहरुलाई घृणा गर्न थालें । मैले त्यसो गर्दा हुने नै के थियो र त्यैपनि मैले गरें ।

सधैं झैं उनको कथा सुन्न म उनी बसेको ठाँउमा जान्थें । र उनले पनि सधंै झैं आफ्नो कथा सुनाउने क्रममा त्यो दिन पनि मलाई सुनाई नै रहीन् । उनलाई भेटे पछि थाहा भयो मलाई असल मन हुनेहरुको बाध्यता र विवस्ता कस्तो हुँदो रहेछ भन्ने ? अनि त्यस्तो अवस्थाको फाईदा विवेक र दया नभएकाहरुले कसरी लिन खोज्दा रहेछन् भन्ने ।

पहिला म यस्तो थिएन । म मान्छे त थिएँ । तर म भित्र एउटा डरलाग्दो राक्षसी रुप थियो । त्यतिबेला मेरो मानसिकतामा स्वास्नी मानीसहरु केवल पुरुषको यौन ईच्छा पुरा गर्ने माध्यम् हुन् भन्ने सोचाई थियो । त्यही सोचाईले मलाई उनी सम्म पनि पु¥यायो । मैले बिर्सिएको छैन अझैं त्यो रात । जुन रात म उनको योवन लुट्न एक जना साथीको लहैलहैमा उनको कोठामा गएको थिएँ ।

रातिको १० बज्नै लागेको थियो । त्याहाँ पुग्दा उनी रुदैं गरेको छोरालाई अनेक गीत गुनगुनाउँदै सुताउने कोसिसमा थिईन् । जब मेरो पहिलो नजर उनीमा प¥यो तब म, मेरो मानसिकता अनि स्वभाव एकाएक बदलियो । सायद उनको रुप, यौवन अनि बसाईको तरिकाले हुन सक्छ ।

अध्याँरो कोठालाई एउटा क्याण्डीलले उज्यालो दिई रहेको थियो । त्यही उज्यालोको साहारामा छोरा सुताउने कोसिसमा उनी लाग्दै थिईन् । खाट थिएन उनको कोठामा पलङ्ग त धेरै टाढाको कुरा हो । भुँईमा पि फम माथि केवल एउटा डस्ना, पुरानो र मैलो देखिने तन्ना, त्यसमाथि दुईओटा सिरानी सायद दिपेन्द्र हुँदा किनेको हुनु पर्छ ।

उनको त्यो चम्किलो रुप र यौवन अनुुसारको बसाई नपाएपछि मन भित्रै देखि खिन्न भयो । उनले एक चोटी पनि हेरिनन् हामी तिर । तर मैले भने उनलाई र उनी बस्ने कोठालाई निकै घोरिएर हेरिरहें । सामान एउटा भन्दा दुईओटा थिएन । त्यो खाना पकाउने भाँडा होस् या खाने थाल नै किन नहोस् । सबै कुरा यत्रतत्र छरिएको । यस्तो लाग्दथ्यो मानौं कि धागोबाट चुँडिएको मोती जस्तो ।

म यीनै कुराको भवसागरमा डुब्दै थिएँ । एक्कासी मेरो कानमा एउटा आवाज आएर ठोकियो । “कस्तो भनेको नमानेको ? सधैं तिमी यसै गर्छेऊ । कति पैसा चाहिएको छ भन न त ? के नबोलि बसिराको ? मलाई घर फर्कन अबेर भई सक्यो भन्या ।” अनि यसो उनी तिर फर्किएर हेरेको त मेरो साथीले उनको पाखुरामा समात्दै आफ्नो कामुकतालाई स्खलन गराउनका लागि समय माग्दै थियो ।

उनी भने हात झत्कार्दै ऊबाट फुत्कन चाही रहेकी थिईन् । मैले उनको चाहानालाई त्यो समयमा यसरी बुझें मानौं म बर्षाैंदेखि उनलाई बुझ्ने उनको एउटा राम्रो साथी हो । त्यस पछि म केही नबोली मेरो साथीको हात उनीबाट छुटाउँदै उस्लाई लिएर घर फर्किएँ ।

रात भरि उनको सबै कुरा आखाँमा नाचि रह्यो । नढाँटी भनुँ भने म त्यो रात सुत्नै सकिन । मैले सोंचेकै  थिएन कि म फेरी उनलाई भेट्न जाने छु । भन्छन् नसोचेकै कुरा हुन्छ रे । सायद त्यही भयो मेरो जीवनमा पनि र गएँ भोली पल्ट उनलाई भेट्न ।

त्यही भेटले नै मेरो जीवनलाई परिवर्तन गरिदियो सधैं सधैंका लागी । जब उनलाई भेटें तब जानें उनको वास्तविकतालाई, उनको बाध्यतालाई, अनि उनको मौनतालई पनि । शुरुमा मसंग नबोली बसेकी उनी, जब मैले तिम्रो दृष्टान्तमा पर्ने त्यो चरित्रको पुरुष हैन भनी प्रष्ट्याएँ त्यसपछि बिस्तारै बोल्न लागिन् ।

पछिपछि मैले उनको मन जित्न थालें । उनले पनि मलाई विश्वास गर्न लागिन् । समय यस्तो भई दियो कि मलाई उनको लत लाग्न थाल्यो । दिन भरिको आफ्नो काम पछि म सोझै उनको कोठामा जाने गर्दथें । उनका आवश्यकताहरु सकेसम्म पुरा गरिदिन्थें । हामी सम्भोग बाहेकका सबै कुरा एकअर्कासंग शेयर गर्दथ्यौं ।

उनी प्रति मेरो कामुक्ता कहिले पनि जन्मिएन । उनकोमा आउँदा जाँदा सबैले आखाँ तानी हेर्थे मलाई । र पनि मलाई केही फरक पर्दैनथ्यो । त्यसै क्रममा एकदिन उनको कोठामा जाँदा कोठामा बाहीरबाट कुञ्जा लगाईएको थियो । कुञ्जा खोलेर भित्र पसेको त कोठा पुरै खालि ।

म आत्तिएँ र उनको घरबेटीलाई सोध्दा “खै सामान ट्याक्सिमा हालेर निस्किएकी हो । काहाँ गई के था नी ?” भन्ने जवाफ पाएँ । केही सोच्नै सकिन । एकाएक शरिर गलेको झैं भयो अनि उनको कोठा भित्र गएर थचक्कै बसी म टोलाउँदै थिए । पर एउटा कुनामा पट्टयाएर फालिएको कागजको पाना देखें । जस्मा लेदिखएको थियो................।

प्रिय सन्तोष,

तपाँईलाई धेरै नै सम्झि रहने छु । जीवनमा तपाँईसंग भेट भएकोमा म आफुलाई सधंै भाग्यमानी ठानी रहने छु । पछिल्लो समयमा तपाँईको साथ र सहयोगले मलाई यो शहरमा बाँच्न त्यति कठिन भएन जति ती दिनहरुमा तपाँई नभेटिंदा भएको थियो ।

म सधैं क्रृणी रहने छु तपाँईको सहयोगको । तपाँँईको सहयोगले मेरो अशान्त मनलाई शान्त बनाउँदै लग्यो तर मेरो कारणले तपाँईलाई सधैं अशान्त बनीरहनु प¥यो । मेरो कारणले तपाँईलाई नभएको आरोप र लान्छनाहरु खेपी रहनु परि रह¥यो । तपाँईले नभने नी मलाई सबै थाहा थियो कि तपाँई मेरो कोठामा आउँदा र मलाई सहयोग गर्दा कतिसम्मको अपमानीत बनि रहनु प¥यो भन्ने ।

यी सबै कुरा जान्दा जान्दै म कसरी तपाँईबाट सहयोग लिई रहन सक्थें र ? सबै कुराहरु बुझेर पनि नबुझे जस्तो गरि किन पो तपाँईलाई अप्ठ्यारोमा पारि रहन सक्थें होला र ? सकिन त्यसो गर्न । यदि मैले तपाँईलाई यो कुरा भनेकी हुँदि हुँ त सायद तपाँईले मलाई यसो गर्न दिनु हुंदैनथ्यो । त्यसैले तपाँईलाई नभनेर नै आज यो शहर सधैंका लागि छोड्दै छौं हामी आमा छोरा ।

म जाँन्दिन मेरो जीवनको यात्रामा म काहाँसम्म पुग्ने छु । यस्को अन्त्य कुन ठाउँमा गएर हुनेछ । तर यति थाहा छ कि अब म तपाँईलाई मेरो कारणले दुःख दिन सक्दिन । ससक्नु हुन्छ भने तपाँईलाई नभेटि हिंडेकोमा मलाई क्षमा गर्नुहोस् । अन्त्यमा मेरो मनलाई यो भिडमा पनि यति धेरै बुझिदिनु भएकोमा धन्यबाद !
                                     
                                     उही तपाँईको सधैं भलो चिताउने
                                                 स्मारीका 

घरेलु हिंसाले बनायो रुबी खान

रुपनी जि.एम
बाँके १० कार्तिक । 
“म सानै छंदा बुवाले आमालाई तलाख (डिर्भोस) दिई सक्नु भएको थियो । तैपनि बुवाले सुर्खेतबाट आएर आमालाई पिट्न र गाली गर्न कहिल्यै छाड्नु भएन । जब कि मेरो बुवाले सुर्खेतमा अर्की आमा बिहे गरेर बसि सक्नु भएको थियो । आमाले बुवाबाट सहनु परेको त्यो हिंसाले नै मलाई यस क्षेत्रमा काम गर्न प्रेरित ग¥यो ।” नेपाल मुस्लिम समाज नेपालगञ्जका निर्देशक रुबी खान ।

रुबी कक्षा ८ मा पढ्दा पढ्दै नेपाल मुस्लिम समाजमा भोलेन्टिएरको रुपमा आबद्ध भईन् । त्यति सानै उमेरमा उनलाई कुनै रहर थिएर त्यसरी काम गर्न । तर बाध्यता बनिदियो । आमाले बुवाबाट सहनु परेको असह्ैय हिंसा नै उनको बाल मनस्थितिमा डर लाग्दो छाप बन्यो ।

१२÷१३ वर्षकोे हुँदादेखि नै घरमा भएको अशान्त वातावरणबाट उनी मुक्त हुन चाहान्थिन् । तर सक्दिनथिन् । किनकी उनी निकै नै सानी थिईन् । न उनले बुवाले आमालाई मरनासन्न हुनेगरि कुटिरहंदा छुट्टयाउन सक्थिन् नत डाको छोडेर रुन नै । सक्थिन् त केवल बुवाको आक्रामक व्यवहारबाट हुने डरबाट मुक्त हुन ।
 
उनको त्यो डरलाई छिमेकी अन्टि जैतुन हल्वाईले महसुस गर्दै उनै जैतुनले नै रुबीलाई भोलेन्टिएरली हाल कार्यरत संस्थामा आवद्ध गराईन् । वि.सं. २०६३ सालमा संस्थामा आवद्ध भएकी रुबीको जीवन संर्घष त्यसैदिनदेखि नै शुरु भयो ।  
आज भन्दा १० वर्ष पहिले रुबी घरेलु हिंसा विरुद्धको अभियानमा सक्रिता देखाउँदै नेपाल मुस्लिम संस्थामा आवद्ध भएपछि शुरुमा त उनलाई उनकै बुवाबाट तिरस्कृत हुनु प¥यो । त्यसपछि समाज त छंदै थियो । छोरीलाई घरबाट बाहीर काम गर्न दिएको भन्दै आमालाई डिर्भोस दिईसकेको उनका बाबु रमजान पठानले उनकी आमा रुकैया खातुनलाई सुर्खेतबाट आएर पिट्दथे रे ।

बुवाले त्यसरी पिटिरहंदापनि आमाले कहिल्यै मलाई त्यो पिटाईको बारेमा नभनेको र उल्टै अभिस जान ढिला हुँदा मलाई समयको ख्याल गराएको रुबीले आखाँभरि आँशु लिंदै सुनाईन् । “यदि मलाई कसैले बुझ्यो त त्यो व्यक्ति मेरी आमा हुन् । सायद म मेरी आमा जस्तो समझदार आमा बन्न नसकुँला तर मेरी आमा अनपढ भएर पनि संसारकै शिक्षित आमा हुन् ।” उनी भावुक भईन् ।

आमा रुकैयालाई थाहा थियो कि यदि उनले छोरीलाई घरबाट बाहिर निस्किएर काम गर्न दिईनन् भने छोरीले पनि जीवनभरि नै आफुले जस्तै हिंसा सहनु पर्नेछ भन्ने । त्यसैले रुबीकी आमाले रुबीलाई कहिल्यै काममा अरुको कुरा सुनेर नजान भनिन् रे, रुबी भन्छिन् “मलाई थाहा हुन्थ्यो मैले घरबाट बाहीर निस्किएर काम गर्न शुरु गरेपछि बुवाले आमालाई पहिलाको तुलनामा मेरै कारण बेसी टर्चर गर्नु हुन्थ्यो । तर आमाले कहिल्यै पनि मलाई त्यो कुरा थाहा हुन दिनु भएन ।” 

नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ७ की रुबीको कामप्रतिको लगनशिलता र मेहेनतले संस्थाको महाधिवेशनमा उनी एकैचोटी महासचिव भईन् । सानो सानो कुराहरुको अनुभवबाट जीवनलाई माझ्दै अघि बढेकी रुबीले बाँकेका विभिन्न खालका हिंसा पिडित महिलाहरुकालागि खुलेरै आवाज उठाउँदै काम गरिरहेकी छन् ।

शुरु शुरुमा रुबीको, घरबाट बाहिर निस्किएर काम गर्नुलाई, उनले लगाउने लुगालाई, कार्यक्रमको शिलशिलामा उनको होटलमा जानु पर्ने कुरालाई, कामको शिलशिलामा घर ढिला जाने कुरालाई, उनी अन्य सहकर्मी र समकक्षि पुरुषहरुसंग बोल्ने कुरा आदि ईत्यादिलाई रुबीको समाजले यति हदसम्म यातनाको विषय बनायो कि आत्माविश्वास बलियो हुँदा हुँदै पनि कैयौं पटक टुट्न पुगिन् उनी ।

समाजको नियम र मानिसहरुको अनावश्यकको कुरा काटाईले रुबीलाई धेरै पटक निराशा बनाएपनि उनले आफुभित्रको आशालाई कहिल्यै मर्न दिईनन् । उनले त्यही समाजको नियमलाई परिवर्तन गर्दै अघि बढिरहीन् । त्यसैको प्रतिफल हो हिजो आज उनी उनको समाज मात्र हैन पुरै बाँके जिल्लाको एउटा मुस्लिम समुदायको मिसाल बन्न सफल भएकी छन् ।

शुरु शुरुमा उनलाई नराम्रो भन्नेहरु नै हिजो आज उनलाई उदाहरण बनाउँदै आफ्ना घरका नानीहरुलाई स्वतन्त्र भएर काम गर्नकोलागि सघाईरहेका हुन्छन् रे । आफुलाई उदाहरण मानेर सबैले हिजो आज आफ्ना घरका छोरी बहीनीलाई घरबाट बाहीर निस्किएर काम गर्न दिएको कुरालाई रुबी यसरी सुनाउँछिन् । “बाहीर गएर काम गर्न तिमीलाई हामीले रोक्ने छैनौं तर रुबी जस्तो बनेर काम गर । ”

एउटै संस्थामा आवद्ध भएर काम गरेको झण्डै १ दशकको यात्रा रुबीले पार गरिसिकन् ।   निकै लामो र संर्घषशिल समय पार गरेपछि रुबी अहिले संस्थाको निर्देशक भएकी छन् । रुबी भन्छिन्,“यदि मम्मिले बुवाको पिटाई र धम्किबाट अनि समाजका कुराहरुबाट डराएर मलाई काम गर्न रोकेको भए मेरो पाईला ती दिनहरुमै रोकिने थिए । उहाँ मेरो आमा मात्रै हैन मेरो साथी पनि हो । आज म जे छुु पहिलो कुरा त म मेरो मम्मिको योगदानले छु । उहाँकै कारण म यो ठाउँसम्म आईपुगेकि छु ।” 

रुबी घरकी माईली छोरी हुन् । र उनी यस्ति छोरी हुन् जस्ले बुवापछिको सबै जिम्मेवारी निभाउनमा दाजु र भाईहरुको भन्दा कुनै कुरामा आफुलाई कम राखेकि छैनन् । बुवाको मृत्युपछि रुबीले सौतेनी आमा र उनी पट्टीका दुईभाईहरुसंग यस्तो सम्बन्ध कायम गरेकी छन् कि देख्नेहरु कसैले पनि यो दुई परिवार हो भन्दैन रे रुबी भन्छिन् ।

प्राय व्यक्तिहरु बाहीरको कामलाई जति मिलाउन सक्छन् त्यति उनीहरु आफ्नो घर भित्रकै समस्यालाई सुल्झ्याउन सकिरहेका हुँदैनन् । तर रुबी ती सबै भन्दा अलग छिन् । किनकी उनले सानैदेखि जानेकि छन् कि परिवारमा कलह हुँदा पुरै जिनदगीलाई नै कस्तो असर पर्छ भन्ने कुरा । त्यसैले उनको परिवार अन्य मुस्लिम समुदायको भन्दा धेरै फरक छ ।

उनले संघर्ष शुरु गरेको दिनको तुलनामा अहिलेको मुस्लिम समुदायको अवस्थाका विषयमा रुबी भन्छिन्,“धेरै त अझैंपनि होईन तर अहिलेको समाजलाई केही परिवर्तन भएको मान्नै पर्छ । नेपालमा विशेषगरि मुस्लिम छोरीहरुलाई खुला शिक्षाकोेलागि नेपाल सरकारले मुस्लिम बाहुल्य भएको ठाउँहरुमा सरकारी मदरसाको व्यावस्था गर्नु पर्ने अवस्था छ । र त्यो गरिनु पर्छ । तब मात्र चेतनाको स्तरमा मुस्लिम समुदायको विकास हुन सक्छ । जुन अझैं हुन सकिरहेको छैन ।”

आफ्नो पहिचानकोलागि र स्वाभिमानकोलागि संघर्षको लडाई अझैंपनि जारि नै छ भन्न रुचाउने रुबी खानले ५ वर्षसम्म राष्ट्रिय महिला अधिकार मञ्चको महासचिवको जिम्मेवरी सम्हालि सकेकी छन् । राष्ट्रिय महिला मानव अधिकार रक्षक सञ्जालको सदस्य भएर उनले ३ वर्षसम्म काम गरिसकेकी छन् ।

सानै उमेरदेखि थुप्रै अनुभवहरु बटुल्दै र संघर्षको यात्रा एक्लै तय गर्दै याहाँसम्म आईपुगेकी रुबी मुस्लिम समूदायबाट प्रतिनिधीत्व गर्ने एउटा असल र उदाहरणीय युवा महिलाको नामले चिनिन्छिन् ।


म, सडक, अनि मेरो जिन्दगी

 रुपनी जि.एम
बर्दिया ३१ असोज ।
“बिहान् अरु घरमा बसेर चिया पिउँछन्, म भने बिहानै ८ बजे सडक छेउमा घाँस काट्न जानु पर्ने हुन्छ । एउटा हातमा हँसिया अर्को हातमा लठ्ठी बोकेर म हरेक बिहान सडक छेउँ पुगेकै हुन्छु ।” यो भनाई हो, बाँके बैजनाथ गाउँपालिका वडा नं. ६ का ज्ञान बहादुर खत्रीको ।

५७ वर्षीय ज्ञान बहादुर खत्री सोमबार बिहानै महेन्द्र राजमार्गको सडक छेउमा भेटिए । असोजको महिना मौसम अनुसार जाडो शुरु हुनु पर्ने हो । तर यो समय यतिबेला तराईमा जेठ बैशाषको जस्तो टन्टलापुर घाम र गर्मी उत्तिकै छ । त्यति पारिलो बिहानको निकै नै चर्किएको घामसंगै पसिना चुहाउँदै सडको एक छेउँतिर घाँस काट्दै गरको अवस्थामा मैले ज्ञान बहादुरलाई भेटें । 

बिहानको यस्तै साढे ८ बजेको हुँदो हो । मैले उनलाई आफ्नै सुरमा घाँस काट्दै गरेको अवस्थामा बाँसगढी नजिकै सडक छेउमा भेटें । देब्रे हातले लठ्ठीको साहारा लिदैं दाहीने हातले हँसिया समातेर सडक छेउमा पलाएका घाँस काट्दै थिए ज्ञान बहादुर । 

उमेरले झण्डै ६ दशक लाग्नै लागेका ज्ञान बहादुरमा उही जोश उही काम गर्ने जाँगर । मानौं उनीमा ५७ वर्षको नभई एउटा युवामा हुनु पर्ने जोंश र जाँगर छ । झट्ट हेर्दा फुर्तिला र स्वथ्य देखिने ज्ञान बहादुर नजिकै गएर कुरा गरेपछि थाहा भयो कि उनी हेर्दा जस्तो फुर्तिला र स्वथ्य रहेनछन् । 

नजिकै गएर कुरा गर्दा थाहा भयो कि उनको घाँटिदेखिको माथिको भाग निरन्तर हल्लि रहँदो रहेछ । जस्लाई मेडिकलको भाषामा न्युरोजेनिक अर्थात बे्रन सम्बन्धि समस्याका कारण उत्पन्न हुने रोग “टिक्स” भनिन्छ । उक्त रोगकोलागि सामान्य एक्सरे वा एमआरआई गर्दा पनि लगभग २० हजार जति खर्च हुने मनमोहन मेमोरियका डक्टर धर्मदत्त सुबेदी बताउँछन् ।

झण्डै २२ वर्षदेखि न्युरोजेनिक समस्याले ग्रसित ज्ञान बहादुर सामान्य एमआरआई गराउन त सकिरहेका छैनन् भने अप्रेसनको विषय त उनकोलागि आकाशको फल आखाँतरि मर भने झैं भाको छ । आर्थिक स्थिति कम्जोर भएकै कारण दैनिकी मात्रामा खानु पर्ने औषधि पनि उनले खान सकिरहेका छैनन् ।

घामपानी नभनि सडक छेउमै घाँस काटेर ज्ञान बहादुरले महिनाको १६ हजार कमाउने रहेछन् । त्यही कमाईबाट उनले आफुसंगै ६ जनाको परिवार पाल्नु परि रहेको छ । यस्तो अवस्थामा उनले कसरी आफ्नो स्वास्थ्य उपचार गर्न सक्थे र ? उनी भन्छन्,“परिवारमा कसैको मुख सानो छैन । सबैको खाने मुख ठुलो छ । १६ हजारले के नै हुन्छ र ? खान त जासो तसो पुगेकै छ । खाएर मात्रै नहुने । खाना भन्दा अरु कुरामा बेसी खर्च हुने   अवस्थामा मैले आफ्नो उपचारकालागि कसरी त्यतिका रकम जुटाउ सक्छु र ?” उनले पिडालाई पनि हाँसेरै अभिव्यक्त गरे ।

सडक डिभिजन कार्यालय नेपालगञ्जले राजमार्ग, साहायक राजमार्ग र पुलगरि ३ स्थानकालागि ९० जनाको संख्यामा मेक ओर्कर खटाएको छ । तीनै मध्यका एक हुन् ज्ञान बहादुर पनि । कार्यालय प्रमुख अरुण बमका अनुसार डिभिजन कार्यालय नेपालगञ्जले बाँके र बर्दिया गरि २ जिल्लामा मेक ओर्कर खटाएको छ । मेक वर्करले सुपरभाईजरको अन्डरमा रही काम गर्नु पर्ने हुन्छ ।

डिभिजन कार्यालय नेपालगञ्जको मतहतमा रही मेक ओर्करहरुले काररमा काम गरिरहेको प्रमुख बम बताउँछन् । मेक वर्करलाई थाई गर्ने विषयमा कार्यालय प्रमुख बम भन्छन्,“नियमावली अनुसार उनीहरुले करारमा काम गर्ने हो । र त्यही नियमावली अनुसार नै उनीहरु शारीरिक रुपमा अशक्त भएको खण्डमा उनीहरुले आफ्नो ठाउँमा परिवारका कुनै पनि सदस्दलाई राख्न पाउने व्यवस्था छ । तर थाईको व्यवस्था छैन ।”

सडक छेउको काम र पुलको काम भएको हुनाले शारीरिक रुपमा नै बलियो र फुर्तिलो  हुनु पर्ने हो तर ज्ञान बहादुर दुवै कुराले अशक्त छन् र पनि उनले काम गरिरहेका छन् । भन्छन्,“उमेर भएका छोराहरु यस्तो कम गर्न मान्दैनन् । सरकारले छोराहरुले चाहे जस्तो कामको व्यवस्था गर्न सक्दैन । छोराहरुले पनि नगर्ने र मैले पनि नगर्ने हो भने के खाएर बाँच्ने ? त्यसैले यो काम गर्नु मेरो बाध्यता नै हो ।”

काम सानो र ठुलो हुँदैन । काम काम नै हो । तर कामको ज्याला काम अनुसारको हुनु पर्छ । काम अनुसारको ज्याला भएन भने काम सानो र ठुलो भन्ने प्रकृतिमा बाँडिन जान्छ । जस्ले ज्ञान बहादुरले भने झैं युवाहरुकोलागि त्यही काम शान भन्दा अपमान भएको हुन जान्छ । नेपाल सरकारले यस्ता विषयमा ध्यान दिनु पर्छ ।


Wednesday, December 2, 2015

तिम्रो कुमारत्वलाई कस्ले परिक्षण गर्ने ?

           
                                                 तिम्रो कुमारत्वलाई कस्ले परिक्षण गर्ने ?
रुपनी जि.एम
नेपालगञ्ज बाँके


कुरा यही कार्तिक महिनाको तिहार ताकाको हो रे । रातीको १० बजे पछि नम्रतालाई उनको साथी सुशीलाको फोन आयो, र कुनै सम्बोधन नै नगरि शुरुमै सोधियो रे–“ओए ! मायामा विश्वास दिलाउन के शरिर नै सुुम्पनु पर्ने हो र ?” नम्रता अक्कनबक्क पर्छे र आश्चर्य मान्दै सोध्छे–“के भन्छे यो ? बौलाउन त लाईनेस् ? कस्ले के भन्यो र तलाई ?” अरु कस्ले हुन्छ र ? तलाई भनेकी थिएँ त ? उही के, मैले माया गर्ने गजे ।

गजे, पुरा नाम गजेन्द्र कार्की । घर झापाको सुरुङ्गा । गजेन्द्रसंग सुशीलाको भेट यही श्रावण महिना लैङ्गिक हिंसाका विषयमा पोखरामा सम्पन्न ३ दिने गोष्ठिमा भएको थियो । पेशाले दुवै जना कुनै एन.जि.ओमा काम गर्ने गर्दछन् । बुटवलकी सुशीलालाई झापाका गजेन्द्र कार्की त्यही गोष्ठि पश्चातको कुराकानीकै क्रममा विस्तारै मन पर्दै गई रहेको थियो । दुवैलाई दुवैको फोन दिनमा ५÷१० मिनेटकै किन नहोस् ३÷४ पटक नियमित हुन्थ्यो भने रातमा त घण्टौं हुने कुरा कुनै नौलो नै भएन । नम्रताले भनेकी । उमेर पुगेका केटाकेटी एक अर्कालाई मन पराउनु र एकआपसमा घण्टौंसम्म कुरा गर्नु कसैका लागी पनि कुनै विषयको कुरा होईन । त्यसैले सुशीला र गजेन्द्रको प्रेमलाई पनि चिनेजाने जति सबैले समर्थन गर्दै कुनै चर्चाको विषय नै बनाएनन् । तर आफ्नै प्रेम सुशीलाका लागी सोच्दै नसोचेको एउटा विषय बन्न पुग्यो । जस्ले आज सुशीलाको प्रेम कथालाई अधुरो बनाएर दुविधापुर्ण गोरेटोमा उभाई रहेको छ ।

“सान,ु तिमी मेरी हौ । यस्मा कुनै शंका नगर्नु तर पनि खै किन किन तिमी मेरा लागी कति योग्य छौं जाँच्न मन लागेको छ । तिमी अप्ठेरो मान्दिनौं भने मलाई तिमीसंग एक पटक शारिरीक सम्पर्क गर्न मन लागेको छ ।” गजेको प्रेम जब यसरी यो उद्वरण चिन्ह भित्र कैद भएको वाक्यहरुबाट छरपस्ट भयो त्यसपछि सुशीलालाई उनको आफ्नै प्रेमले दुविधाको गोरेटोमा उभ्याई दियो रे । नम्रताले भनेकी । जब आफुले माया गर्ने मान्छेले नै माया गरेकै आधारमा आधिपत्य जमाउदै पुर्णत शारिरीक र मानसिक रुपमा बलियो भएको पुरुष, जो न एउटी महिलाका लागी नत ऊ स्वयमका लागी नै योग्य हुदैन । त्यस्ताको प्रेमले भावि दिनहरुमा जीवनलाई के सुखी राख्ला ? भनेर सुशीलाले लत्याई दिईन् रे गजे अनि गजेको प्रेमलाई । नम्रताले भनेकी ।

गजे जस्ता कैयौं अनगन्ति पुरुषहरु छन्, जस्ले प्रेम गरेकै आधारमा त्यस्लाई बाहाना र अनेक थरी प्रलोभनमा पारि स्त्रीलाई केवल शरिरीको बली चढाउन बाध्य बनाई रहेका हुन्छन् । गजे र सुशीलाको त आखिर के नै भयो र ? कुरामा कुरा नमिल्दा प्रेम असफल भएको न हो । याहाँ त मनले मनसंग सम्बन्ध गाँसेकै आधारमा मनलाई विश्वास दिलाउनका निम्ति शरिरको बलि चढाउदा पनि प्रेम असफल बनेको छ प्रायको । यस्तै असफल हुनेमा एउटा अर्काे कथा दैलेखकी लिला र बर्दियाको धनन्जयको पनि हो । दुवैको भेट सुर्खेतको भूमिमा आज भन्दा झण्डै ५ वर्ष पहिला भएको थियो । स्नातकोत्तर तहको पढाई पुरा गर्न धनन्जय बस्नेत वि.सं. २०६८ सालमा सुर्खेत जाँदा त्याहाँ उनले लिला विष्टलाई भेटेका थिए । लिला पनि स्नातक तहको पढाईलाई पुरा गर्न दैलेखबाट सुर्खेत झरेकी थिईन सोही वर्ष । पढने तह फरक भए पनि भेट हुने समय भने प्राय एकै हुन्थ्यो उनीहरुको । प्रत्येक दिनको भेटले दुरी नजिक बनायो उनीहरुको । झण्डै ३ महिना बितेको हुँदो हो । उनीहरुको सम्बन्धले गति लिन लागेको । त्यति बेला धनन्जयले आफ्नो बिवाहको कुरा परिवारले चलाएको भन्दै झुठो बाहाना गरेछ ।

आफुले माया गरेको मान्छे अरु कसैको बन्छ कि भन्ने डर कस्लाई पो हुँदैन होला र ? लिलाको त्यही डरलाई धनन्जयले बुझ्यो र लिलालाई शारिरीक सम्पर्क भए मात्र विश्वासका साथ परिवारसंग आफुहरुको प्रेम सम्बन्धका बारेमा भन्न सकिने भन्दै यौन पिपासु बनेर लिलाको अस्मितालाई बलि चढाउन सफल भयो । लिलालाई त्यो शारिरीक सम्पर्कमा रत्ति भरि पनि कुनै पश्चाताप थिएन । किनभने उस्ले त धनन्जयलाई आफ्नो अस्मिता सुम्पिएर अनौपचारिक रुपमा श्रीमान मानी सकेकी थिई । त्यो पनि उसलाई विश्वास दिलाउनका लागि मात्र । जस्को नतिजामा बाँकी थियो त केवल प्रेमलाई औपचारिकताको शुत्रमा बाँध्दै विवाह गर्न ।

जुन कुराको बाचा दुवैले जागिर खाएर आफ्नो खुट्टामा उभिए पछि मात्र गर्ने भनेर गरेका थिए । उनीहरुको प्रेमसंगैको शारिरीक सम्पर्कले झण्डै ५ वर्षको यात्रा पुर गर्दै थियो । एकाएक असोजको २२ गते  धनन्जयको फेसबुकमा उ अरु नै केटीसंग बैबाहीक जीवनमा गाँसिएको फोटो लिलाले देख्न पुगी । एउटी स्त्रीका लागि त्यो जस्तो असैह्य पिडा अरु के नै हुन सक्छ ? हामी सजिलै अनुमान गर्न सक्छौं । जस्को दुखाई अहिलेसम्म लिलाले सहनु परि रहेको छ । सुशीला र लिला त प्रतिनीधि पात्र मात्र हुन् । यस्तो पिडाबाट बिच्छिप्त भएका स्त्रीहरु गन्न नसकिने संख्यामा छन् । तपाँई हाम्रो समाजमा ।

कस्तो अचम्म ? स्वतन्त्र भएर माया पनि गर्न नपाईने भयो यो शहरमा अब त । केटीले केटालाई विहे गर्छु भन्नु त टाढाको कुरा, माया गर्छु सम्म भन्ने हो भने पनि त्यस्का लागि परिक्षामा पास हुनु पर्ने । त्यो पनि अस्मिताको बलि चढाएर । सरल भाषामा भन्ने हो भने माया गरेको केटालाई आफ्नो कुमारीत्व परिक्षण गर्न दिनु पर्ने रे । त्यस्मा पास भयो भने विहे नभए यो गति छाडा । प्रश्न उठन सक्छ कि, किन कुमारीत्व परिक्षण गर्न दिने त ? भन्ने । एक पटकका लागि सुशीला र लिलाले झैं पवित्र आत्माले कसैलाई माया गरि हेर्नहोस् । अनि थाहा हुनेछ तपाँईलाई माया गर्ने मान्छेलाई गुमाउदाको डर भन्दा ठूलो कुरा कुमारीत्व हुदैन भन्ने ।

यो लेख पढ्ने तपाँई जो कोही पाठकलाई मेरो प्रश्न । के प्रेममा विश्वास दिलाउनका लागी शरिर सुम्पनै पर्ने हो त ? यदि हो भने, के त्यो एउटी स्त्रीलाई उनको आत्मा सम्मानमा ठेस पु¥याउँदै अस्मिताको बलि चढाउन बाध्य बनाईएको होईन र ? यदि यो कुरामा सहमति जनाउन कुनै आनाकानी हुदैन भने कस्ले दिएको छ त, त्यो पुरुषलाई यी सबै कुराहरु गर्न छुट ? जस्ले पवित्र मनले साँचो माया गरिरहेकी एउटी स्त्रीको हृदयलाई छियाछिया पार्दै दुखाई रहेको होस् जीवन भरि । अनि प्रेम गरेकै बाहानामा विश्वासको परिपाटि बनाउन केवल अस्मिताको बलि चढाउन परि रहोस् जीवन भरि ।

एकपटक आफैले आफैलाई यो प्रश्न गरि हेरौं । पुरुष भएर जन्मिएकै कारण के तपाँईले यी सबै कुराहरु गर्नै पर्ने हो र ? के तपाँईलाई  पुरुष भएकै नाताले यी सबै कुरा गर्न अधिकार दिईएको छ ? या फेरी लाग्दछ तपाँईलाई कि, एउटी स्त्रीको अस्मितासंग खेल्न तपाँई स्वतन्त्र हुनुहुन्छ ? यदि यस्तो लाग्दछ भने यो लेखिकाको तपाँईलाई मात्र एउटै प्रश्न कि तपाँई को हो ? विवेकी पुरुष ? या विवेक गुमाएको पुरुष ? यो विषयमा गम्भिर हुने प्रयास गर्नुहोस् । उत्तर तपाँई स्वयमले नै भेट्नु हुनेछ । र जब भेट्नु हुनेछ तब तपाँई एउटी स्त्रीको नजरमा सधैं प्रिय बनि रहनु हुनेछ । अनि मात्र तपाँई यो समाजका लागि  एउटा सभ्य र सालिन पुरुषको परिचयबाट चिनिनु हुनेछ । त्यसैले यो विषयमा अहिले नसोंचे कहिले साेंच्ने ? मानसिकतामा परिवर्तन अझैं नगरे कुन दिन गर्ने ? अनि महिलालाई सम्मान बोलीले मात्र हैन व्यबहारले यो समयमा नगरे कुन समयमा गर्ने ? अझैं पनि परिवर्तन हुने पालो तपाँई र तपाँईकै सोचाईको हो ।



Thursday, November 19, 2015

तिम्रो लोग्ने मेरो जीवन साथी


                                                          


रुपनी जि.एम
२०७२÷०६÷१७
नेपालगञ्ज बाँके
  
साल २०६८, महिना बैशाषको थियो । बिहानको यस्तै ७ सवा ७ बजेको हुँदो हो । छोरा छोरी सुत्दै थिए । म भने उठेर घरको पिंढीमा टोलाई रहेकी थिएँ । एक्कासी नचिनेको नम्बरबाट फोन आयो र मलाई सोधियो–“बेबी हिजो किन फोन नगरेकी ? मैले गर्दा नी उठाईनौं त, ज्यानलाई सञ्चै त छ ?” एकछिन त म अक्कन बक्क परें । उस्को प्रश्नमा म मौन रहंदा सानु भन्दै मेरो मौनतालाई फेरी चि¥यो उस्ले । म झस्किएँ र भने सायद तपाइँले खोजेको मान्छे हैन म । यो रङ नम्बर हो । यति भने पछि उस्ले पनि माफी माग्यो र फोन काटि दियो ।

म आफ्नै जागिरे जीवनसंगै छोराछोरी अनि घरको काममा व्यस्त थिएँ भने श्रीमान पनि नेपाली सेनाको जागिरमा व्यस्त । सबै आ–आफ्नै सुरमा बाँची रहेका थियौं । समयसंगै दिन आफ्नै गतिले अघि बढ्दै थियो । अचानक फेरी उस्तै शैलीमा र प्रयोग गरिने भाषामा त्यही फोन ठ्याक्कै २ दिन पछि दोहोरीयो । यस पटक भने कुरा अघिल्लो पटकको जस्तो भएन । लामो भयो तर रमाईलो पारामा भयो । किन भने उसंग कुरा गर्ने शैली मिठो रहेछ । यस पटक रङ नम्बर भएपनि परिचय गरेर केही उस्का कुरा सुनियो  र केही आफ्ना कुरा सुनाईयो । जीवनलाई भोगिने तरिका निकै नै आश्चर्यको हुँदो रहेछ । न बुझ्न सकिने नत कसैलाई बुझाउन नै सकिने । जुन कुराको सोचाई गर्नु त निकै परको कुरा कल्पनासम्म गर्न सकिएको हुदैन । त्यही कुरा जीवनको अति नै महत्वपुर्ण बनेर घट्दो रहेछ मान्छेको जीवनमा ।

मेरो जीन्दगीमा पनि यस्तै केही भयो उसंगको सम्बन्ध । जस्को अहिले सम्म मेरो जीवनमा महत्व रही रहेको छ । सोंच्दै नसोंचेका घटनाहरुलाई जीवनको पानामा यसरी कोरिरहंदा अचम्मको त लागेको छ नै साथ साथै भय पनि उत्तिकै लाग्दो रहेछ । ऊ सामान्य मान्छे हैन नत कम विबेक भएको मान्छे नै हो । जब ऊसंग परिचय भयो र कुराहरु बिस्तारै बिस्तारै बढ्दै जान थाले त्यसपछि थाहा भयो मलाई उस्को बारेमा । पेशाले कुनै आईएनजीओको जिल्ला को–अर्डिनेटर । घर पाल्पाको तान्सेन बजार । श्रीमती नेपाल प्रहरीमा ईन्सपेक्टरमा जागिरे । परिवारको अन्य सदस्यसंगै पुरै खानदान नै उत्तिकै सम्पन्नशाली । पछि पछिका कुराकानीमा यी यस्तै धेरै कुराहरु साँटा साँट हुँदै गए । प्रतिदिनको फोनसंगै कुराहरु पनि उत्तिकै मात्रामा बढ्दै गईरहे । दुरीको हिसाबले हाम्रो बसाई टाढा थियो तर कुराकानी बढ्दै जाँदा मनको दुरी भने नजिकिंदै गयो ।

  भनिन्छ नी, जाहाँ केही कुरा अधुरो हुन्छ त्यहींनीर अर्काे रुपमा त्यस्को परिपुर्तिका लागि केही कुरा पुर्ण भई बसिरहेको हुन्छ । बस् फरक यत्ति हो कि त्यो कुरालाई चिन्न सक्नु पर्छ । यस्तै भयो मेरो आवश्यकतामा उनको आगमन पनि । बिवाह गरेदेखि वर्षमा एकपटक बढीमा दुई पटक मोहीत (श्रीमान) संग भेट हुने । बाँकी अरु फोनमै गर्नु पर्ने । घरयासी कुराहरु त छदै थिए मनको चाहाना पनि फोनमै गरेर चित्त बुझाउनु शिवाय अरु उपाय केही हुन्थेन । हामी श्रीमान श्रीमती त भयौं तर केवल अरुका लागि मात्र । श्रीमानसंग संगै बस्न पाउनु, घुम्नु, मनका कुरा साँटा साँट गर्नु यी त मेरा लागि केवल रहर मात्रै भईरहे । यी यास्ता कुराहरुको चाहाना मन भित्रै कति जन्मिए र मन भित्रै कति मरे मरे । कुनै गरणा छैन, नत मोल नै ।

बाहीरी रुपबाट देख्नेहरुका लागि सुबास्ना (म) निकै सुु सम्पन्न छे, आफ्नो खुट्टामा उभिएकी छे, भने जस्तो घर परिवार छ, लोग्ने साथमा छ । यस्तै केही हुदो हो । तर खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भने झैं मेरो एक्लो पनले दिएको चोट केवल मलाई मात्र थाहा थियो । चाडपर्व देखि अन्य सामान्य दिनहरुमा साथी संगीहरुलाई श्रीमानसंगै हातमा हात मिलाएर हिंडेको देख्दा कस्तो हुन्थ्यो होला ? एक चोटी कसैले सोधी हेरोस मलाई । वर्ष दिनमा एक चोटी मात्र घरमा आउने लोग्ने जब परिवारसंग मात्रै रमाउन चाहान्थ्यो र मैले कतै घुम्न जाउन भन्दा मेरो प्रस्ताव सिधै अस्विकार्य हुन्थ्यो त्यस्तो अवस्थामा मेरो भावनामा कति ठेस लाग्थ्यो होला कसैले सोधि हेरोस् मलाई । तीज त छदै छ दशैंमा पनि बिहे गरेको साल बाहेक माईत संगै गएको कुनै रेकर्ड भएन । फोन गर्दा शुभकामनासंगै आउन नपाएकोमा दुखी भएको खबर बाहेक अरु केही सुन्न पाउथीन मैले । यी यस्ता थुप्रै कुराहरु छन् जस्लाई मनमा दबाएरै राख्नु पर्ने मेरो बाध्यता बनेको थियो । कतिपय यस्ता कुराहरु छन् जस्ले मेरा ईच्छा शक्तिलाई सधैं मृत बनाई रहे । जुन शब्दमा बयान गर्न नमिल्ने................. ।

  लागेको थिएन कि, सुबास्नामा फेरी त्यही बास्ना मुर्छिनेछ । जीउँदो भएर पनि मरे सरह भएकी सुबास्ना फेरी बाँच्नेछे । मुस्कुराउनै बिर्सिसकेकी सुबास्नाले फेरी खुलेर हाँस्नेछे । यी सबै गुमेका कुराहरु मैले तब पाएँ जब सागर मेरो जीवनमा नचिनेको नम्बरको माध्यमबाट आयो । उसबाट मैले ती सबै कुरा पाएँ जस्को चाहाना ममा वर्षाै देखि थियो । रित्तिए जस्तो भई बसेकी म भरिपुर्ण तब हुन थाले जब सागरसंग मेरो सम्बन्ध नजिकींदै गयो । मैले ती सबै कुरा पाएँ जुन वर्षाै देखि मैले गुमाई रहेकी थिएँ । अझ भनु जुन मेरो चाहा थियो । फरक यति मात्र हो कि, जुन कुरा आफ्नो श्रीमानबाट पाउनु पथ्र्यो त्यो एउटा राम्रो जीवन साथीबाट पाई रहें । र आजसम्म पनि पाई रहेकी छु । कुनै दुःख छैन मलाई “म पति व्रता पत्नि” भईन भन्नेमा नत कुनै गुनासो नै छ पाँच वर्षदेखि चल्दै आएको यो जीवन शैलीमा । बरु खुशी छु म कि जीवन साथीबाटै सही म एउटा पुर्ण महिला बनि रहेकी छु ।
मैले सागरलाई जीवन साथी यस अर्थमा भनेकी हुँ कि, उस्ले मलाई, मेरा ईच्छाहरुलाई, मेरा आवश्यकताहरुलाई र पुर्ण रुपले मेरो जीवनलाई निकै नै राम्रोसंग बुझेको छ । आजसम्म उस्को व्यबहारले म प्रयोग भई रहेकी छु भन्ने आभाष भएको छैन मलाई । मैले चाहेको हरेक पलमा साथ दिन भ्याएको छ उस्ले । मलाई सधैं खुशी भएको हेर्न चाहान्छ ऊ । यस्मा कुनै बनावटी कुरै छैन ।  किनकी मेरो मनले भन्छ उस्ले झुठो बोलेको छैन । र मनले कसैलाई पनि धोका दिंदैन । त्यसैले त ऊ सधंै मलाई खुशी बनाउने प्रयासमा लागि रहन्छ । जीवन साथी त्यसलाई भनिन्छ जस्ले जीवनमा यसरी नै साथ दिई रहोस् नकी सिंदुर र पोतेको बन्धनमा बाँधेर केवल एउटा नाममा मात्र सिमित रहन बाध्य बनाई रहोस् ।

 सागर र मेरो सम्बन्ध साँच्चै सागर जस्तै छ । न कुनै स्वार्थ नत फरेब नै । दुवैको घर संसार अलग अलग छ । र पनि हामी एक छौं । कति शक्ति हुँदो रहेछ मायामा कि भविषयमा आई पर्ने कुनै पनि कुराको सामना गर्न हामी तयार छौं । यसको अर्थ यो होईन कि हामि हाम्रा पुराना बन्धनहरुलाई ताडेर नयाँ सम्बन्ध श्रृजना गरौं । जुन कुरा कसैलाई असर नै नपर्ने गरि हामिले पाई रहेका छौं भने त्यो कदम हामी किन पो चाल्छौं र जस्ले सबैलाई असर पारोस् । सागरसंगको सम्बन्धले नै मलाई यही सिकायो कि यो संसारमा जति नै धनाढ्य मानिस किन नहोस्, जति नै सु–सम्पन्न देखिने मानिस् किन नहोस् र जति नै चर्चामा आएको मानिस किन नहोस् यदि उस्ले माया पाएको छैन भने उस्ले जुन देशमा माया पाईन्छ त्यही देशमा आफ्नो डेरा सार्न रुचाउँदो रहेछ । मैले जस्तै ।

  मेरो अनुभवमा, माया पाउनु अधिकार हो भने माया दिनु एउटा अर्काे अधिकार हो । चाहे त्यो आफ्नो मान्छेबाट होस् यात...................। ध्यान दिनु पर्ने एउटै कुरा त्यो मायाले कसैलाई असर नपारोस् । सायद संसारमा एउटै मात्र त्यस्तो कुरा छ जो हो “माया” । जस्ले माया दिएर माया पाउँछ त्यो संसारकै भाग्यमानी मान्छे हुन्छ । र त्यो भाग्यमानी हामीले एक अर्कालाई मानेका छौं । मलाई थाहा छ ऊ कसैको लोग्ने हो, केवल समाजका लागि, देख्नेहरुका लागि । तर उस्ले मलाई मेरा हरेक दुःख सुखमा साथ दिएको छ । भौतिक रुपमा टाढा छ र पनि ऊ मेरो नजिक छ त्यसैले ऊ “मेरो असल जीवन साथी हो ।” जस्को मैले यसै गरि साथ पाईरहने छु र उस्ले पनि मेरो............।










Sunday, October 18, 2015

नम्बर ३०८ संग सम्बन्ध सुरक्षाको


                                                      

रुपनी जि.एम        
०७२÷०६÷३०
नेपालगञ्ज बाँके

शनिबारको दिन थियो समय बिहानको सवा आठ बजेको हुँदो हो । म त्यतिबेला नेपालगञ्जको वि.पी चोक स्थित मयङक पेट्रोल पम्पमा थिएँ । बेलुका समाचारका लागि जनआवाज संकलन गर्न म त्याहाँ गएकी थिएँ । त्याहाँबाट उत्तरतिर फर्किएर हेर्दा झण्डै तीन साढे तीन सय मिटरको लाईनमा पेट्रोल भर्नेहरुको लस्कर देखियो । त्यो लस्करमा मैले मोटरसाईकल, स्कुटी र कारको संख्या ठ्यक्कै यति भन्ने हिसाब निकाल्न सकिन । पालो आएकाहरुले भरेर जाँदै गर्दा भएको खाली ठाउँमा कछुवाको चालमा बिस्तारै सबैले आ–आफ्नो सवारी साधनलाई घिर्सादै अघि बढाउने धाउन्नमा थिए । त्यो दृश्य देखि रहंदा मैले भने कोबाट जनआवाज लिन शुरु गरुँ भन्ने सोचाईमा एक प्रकारको योजना बनाई रहेकी थिएँ । त्यत्तिकैमा एक्कासी एउटा भिडबाट चर्काे स्वरमा आवाज सुनियो–“तपाइँहरु कुन मुखले आफ्नो अधिकार र सुरक्षाको कुरा गर्नु हुन्छ ? तपाइँ जस्तै महिला हिजो मात्रै देशको सभामुख हुनु भएको छ । यो कुरा थाहा छ छैन ? अब त यो देशको राष्ट्रपति र उपराष्ट्रपति पनि महिला नै हुने होला । देश हाँक्ने महिलाहरु एका तिर छन् भने याहाँ तपाइँहरु जाबो लाईन लागेर तेल भर्न सक्नु हुन्न ?” ती ब्यक्ति को थिए म जाँन्दिनथें र मलाई तिनको परिचय पनि त्यति आवश्यक परेन । तर तिनले प्रयोग गरेका शब्द भने निकै पेंचिला थिए ।

त्याहाँ उनी मात्र थिएनन् यस्ता पेंचिला शब्दहरु प्रयोग गर्दै आबेशमा आफुहरुलाई प्रस्तुत गर्नेहरु । उनी जस्तै थुपै्र त्यस्ता ब्यक्तिहरु थिए जस्ले पालो कुरेर बसेका सबैलाई एकिकृत गर्दै एउटा झगडालुको जमात नै बनाईसकेका थिए । कसैले सरकारको लापरबाही पनाप्रति आक्रोश पोखि रहेका थिए भने कसैले प्रशासनको नियम प्रति आपत्ति जनाई रहेका थिए । कोही त्यही मौकामा औंला ठड्याउदै भाषण  दिई रहेका थिए भने कोही केवल मुख दर्शक पनि बनि मात्र रहेका थिए । मुख दर्शक बनि रहेकाहरु जस्तै मैले पनि आफुलाई अछुतो राख्न सकिन र त्यो वातावरणलाई पच्छ्याउदै म त्याहाँ पुगें । जब म त्यस ठाउँमा पुगें र त्यो दृश्यलाई नजिकैबाट हेर्ने मौका पाएँ त्यसपछि मलाई ती पेंचिला शब्दहरु कता कता आफ्नै छातिमा प्राहर गरे झैं भयो । ती शब्दहरु नजानिदो ढङ्गबाटै किन नहोस् मलाई नै चिच्चाई चिच्चाई सुनाउन खोजे झैं लाग्यो । जब मैले त्यो भिडमा २ जना महिलाहरुलाई आफ्नो मोटरसाईकलमा उभिएर त्यसरी प्रश्न गर्ने ती पुरुषहरुलाई आफ्नो अधिकार र सुरक्षाको ग्यारेण्टी कस्ले लिने भन्दै कराएको देखें त्यसपछि मैले राम्रै अनुमान लगाएँ कि पितृसत्तात्मक सोचाई पहिला पनि बाँचेको थियो र अहिले पनि जिउँदै रहेछ भन्ने । साँच्चै यस्को आयु देखेर डाहा मात्रै हैन डर लाग्यो मलाई । जन्मने प्रत्येक नयाँ युगले यो आयु पाउने हो भने के हुन्छ हामीसंगै नयाँ जन्मने नानीहरुको अवस्था ? यसरी नै बाल मस्तिष्कमा पितृसत्ता हुर्की रहने हो भने के हुन्छ नयाँ जन्म लिने ती बालिकाहरुको अवस्था ?

बुझ्नु पर्ने कुरा हो यो समाजले र सबै नागरिकले कि, क्षमतावान एकाध महिलाहरुले अधिकार पाए भन्दैमा सबै सामान्य महिलाहरु अधिकार सम्पन्न भए भन्ने होईन । सत्तामा एकाध महिला पुगे भन्दैमा सबै महिलाको बर्चस्व सत्तामा रह्यो भन्ने होईन । ती त केवल प्रतिनीधि पात्र मात्र हुन् । उदाहारणका रुपमा लिने व्यक्ति मात्र बनेका हुन् । ती सत्तामा पुगेका केही महिलाहरुलाई देखाउदै सबै महिलाहरु सक्षम र शक्तिशाली हुन्छन् भन्ने सोचाईलाई सिंगो समाज र विषेश गरि पुरुषहरुले जति सक्यो चाँडो आफुबाट हटाएर महिलाहरुलाई सम्मान र उनीहरुसंग सहकार्य गर्नुमा नै असल नागरिकको परिचयबाट चिनिन्छ । हैन भने शनीबारको बिहान बुर्कुसी मार्दै कराउने ती पुरुषहरुको जस्तै सोचाई र मान्यतालाई प्राथमिकता दिने हो भने र त्यस्ता सोचाई जन्माउने पुरुषहरुको जमातलाई केवल मुखदर्शक बनेर हेर्ने मात्र हो भने सकिंदैन यो समाजमा सुरक्षित भएर बाँच्न ।

हामीले सजिलै अनुमान लगाउन सक्छौं कि, शक्तिको नाप तौल गर्ने हो भने प्रकृतिक रुपले महिला पुरुषको तुलनामा कम्जोर हुन्छन् । तर यस्को मतलब यो होईन कि, उनीहरु आत्मबल देखि नै कम्जोर हुन्छन् । पुरुषसंगसंगै रात भरी लाईनमा लागेर पेट्रोल भर्नु महिलका लागि कुनै अप्ठ्यारोको कुरा होईन नत असजिलो नै हो । अप्ठ्यारा र असजिलो तब मात्र समस्या र चुनौतीका कुरा बन्छन् जब उनीहरु रात भरि लाईनमा बसेर पेट्रोल भर्नका लागि घरबाट त्यो लाईन सम्म पुग्न खोज्छन,् त्यतिबेला बाटोमा तीनै पुरुषको आक्रमणबाट आफुलाई सुरक्षित राख्नु पर्ने हुन्छ । सामान्य रुपले जीवन यापन गर्नका लागि जब लडाई अस्मिताको हुन्छ नी तब आउँछ अधिकार र सुरक्षाका कुरा । तब आउँछ आत्मा सम्मान र स्वाभिमानको कुरा । घर भित्रदेखि बाहिर सम्मको जिम्मेवारीको कुरा ।

यो लेखिकालाई थाहा छैन कि, यो लेख ती महोदयले पढ्ने मौका पाउनेछन् या छैनन् । जस्ले सजिलै सामान्य रुपले त्यो शनीबारको बिहान “हामिलाई अर्काे लाईन लाग्न दिनुुस्, बिहान दुई बजेबाट लाईनमा लाग्दा घरमा दुध खाने बच्चाको बिचल्ली भएको छ ।” भन्दै एक जना महिलाले यसरी अनुरोध मात्र गर्दा ती महिलालाई औंला उठाएर आरोप लगाएका थिए । यो लेखिकालाई  साँच्चै  थाहा छैन कि, ती महोदय को थिए र तिनलाई समर्थन गर्ने त्यो जमातले कस्तो समाजको प्रतिनीधित्व गरि रहेको छ भन्ने । तर त्यो भिडले जुन प्रकारले औंला ठड्याउदै प्रश्न गरेर ती महिलालाई होच्याउने प्रयास गर्दै थिए । त्यहाँ निरै ती महिला खुले आम दिनदाहाडै असुरक्षित भैरहेकि थिईन् । उनले चाहेर पनि सकिनन् उनीहरुलाई जवाफ दिन । उनले सकिन त केवल मौन भएर बस्न र सकिन त केवल ३०९ नम्बरको लाईनमा चुपचाप उभिरहन ।
उनको त्यो प्रयास असफल भएपछि उनी जस्तै लाईनमा लाग्ने आठ जना महिलाहरु पनि मुख खुम्चियाउदै निन्याउँरो अनुहार बनाएर बाध्य भए त्यसरी नै लाईनमा लाग्न । कस्ले बुझ्ने घर देखि बाहिर सम्म महिलाले निभाउने जिम्मेवारीको भुमिकालाई ? अनि सुरक्षा, सहयोग र समर्थन कस्ले गर्ने ? आजका नारी पक्कै पनि पहिलाका जस्ता अबला छैनन्  तर उनीहरुलाई अबला बनाउन आज पनि यो समाजमा त्यो पितृसत्तात्मक सोचाई जिउँदै छ । जस्ले एकाध महिलाहरुलाई छुन सकेन तर प्राय महिलाहरुलाई आपमान गर्न पनि बाँकी राखेको छैन त्यसैले यो लेख जस्ले पढ्नु हुनेछ तपाईहरुले पक्कै पनि यी कुराहरुलाई आगामी दिनहरुमा मनन गर्नु हुनेछ । सबै ठाउँमा नारीको सम्मान र नारीलाई समर्थन गर्नु हुनेछ । यो विश्वास हो एउटा लेखिकाको । किनकी म पनि एउटा नारी हुँ ।

Monday, May 18, 2015

छोरा जन्माउनका लागि विबाह, छोरी जन्मिएपछि घरबाट निकाला

“माईतमा सौतेनी आमाको टोकेसो, बाबुले कहिले नी वास्ता गरेनन्, आफन्ति कसैको पनि माया पाईन, बिहे गरेपछि यी सबै कुराबाट मुक्त हुने सोचाईले बिहे गरें । विहे भएको एक वर्षमा नै छोरी जन्मिन् र छोरी पाइस् भनेर मलाई घरबाटै निकालियो ।” उनी हुन बाँके कम्दी ९ छेग्रह्वाका ३३ वर्षीए शोभा श्रेष्ठ । शोभा शारिरीक रुपमा अशक्त महिला पनि हुन् । उनी २ वर्षको हुँदा उनको पुरै अनुहार आगोले जलेको रहेको छ । त्यतिबेला अनुहारको सुन्दरतासंगै उनले एउटा आखाँको ज्योति पनि गुमाउन पुगीन् । सानैबाट घिर्णा र दुव्र्यवाहरलाई सहदै आएकी शोभाले विबाह पछि पनि त्यही कुरालाई सहनु परिरहेको छ । विबाह गरेर सबै दःुखबाट मुक्त हुने सोचाई राखेकी शोभाले आफुलाई झुक्याएर दोश्रो श्रीमती बनाएकोे तब थाहा पाईन् जब विबाह गरेर घरमा गएपछि सौता र २ स–साना छोरीहरुले उनलाई स्वागत गरे । 
उनी माथि आकाश त तब खस्यो जब श्रीमान र सौताले छोरा जन्माउनका लागी उनलाई विबाह गरेको कुरा सुनाईयो । उनी भन्छिन् –“ माईतमा दुःख पाएको थाहा पाएर सुखसंग पाल्छु भनी विबाह गरेका थिए उनले । मेरो अनुहारसंग नभई बानीसंग प्रेम गर्ने बचनबद्ध थिए उनी । यी सबै कुरा झुटा रहेछन् । घरमा ल्याएको एक हप्ता नबित्दा काम गर्न नसककोे देखेर, बसेर खान तँलाई विबाह गरेको हैन । छोरा पाउनलाई गरेको हो । भन्दै मलाई निकै नमज्जा लाग्ने बचनहरु सुनाईन्थ्यो । यस्तो बचन सुन्दा माईतमा सौतेनी आमाको बचन भन्दा यो परिवारले गरेको व्यवहार नै मेरालागी असहैय पिडा बन्यो र यीनीसंग विबाह गरेकोमा धेरै मन दुख्यो ।” शोभाले सानैमा एउटा आँखाको ज्योती गुमाएकीले अर्काे आँखा राम्रोसंग देख्न सक्दिनन् यस अर्थमा उनी शारिरीक रुपमा पनि असक्त छिन् ।

सामान्य रुपमा काम गर्न उनलाई त्यत्ति सहज हुदैन जति एउटा सामान्य मान्छेलाई हुन्छ । उनले काम गर्न सक्दैनिन् भन्ने जान्दा जान्दै पनि उनलाई अप्ठ्यारा कामहरु गर्न लगाईन्थ्यो रे । अनि काम गर्न नसकेपछि अनेक थरी गाली र पिटाईले यातना दिईन्थ्यो रे । शोभा भन्छिन् । “कहिले खेतमा, त कहिले भान्सामा, अनि कहिले कसैको परिम तिर्न, यस्ता काम गर्न अह्रयाईन्थ्यो । मैले गर्न सक्दिन भन्दा मलाई लोग्नेले त पिटथ्यो नै साथमा परिवारका सबैको गाली पनि सुन्नु पथ्र्योे ।” जे जस्तो भए पनि शोभाले विबाहको पवित्र सम्बन्धलाई जोगाउन सबैखाले यातानाहरु सहदै बसेकि थिईन् । विबाह भएको एक वर्ष पछि उनले सुन्दर छोरी जन्माईन । छोरा जन्माउनकालागी विबाह गरिएकी शोभाले छोरी जन्माएपछि उनीमाथि यातनाको क्रम झनै बढ्न थाल्यो ।

उनले छोरी त जन्माईन तर गर्भे मोतीबिन्दु भएको । एक त छोरी जन्मिएकी त्यसैमाथि पनि अपाङ्ग । त्सपछि त के चाहियो र त्यो परिवारलाई अनि लोग्ने लाई पनि । घरमा मिल्न सक्दैने भन्ने बाहाना पारेर उनलाई बाँकेकै पुरैनामा कोठा खोजेर राखियो । जब उनलाई कोठामा राखियो त्यसपछि उनका दुःखका दिनहरु बढ्न शुरु गरे । आफु त आफु साथमा भएको काखे छोरीलाई के खुवाएर पाल्ने भन्ने चिन्ताले साँझ बिहान सताउन थाल्यो उनलाई । खानाको भन्दा पनि ठूलो चिन्ता छोरीको उपचारको भयो उनलाई । भागी विबाह गरेको त्यसमा पनि पहिले देखि नै माईतीसंग राम्रो सम्बन्ध नभएकाले माईतीको सहयोग पनि लिन नसकेको बताउँछिन् शोभा । “मेरो दुःख माईतीलाई भन्ने कुनै आधार नै छैन । जुन भन्ने लोग्नेले नै साथ नदिएर अलपत्र पारेको छ भने अरु त कस्लाई भनुँ र ?” आफुले पाएको सन्तान आफ्नो प्राण भन्दा नी प्यारो हुन्छ । शोभालाई पनि त्यस्तै भएको छ । चाहाना धेरै छ ठूलो र राम्रो अस्पतालमा छोरीको उपचार गराउने । मन भएर के हुन्छ र उनीसंग धन छैन । त्यसैले उनले सबैसंग छोरीको उपचारका  लागि सहयोगको अपिल गरेकी छन् ।

शोभालाई मात्र हैन हाम्रो समाजमा यस्ता महिलालाई बच्चा जन्माउने मेसिनको रुपमा लिने नन्दवीर चलाउने जस्ता पुरुषहरु थुप्रै छन् । जस्लाई चेतनासंगै छोरीको महत्वको बारेमा ज्ञान दिन निकै नै आवश्यक छ । छोरा नै जन्मनु पर्छ भन्ने सोचाईको दोष केवल एउटा पुरुषको दोष होईन यो त सिंगो पितृसत्ताको दोष हो  । जुन पितृसत्तालाई जति सक्दो चाँडो हामिसबैले आ–आफ्नो सोचाई, गराई र समाजबाट नै जरैसंग उखेलेर फाल्न जरुरी छ ।