Sunday, October 18, 2015

नम्बर ३०८ संग सम्बन्ध सुरक्षाको


                                                      

रुपनी जि.एम        
०७२÷०६÷३०
नेपालगञ्ज बाँके

शनिबारको दिन थियो समय बिहानको सवा आठ बजेको हुँदो हो । म त्यतिबेला नेपालगञ्जको वि.पी चोक स्थित मयङक पेट्रोल पम्पमा थिएँ । बेलुका समाचारका लागि जनआवाज संकलन गर्न म त्याहाँ गएकी थिएँ । त्याहाँबाट उत्तरतिर फर्किएर हेर्दा झण्डै तीन साढे तीन सय मिटरको लाईनमा पेट्रोल भर्नेहरुको लस्कर देखियो । त्यो लस्करमा मैले मोटरसाईकल, स्कुटी र कारको संख्या ठ्यक्कै यति भन्ने हिसाब निकाल्न सकिन । पालो आएकाहरुले भरेर जाँदै गर्दा भएको खाली ठाउँमा कछुवाको चालमा बिस्तारै सबैले आ–आफ्नो सवारी साधनलाई घिर्सादै अघि बढाउने धाउन्नमा थिए । त्यो दृश्य देखि रहंदा मैले भने कोबाट जनआवाज लिन शुरु गरुँ भन्ने सोचाईमा एक प्रकारको योजना बनाई रहेकी थिएँ । त्यत्तिकैमा एक्कासी एउटा भिडबाट चर्काे स्वरमा आवाज सुनियो–“तपाइँहरु कुन मुखले आफ्नो अधिकार र सुरक्षाको कुरा गर्नु हुन्छ ? तपाइँ जस्तै महिला हिजो मात्रै देशको सभामुख हुनु भएको छ । यो कुरा थाहा छ छैन ? अब त यो देशको राष्ट्रपति र उपराष्ट्रपति पनि महिला नै हुने होला । देश हाँक्ने महिलाहरु एका तिर छन् भने याहाँ तपाइँहरु जाबो लाईन लागेर तेल भर्न सक्नु हुन्न ?” ती ब्यक्ति को थिए म जाँन्दिनथें र मलाई तिनको परिचय पनि त्यति आवश्यक परेन । तर तिनले प्रयोग गरेका शब्द भने निकै पेंचिला थिए ।

त्याहाँ उनी मात्र थिएनन् यस्ता पेंचिला शब्दहरु प्रयोग गर्दै आबेशमा आफुहरुलाई प्रस्तुत गर्नेहरु । उनी जस्तै थुपै्र त्यस्ता ब्यक्तिहरु थिए जस्ले पालो कुरेर बसेका सबैलाई एकिकृत गर्दै एउटा झगडालुको जमात नै बनाईसकेका थिए । कसैले सरकारको लापरबाही पनाप्रति आक्रोश पोखि रहेका थिए भने कसैले प्रशासनको नियम प्रति आपत्ति जनाई रहेका थिए । कोही त्यही मौकामा औंला ठड्याउदै भाषण  दिई रहेका थिए भने कोही केवल मुख दर्शक पनि बनि मात्र रहेका थिए । मुख दर्शक बनि रहेकाहरु जस्तै मैले पनि आफुलाई अछुतो राख्न सकिन र त्यो वातावरणलाई पच्छ्याउदै म त्याहाँ पुगें । जब म त्यस ठाउँमा पुगें र त्यो दृश्यलाई नजिकैबाट हेर्ने मौका पाएँ त्यसपछि मलाई ती पेंचिला शब्दहरु कता कता आफ्नै छातिमा प्राहर गरे झैं भयो । ती शब्दहरु नजानिदो ढङ्गबाटै किन नहोस् मलाई नै चिच्चाई चिच्चाई सुनाउन खोजे झैं लाग्यो । जब मैले त्यो भिडमा २ जना महिलाहरुलाई आफ्नो मोटरसाईकलमा उभिएर त्यसरी प्रश्न गर्ने ती पुरुषहरुलाई आफ्नो अधिकार र सुरक्षाको ग्यारेण्टी कस्ले लिने भन्दै कराएको देखें त्यसपछि मैले राम्रै अनुमान लगाएँ कि पितृसत्तात्मक सोचाई पहिला पनि बाँचेको थियो र अहिले पनि जिउँदै रहेछ भन्ने । साँच्चै यस्को आयु देखेर डाहा मात्रै हैन डर लाग्यो मलाई । जन्मने प्रत्येक नयाँ युगले यो आयु पाउने हो भने के हुन्छ हामीसंगै नयाँ जन्मने नानीहरुको अवस्था ? यसरी नै बाल मस्तिष्कमा पितृसत्ता हुर्की रहने हो भने के हुन्छ नयाँ जन्म लिने ती बालिकाहरुको अवस्था ?

बुझ्नु पर्ने कुरा हो यो समाजले र सबै नागरिकले कि, क्षमतावान एकाध महिलाहरुले अधिकार पाए भन्दैमा सबै सामान्य महिलाहरु अधिकार सम्पन्न भए भन्ने होईन । सत्तामा एकाध महिला पुगे भन्दैमा सबै महिलाको बर्चस्व सत्तामा रह्यो भन्ने होईन । ती त केवल प्रतिनीधि पात्र मात्र हुन् । उदाहारणका रुपमा लिने व्यक्ति मात्र बनेका हुन् । ती सत्तामा पुगेका केही महिलाहरुलाई देखाउदै सबै महिलाहरु सक्षम र शक्तिशाली हुन्छन् भन्ने सोचाईलाई सिंगो समाज र विषेश गरि पुरुषहरुले जति सक्यो चाँडो आफुबाट हटाएर महिलाहरुलाई सम्मान र उनीहरुसंग सहकार्य गर्नुमा नै असल नागरिकको परिचयबाट चिनिन्छ । हैन भने शनीबारको बिहान बुर्कुसी मार्दै कराउने ती पुरुषहरुको जस्तै सोचाई र मान्यतालाई प्राथमिकता दिने हो भने र त्यस्ता सोचाई जन्माउने पुरुषहरुको जमातलाई केवल मुखदर्शक बनेर हेर्ने मात्र हो भने सकिंदैन यो समाजमा सुरक्षित भएर बाँच्न ।

हामीले सजिलै अनुमान लगाउन सक्छौं कि, शक्तिको नाप तौल गर्ने हो भने प्रकृतिक रुपले महिला पुरुषको तुलनामा कम्जोर हुन्छन् । तर यस्को मतलब यो होईन कि, उनीहरु आत्मबल देखि नै कम्जोर हुन्छन् । पुरुषसंगसंगै रात भरी लाईनमा लागेर पेट्रोल भर्नु महिलका लागि कुनै अप्ठ्यारोको कुरा होईन नत असजिलो नै हो । अप्ठ्यारा र असजिलो तब मात्र समस्या र चुनौतीका कुरा बन्छन् जब उनीहरु रात भरि लाईनमा बसेर पेट्रोल भर्नका लागि घरबाट त्यो लाईन सम्म पुग्न खोज्छन,् त्यतिबेला बाटोमा तीनै पुरुषको आक्रमणबाट आफुलाई सुरक्षित राख्नु पर्ने हुन्छ । सामान्य रुपले जीवन यापन गर्नका लागि जब लडाई अस्मिताको हुन्छ नी तब आउँछ अधिकार र सुरक्षाका कुरा । तब आउँछ आत्मा सम्मान र स्वाभिमानको कुरा । घर भित्रदेखि बाहिर सम्मको जिम्मेवारीको कुरा ।

यो लेखिकालाई थाहा छैन कि, यो लेख ती महोदयले पढ्ने मौका पाउनेछन् या छैनन् । जस्ले सजिलै सामान्य रुपले त्यो शनीबारको बिहान “हामिलाई अर्काे लाईन लाग्न दिनुुस्, बिहान दुई बजेबाट लाईनमा लाग्दा घरमा दुध खाने बच्चाको बिचल्ली भएको छ ।” भन्दै एक जना महिलाले यसरी अनुरोध मात्र गर्दा ती महिलालाई औंला उठाएर आरोप लगाएका थिए । यो लेखिकालाई  साँच्चै  थाहा छैन कि, ती महोदय को थिए र तिनलाई समर्थन गर्ने त्यो जमातले कस्तो समाजको प्रतिनीधित्व गरि रहेको छ भन्ने । तर त्यो भिडले जुन प्रकारले औंला ठड्याउदै प्रश्न गरेर ती महिलालाई होच्याउने प्रयास गर्दै थिए । त्यहाँ निरै ती महिला खुले आम दिनदाहाडै असुरक्षित भैरहेकि थिईन् । उनले चाहेर पनि सकिनन् उनीहरुलाई जवाफ दिन । उनले सकिन त केवल मौन भएर बस्न र सकिन त केवल ३०९ नम्बरको लाईनमा चुपचाप उभिरहन ।
उनको त्यो प्रयास असफल भएपछि उनी जस्तै लाईनमा लाग्ने आठ जना महिलाहरु पनि मुख खुम्चियाउदै निन्याउँरो अनुहार बनाएर बाध्य भए त्यसरी नै लाईनमा लाग्न । कस्ले बुझ्ने घर देखि बाहिर सम्म महिलाले निभाउने जिम्मेवारीको भुमिकालाई ? अनि सुरक्षा, सहयोग र समर्थन कस्ले गर्ने ? आजका नारी पक्कै पनि पहिलाका जस्ता अबला छैनन्  तर उनीहरुलाई अबला बनाउन आज पनि यो समाजमा त्यो पितृसत्तात्मक सोचाई जिउँदै छ । जस्ले एकाध महिलाहरुलाई छुन सकेन तर प्राय महिलाहरुलाई आपमान गर्न पनि बाँकी राखेको छैन त्यसैले यो लेख जस्ले पढ्नु हुनेछ तपाईहरुले पक्कै पनि यी कुराहरुलाई आगामी दिनहरुमा मनन गर्नु हुनेछ । सबै ठाउँमा नारीको सम्मान र नारीलाई समर्थन गर्नु हुनेछ । यो विश्वास हो एउटा लेखिकाको । किनकी म पनि एउटा नारी हुँ ।

Monday, May 18, 2015

छोरा जन्माउनका लागि विबाह, छोरी जन्मिएपछि घरबाट निकाला

“माईतमा सौतेनी आमाको टोकेसो, बाबुले कहिले नी वास्ता गरेनन्, आफन्ति कसैको पनि माया पाईन, बिहे गरेपछि यी सबै कुराबाट मुक्त हुने सोचाईले बिहे गरें । विहे भएको एक वर्षमा नै छोरी जन्मिन् र छोरी पाइस् भनेर मलाई घरबाटै निकालियो ।” उनी हुन बाँके कम्दी ९ छेग्रह्वाका ३३ वर्षीए शोभा श्रेष्ठ । शोभा शारिरीक रुपमा अशक्त महिला पनि हुन् । उनी २ वर्षको हुँदा उनको पुरै अनुहार आगोले जलेको रहेको छ । त्यतिबेला अनुहारको सुन्दरतासंगै उनले एउटा आखाँको ज्योति पनि गुमाउन पुगीन् । सानैबाट घिर्णा र दुव्र्यवाहरलाई सहदै आएकी शोभाले विबाह पछि पनि त्यही कुरालाई सहनु परिरहेको छ । विबाह गरेर सबै दःुखबाट मुक्त हुने सोचाई राखेकी शोभाले आफुलाई झुक्याएर दोश्रो श्रीमती बनाएकोे तब थाहा पाईन् जब विबाह गरेर घरमा गएपछि सौता र २ स–साना छोरीहरुले उनलाई स्वागत गरे । 
उनी माथि आकाश त तब खस्यो जब श्रीमान र सौताले छोरा जन्माउनका लागी उनलाई विबाह गरेको कुरा सुनाईयो । उनी भन्छिन् –“ माईतमा दुःख पाएको थाहा पाएर सुखसंग पाल्छु भनी विबाह गरेका थिए उनले । मेरो अनुहारसंग नभई बानीसंग प्रेम गर्ने बचनबद्ध थिए उनी । यी सबै कुरा झुटा रहेछन् । घरमा ल्याएको एक हप्ता नबित्दा काम गर्न नसककोे देखेर, बसेर खान तँलाई विबाह गरेको हैन । छोरा पाउनलाई गरेको हो । भन्दै मलाई निकै नमज्जा लाग्ने बचनहरु सुनाईन्थ्यो । यस्तो बचन सुन्दा माईतमा सौतेनी आमाको बचन भन्दा यो परिवारले गरेको व्यवहार नै मेरालागी असहैय पिडा बन्यो र यीनीसंग विबाह गरेकोमा धेरै मन दुख्यो ।” शोभाले सानैमा एउटा आँखाको ज्योती गुमाएकीले अर्काे आँखा राम्रोसंग देख्न सक्दिनन् यस अर्थमा उनी शारिरीक रुपमा पनि असक्त छिन् ।

सामान्य रुपमा काम गर्न उनलाई त्यत्ति सहज हुदैन जति एउटा सामान्य मान्छेलाई हुन्छ । उनले काम गर्न सक्दैनिन् भन्ने जान्दा जान्दै पनि उनलाई अप्ठ्यारा कामहरु गर्न लगाईन्थ्यो रे । अनि काम गर्न नसकेपछि अनेक थरी गाली र पिटाईले यातना दिईन्थ्यो रे । शोभा भन्छिन् । “कहिले खेतमा, त कहिले भान्सामा, अनि कहिले कसैको परिम तिर्न, यस्ता काम गर्न अह्रयाईन्थ्यो । मैले गर्न सक्दिन भन्दा मलाई लोग्नेले त पिटथ्यो नै साथमा परिवारका सबैको गाली पनि सुन्नु पथ्र्योे ।” जे जस्तो भए पनि शोभाले विबाहको पवित्र सम्बन्धलाई जोगाउन सबैखाले यातानाहरु सहदै बसेकि थिईन् । विबाह भएको एक वर्ष पछि उनले सुन्दर छोरी जन्माईन । छोरा जन्माउनकालागी विबाह गरिएकी शोभाले छोरी जन्माएपछि उनीमाथि यातनाको क्रम झनै बढ्न थाल्यो ।

उनले छोरी त जन्माईन तर गर्भे मोतीबिन्दु भएको । एक त छोरी जन्मिएकी त्यसैमाथि पनि अपाङ्ग । त्सपछि त के चाहियो र त्यो परिवारलाई अनि लोग्ने लाई पनि । घरमा मिल्न सक्दैने भन्ने बाहाना पारेर उनलाई बाँकेकै पुरैनामा कोठा खोजेर राखियो । जब उनलाई कोठामा राखियो त्यसपछि उनका दुःखका दिनहरु बढ्न शुरु गरे । आफु त आफु साथमा भएको काखे छोरीलाई के खुवाएर पाल्ने भन्ने चिन्ताले साँझ बिहान सताउन थाल्यो उनलाई । खानाको भन्दा पनि ठूलो चिन्ता छोरीको उपचारको भयो उनलाई । भागी विबाह गरेको त्यसमा पनि पहिले देखि नै माईतीसंग राम्रो सम्बन्ध नभएकाले माईतीको सहयोग पनि लिन नसकेको बताउँछिन् शोभा । “मेरो दुःख माईतीलाई भन्ने कुनै आधार नै छैन । जुन भन्ने लोग्नेले नै साथ नदिएर अलपत्र पारेको छ भने अरु त कस्लाई भनुँ र ?” आफुले पाएको सन्तान आफ्नो प्राण भन्दा नी प्यारो हुन्छ । शोभालाई पनि त्यस्तै भएको छ । चाहाना धेरै छ ठूलो र राम्रो अस्पतालमा छोरीको उपचार गराउने । मन भएर के हुन्छ र उनीसंग धन छैन । त्यसैले उनले सबैसंग छोरीको उपचारका  लागि सहयोगको अपिल गरेकी छन् ।

शोभालाई मात्र हैन हाम्रो समाजमा यस्ता महिलालाई बच्चा जन्माउने मेसिनको रुपमा लिने नन्दवीर चलाउने जस्ता पुरुषहरु थुप्रै छन् । जस्लाई चेतनासंगै छोरीको महत्वको बारेमा ज्ञान दिन निकै नै आवश्यक छ । छोरा नै जन्मनु पर्छ भन्ने सोचाईको दोष केवल एउटा पुरुषको दोष होईन यो त सिंगो पितृसत्ताको दोष हो  । जुन पितृसत्तालाई जति सक्दो चाँडो हामिसबैले आ–आफ्नो सोचाई, गराई र समाजबाट नै जरैसंग उखेलेर फाल्न जरुरी छ ।

Tuesday, May 12, 2015

जात, विभेद अनि म

‘छोरी,के थरी ?’ म घर्ती मगर । ‘ए.....मगर पो ?’किन र मामु ?‘मैले त अरु नै जात सोचेकीथिएँ । मगर भएनि राम्री रहिछ्यौ ।’

साँझको खानाखाने समय भयो । असजिलो हुंदै मामुले भन्नु भयो–‘छोरी अँगेनार भित्रबाहीर गर्दा भ¥याङबाट ओर्लिएर जाने बाटो एकै प¥यो त्यसो हुनाले अप्ठेरो नमानी अल्लीयता बस ल !’ भन्दै मलाई भ¥याङ छेउको चकट्टी देखाउनुभयो । केहिनबोली बसें । बसेको ठाउं पछाडीबाट छिप्पेकाबोकाहरु गन्ध छोडीरहेका थिए । 

हामी पाहुनाहरुलाई भनि निकै मेहनतका साथ मरमसलाहाली पकाईएको मासुको बास्ना भन्दा पनि बोकाको गन्ध बढी । खाने समयमा बोकाहरु बड्किम्ला (बोकाको दिशा) झार्थे बररर । थालमा पर्ला कि भन्ने डर । ठाउँ साटेर बसौं कि झैं लाग्यो । आफु संगै आएकि साथीलाई चुल्होको छेउमा बसालियो । 

सोचें अँगेना छेउ ठाउँ हुँदाहँुदै किन मलाई यी बोकाहरुसंग राखेको होला? मनमनै सम्झें ‘यिनका घरका यिनै राजा, मलाई केको कस्कस्? मत आज्ञाको पालनागर्ने पाहुना न परें ।’ संगैंको साथी र मलाई गरीएको व्यवहारले सोच मग्न भएँ । सुर्खेत देखि भक्तपुर सम्मको यात्राको थकानले छोड्यो बरु तर त्यो विभेदले चिन्ताले छाडेन । मस्तिष्क भरि, किन यस्तो विभेद गरिएको भन्ने सोचें । के म मगर र साथी कंडेल (बाहुनं) भएकोले नै यस्तो भेदभाव गरीएको होला?
  
यो अनुभवझण्डै ६ वर्ष पहिलको हो । साथीले काठमाडौं जाँदा मेरो घरमा बसे हुन्छ भनेको थियो । २०६५ सालभदौ महिनामा रेडियोको तालिम परेर ५ दिनकालागि एक जना साथी र म काठमाण्डौ गएको समयमा उसको घर गयौं । त्यतिबेला उ अमेरीका थियो । चार दिनको बसाईमा संयोगले कृष्णजन्माष्टमी पनि त्यहि मनाउनु प¥यो । पूजागर्न चाँगुनारायण मन्दीर गयौं ।

पूजाको थाली र सामाग्री मैले समात्दा छोईन्छ भनेर मामुले साथी र भाउजुलाई सामाग्री समात्न लगाई मलाई आफुसंगै हिंडाउनु भएको थियो । बुझ्दै जाँदा साथीको मामुले मात्र होईन रहेछ, भक्तपरको पिखेल गा.वि.सका प्रायले जातिय छुवाछुतलाई परम्परा नै मान्दा रहेछन् । परम्पराको विपरित गए घरलाई, घरलाई नभए आफन्तलाई अनि ईष्टमित्रलाई र तिनलाई पनिनभए छिमेकीलाई “छेद” लाग्छ भन्ने मान्यता रहेछ । दुर्भाग्यबस् म पनि त्यही मान्यताले गाडेको जरा मुनि गडिन पुगेछु ।

   २०७० साल श्रावण महिनामा एक जना साथीको घर ईलाम गएकि थिएँ । छिट्टै घुलमलि हुने, व्यवहारिक र बोल्ने स्वाभावको कारण बिरानो ठाउँमा पनि चिनेजाने झैंगरि सबैसंग घनिष्टता कायम गर्न सक्ने बानीभ एकाले त्यति अफ्ठेरो भोग्नु पर्दैन मलाई । त्यहाँपनि सबैको मन जीतें । त्यस घरको रुद्री पूजामा आउने जाने सबैको माया पाएँ । हामि पश्चिमेलीहरुमा पुर्वेलिहरु प्रति अनेक सोंच र भ्रमहरु हुन्छन् । सायद हामीप्रति पुर्वेलिहरुका पनि हुँदाहुन । तर मैले सोंचे भन्दा सहज र सरल पाएँ त्यो परिवार र समाज । खुसी भएँ मनमनै ।

नेपालगञ्जफर्कदै गर्दा साथीले उसको परिवारको म प्रतिको धारणलाई यसरी सुनायो–‘तिम्लाई थाहा छ रुपी? तिम्रो सबैसंग मिजासिलो भएर बोल्ने बानी र सहयोगी व्यबहार देखेर आमाले मलाई माथि कोठामा बोलाई केटी चाही हामीलाई मन प¥यो यत्तिको गुण र खुबि भएकी केटीले परिवारलाई खुशी राख्न सक्छे । बरु के थरी हो ? भनी सोध्नु भाको थियो, मैले मगर भने पछि लु भयो नी त कुरै सकियो नी भनीउहाँहरु त उठेर हिंडिदिनु भो ।’ उसको कुराले ०६५ को भक्तपुरको घटनालाई सम्झें । मलाई ती आमाले बुहारी बनाए हुन्थ्यो भन्ने चाहाना एक रत्तिपनि थिएन । न त म त्यो समाजको बुहारी बन्ने वाली थिएँ । 

मेरो चाहाना भनु या अपेक्षा केवल यत्तिमात्र थियो कि, म पुर्व जस्तो विकसित ठाउँमा जाँदा आफ्नो पहिचानलाई गर्वका साथ मगर भनेर चिनाउदा कुनै पनि किसिमको छुवाछुत व्यहोर्नु पर्दैन या नपरोस् । बुवावरिष्ठ अधिवक्ता, आमा सरकारी शिक्षिका । त्यस्तो परिवारमा त म जस्तो व्यक्तिलाई जातिय विभेदको कारण यत्रो अपमान हुन्छ भने अरुलाई झनकुन रुपमा हुन्छ होला? आखिर कहिले सम्म मान्छेले मान्छेलाई जात, धर्म, रितीरिवाज, संस्कृति, वंश, समुदाय र पेशाकानाममासार्वजनिक र नीजी स्थानहरुमा यस्ता जातीय छुवाछुतको आडमा बिभेद गरि रहने ? कहिले सम्म मान्छे मान्छेको बसाईलाई घर र गोठको जस्तो बनाएर बीचमा जातीय छुवाछुतको पर्खाल लगाई रहने हो ?

  पत्रकारीताको दौरानमा क्षमता विकास, रिपोर्टीङ या व्यक्तिगत घुमघामको शिलशिलामा नेपालको धेरै ठाउं पुग्ने अवसर मिल्यो । जातीय छुवाछुतका कारण विभेदीकरणको शिकार बन्न बाध्य भएर शारिरीक तथा मानसिक रुपमा पीडित भएका घटनाहरु देखें र सुने पनि । तर आफु नै छुवाछुतको शिकार बन्नु प¥यो भने मात्र वास्तविक अनुभुति हँुदो रहेछ । अनि मात्र थाहा हुन्छ, पीडाको गहिराई । नेपाली समाजमा झट्ट हेर्दा दलित र गैरदलितको विचमा मात्र जातिय भेदभाव देखिन्छ । समाजलाई केलाएर हेर्ने हो भने हरेक जातिभित्र भेदभाव छ । बाहुनमा पनि विभिन्न तहहरु छन् । क्षेत्रीमा पनि को असली क्षेत्रि (काजि) हो भन्ने विवादहरु भईरहेका हुन्छन् । जनजातिहरुमा पनि सानो र ठुलो जात छ । 

सबै भन्दा बढी त दलित समुदायभित्रै जातहरुको तह छ । यसले के देखाउंछ भने हाम्रो समाजमा जातिय रुपमा विभिन्न पर्खालहरु छन् । जसलाई संस्कार, दम्भ, घमण्ड र संकोचले जोगाई राखेको छ । परम्पराले जोगाई राखेको जातिय दुरी क्रमश घटीरहेको छ । सरकारी र गैरसरकारी पहलहरु भइरहेका पनि छन् । तर सम्पन्न, ठुला जात र शिक्षित भनाउंदाहरुको सोचमा परिवर्तन नभएसम्म हामि जस्ताले पीडा भोगीरहनु पर्छ । झन पानी नचल्ने भनिएका समुदायका व्यक्तिहरुको के हालत होला?
  
जहाँ निरक्षरहरु छन्, जहाँ गरिवि छ, जहाँ सभ्यताको चेतना छैन, तिनिहरुलाई जातिय विभेदको सवाल फिक्का हुनसक्छ । हाम्रो छुवाछुत विरुद्धको अभियान गाउँ घरका बस्तिहरुमा, अनी हिमाल पहाडका पाखापखेरा र कुनाकन्दराहरुमा छुवाछुत भनेको विभेद होे भनिरहेको छ । र उनीहरुलाई नै सम्झाउदै हिंडिरहेका छौं, जो परम्पराको नाममा जातियविभेद कायम राख्नु पर्छ भन्ने तहको चेतनामा छन् । शहरका ठूलाठूला महलहरुमा बस्ने, सम्पन्नशाली र विलासी जीवन बिताउने, शिक्षित र नीतिनिर्माणको तहमा रहेकाहरुको घैंटोमा घाम लाउने खालको अभियान त सुरु गरिएकै छैन । सरकारले जातिय भेदभावतथा छुवाछुत (कसुर तथा सजाय ऐन २०६८)पनिल्याएको छ ।तर यसको कार्यान्वयनपक्षनिकै फितलो छ । 

  पीडितहरुलाई लाग्छ, सबैभन्दा पीडित म छु । तर आफुले अरु जातिहरुलाई पीडा दिने काममा सहयोग गरिरहेको छु कि छैन भन्ने तर्फ पनि सोच्न जरुरी छ । जसलाई पीडाको अनुभुति छ वास्तवमा ति व्यक्ति र समुदाय जाग्ने बेला हो यो । छुवाछुतलाई अन्त्य गर्ने अभियान सबै ठाउँमा आवश्यक होला तर त्यहाँ अझ जरुरी छ जहाँ निरक्षर हैन साक्षरहरुको बाहुल्यता छ, जाहाँ गरिबका झुपडी हैन सम्पन्न र विलासी जीवन बिताउनेहरुको संख्या धेरै छ, छुवाछुतको विषयमा भाषण सुन्नेहरुको जमात होईन गर्नेहरुको होडबाजी छ । जसले चिन्तन र व्यवहारमा परिवर्तन ल्याओस ।